एक बिदेशीको नेपाली साहित्य मोह

खरीबोट

लेखक निर्मल फुयाँल

यो दोस्रो लक्ष्मीपुजा हो, त्यो घटनापछि । उक्त घटनापछि लक्ष्मीपुजाको दिन त्यो घटना याद आइरहेछ, थाहा छैन अब अरु कतिओटा लक्ष्मीपुजासम्म याद आउने हो । कुनै सनसनीपुर्ण भयानक घटना त हैन, त्यसैले त्यस्तो अपेक्षा नगर्न सुरुमै आग्रह गर्दछु ।

आजैको दिन सम्झिनुपर्ने खास कारण महाकवी लक्ष्मीप्रसाद देवकोटा र उनको जन्मदिन हो । महाकविको जन्मतिथी भन्दा उपयुक्त होला यसलाई अझै ।

जुन घटनाको बारेमा उल्लेख गर्दैछु, यसलाइ आजको दिनसँग जोडेको उनै महाकविको जन्मतिथीले हो । सायद उनको जन्मदिनसँग पनि जोडिन्थ्यो होला तर म भुलक्कडलाइ उनको जन्ममिती १९६६ साल कार्तिक महिना मात्रै याद छ, दिन याद छैन । लक्ष्मीपुजाको दिन जन्मिएकाले लक्ष्मीको प्रसादको रुपमा अर्थ्याउने गरि उनको नाम लक्ष्मीप्रसाद राखिएको भन्ने स्कुले ज्ञानले यो जन्मतिथीसम्म याद हुन सकेको हो ।

म एम.एससी. गर्दै गरेको विद्यार्थी । कलेज अमृत क्याम्पस ( अस्कल) लैनचौर । पहिलो सेमेस्टर, दोस्रो अथवा अन्तिम आन्तरिक परिक्षाको पहिलो दिन थियो त्यो । डेरा गरि सँगै बस्ने अनि सँगै पढ्ने साथि पनि थियो ।

परिक्षाका लागि आवश्यक पर्ने केही स्टेसनरी सामान पेन्सिल, स्केल यस्तै किन्नुपर्ने थियो उसलाई । बाइक पार्किङमा राखेर हामी दुबैजना नजिकैको स्टेसनरी पसलमा गयौँ । उ पसलमा सामान किन्न व्यस्त भयो । म खाली थिएँ र परिक्षा सुरु हुन खासै समय बचेको थिएन। त्यसैले अलिकती हतार भएजस्तो लागेको थियो साथै अलि बढी चैँ हतास । घटना र मेरो बारेमा यति पृष्ठभुमि पर्याप्त होला ।

अलि अनौठो र अपरिचित आवाजले मेरो एकतमासको हतारोलाई भंग गरायो । एकजना कसैले ठूलो स्वरमा अलि फरक लवजमा पसलेसँग केही कुरा सोध्यो । नेपाली बोले जस्तो त लागेन तर भाषा ठम्याउन सकिन । पसलवाला भाइले उनलाइ नेपालीमै जवाफ फर्काए र केही समय पर्खन इसारा गरे । प्रसंग के थियो म अझै प्रष्ट हुन सकिन।

अब भने म आवाजतिर फर्किएँ। म भन्दा ठिक पछाडि साइकलबाट नउत्रिकनै बसेका रहेछन् एकजना गोरे मुलका पुरुष ।

साथिको किनमेल अझै सकिएको थिएन । म ती सज्जनको भेषभुषामा नजर डुलाउन थालेँ । यतिञ्जेल उनी साइकलबाट ओर्लिएर सडक किनारा उभिएका थिए र हेल्मेट खोलेर साइकलको सिटमा राख्न भ्याइसकेका थिए । उनि अलि उमेर ढल्किएको जस्तो देखिन्थे यसको कारण थियो उनको फुलेको दारी । हल्का चाउरी परेको गाला र खोपिल्टो भित्र पसेको कुइरे आँखा, शान्त अनि थोरै गम्भीर थियो उनको अनुहार । घुँडाभन्दा अलि माथिसम्म मात्र आइपुग्ने कट्टु र चप्पलमा थिए उनीले । आरामले पर्खदै थिए, सायद उनलाइ हतार थिएन।

पसलेले हाम्रो किनमेल निम्ट्याएपछी ती गोरेतर्फ प्रश्न गरे, "कुन, कस्तो किताब?" नेपालीमै।

"हजुर" प्रत्युत्तरमा उनी बोले। पहिलोपल्ट उनले बोलेको बुझेँ। भाषा पनि बुझेँ, नेपालीमै बोल्दै रहेछन् । थोरै अचम्मित भएँ।

हामी स्टेसनरी पसललाइ पिठ्युँ पछाडी पारेर फर्किनेवालामा थियौँ । तर मेरो कान उनकै आवाजलाई कुरिरहेको थियो । फलस्वरुप उही टुटेफुटेको लवजमा उनले सोधे, "लक्ष्मीप्रसाद देवकोटाको किताब छ?" यो वाक्यले म भित्र अलिकती कम्पन ल्याएजस्तै महसुस भयो। आश्चर्यभाव, उत्साह, जिज्ञासा लगायत अनेक संवेगहरुसहित, बालुवामा छरिएर रहेका फलामका कणहरु चुम्बकमा टाँस्सिन आए जसरी, मेरो संपुर्ण ध्यान उनैतर्फ एकैपटक आकृष्ट भए । मैले फरक्क फर्किएर उनलाइ हेरेँ ।

उनको सोधाइले पसले भाई अल्मलिए । अनि उनले प्रष्ट्याउँदै महाकवी देवकोटाका केही कृतिहरुका नाम लिए । "पागल" भनेको मैले पनि बुझेँ, बाँकी केहि बुझिन । त्यो वार्तालापमा ती पसले भाईमा महाकविका लागि न कुनै सम्मानभाव देखे, न नेपाली साहित्यमा रुचि बोक्ने ती गोरेप्रती एक आम ग्राहक भन्दा बढी कुनै रुचि।

अनेक प्रश्नहरु मनभित्र गुडुल्किएर आए। मलाइ केहि बोलौँ,  केहि सोधौँ जस्तो भयो तर समयसीमामा बाँधिएको फगत एक परिक्षार्थी न थिएँ मुखैमा आए पनि आवाज बाहिर निस्कन सकेन

परिक्षाको समयलाई छुट दिन पनि म कसरी पो सक्थें र ! पसले र ति गोरेबिचको संवाद जारी नै थियो, म त्यहाँबाट हिँड्न बाध्य भएँ

आकाशे पुल तरेर कलेजभित्र नपुगेसम्म फर्कौं र कम्तिमा एक पटक बोलौं कि जस्तो थुप्रैपटक लाग्यो । त्यही बिच सोचेँ यो कस्तो दुर्भाग्य हो, जहाँ कोहि एउटा विदेशी पाठक नेपाली कृतीको सोधखोज गर्दै छ तर किताब बेच्ने एउटा नेपाली युवा लक्ष्मीप्रसाद देवकोटाको किताबमा अल्मलिरहेको छ ।

म भित्र दुइओटा फरक अनुभुतिको द्वन्द्व चल्न थाल्यो, एक किताब नै किनबेच गरेर पेट पाल्ने नेपाली युवाको नेपाली साहित्य र स्रष्टाप्रतिको शुन्यता र अर्को विदेशी पाठकको हाम्रो भाषा र साहित्यप्रतिको लगाव । यी दुई द्वन्द्वमा मा म नेपाली साहित्यलाई माया गर्ने बिदेशीप्रति खुशी हुनु कि नेपाली साहित्यमा अरुचि राख्ने नेपाली यूवा देखेर दु:खी हुनु !

म पुल तरेर कलेज भित्र पुगिसकेको थिएँ । परिक्षाहलमा पस्नुभन्दा पहिला पुलपारी कलेजको पहिलो तल्लाबाट त्यही पसलतिर फर्केर हेरेँ, नेपाली कृतिका ती विदेशी पाठक अझैपनि त्यहीँ थिए ।

पहिलोपटक आँखै अगाडी कोहि विदेशी यति प्रिय लाग्दैथे । नलागुन् पनि कसरी, उनी मेरो भाषालाइ केही त प्रेम गर्थे जो नेपाली कृति र लक्ष्मीप्रसाद देवकोटाको नाम लिएर नेपाली भाषाको किताब खोज्दै थिए । मलाइ मेरो भाषा र हाम्रो साहित्य दुबैप्रती गर्व महशुस भयो । यति धेरै संवेगहरु मिश्रित त्यो थोरै समय याद रहन र ती विदेशी प्रिय लाग्न अरु कारण चाहियो र !


z