• २०८१ बैशाख ७ शुक्रबार

एक बिदेशीको नेपाली साहित्य मोह

kharibot

लेखक निर्मल फुयाँल

यो दोस्रो लक्ष्मिपुजा हो, त्यो घटनापछी। यी दुबै लक्ष्मिपुजाको दिन यो घटना सम्झिएँ, थाहा छैन अब अरु कतिओटा लक्ष्मिपुजासम्म यो घटना याद गर्नेछु । कुनै सनसनीपुर्ण भयानक घटना त हैन, त्यस्को अपेक्षा नगर्न आग्रह गर्छु ।

आजैको दिन सम्झिनुपर्ने खास कारण भने महाकवी लक्ष्मीप्रसाद देवकोटा र उनको जन्मदिन हो । जन्मतिथी भन्दा उपयुक्त होला अझै । जुन घटनाको बारेमा उल्लेख गर्दैछु, यसलाइ आजको दिनसंग जोडेको उनै महाकविको जन्मतिथीले हो । सायद उनको जन्मदिनसंग पनि जोडिन्थ्यो होला तर म भुलक्कडलाइ उनको जन्ममिती १९६६ साल कार्तिक महिना सम्म याद छ, दिन याद छैन । लक्ष्मीपुजाको दिन जन्मिएकाले लक्ष्मीको प्रसादको रुपमा अर्थ्याउने गरि उनको नाम लक्ष्मीप्रसाद राखिएको भन्ने स्कुले ज्ञानले यो जन्मतिथी सम्म याद हुन सकेको हो ।

म एमएससी गर्दै गरेको विद्यार्थी । कलेज- अमृत क्याम्पस (अस्कल), लैनचौर । पहिलो सेमेस्टर, दोस्रो अथवा अन्तिम आन्तरिक परिक्षाको पहिलो दिन। डेरा गरि संगै बस्ने अनि संगै पढ्ने साथि पनि थियो । परिक्षाको लागि आवश्यक पर्ने केही स्टेसनरी सामान किन्नुपर्ने थियो उसलाइ- पेन्सिल, स्केल यस्तै । बाइक पार्किङमा राखेर, हामी दुबैजना नजिकैको स्टेसनरी पसलमा गयौँ । उ पसलमा सामान किन्न व्यस्त भयो। म खाली थिएँ र परिक्षा सुरु हुन खासै समय बचेको थिएन । त्यसैले अलिकती हतार भएजस्तो बढी चैँ हतास । घटना र मेरो बारेमा यति पृष्ठभुमि पर्याप्त होला ।

अलि अनौठो र अपरिचित आवाजले मेरो एकतमास लाई भंग गरायो । एकजना कसैले ठूलो स्वरमा अलि फरक लवजमा पसलेसंग केही कुरा सोध्यो । नेपाली बोलेको जस्तो त लागेन तर भाषा ठम्याउन सकिन। पसलवाला भाइले उनलाइ नेपाली मै जवाफ फर्काए र केही समय पर्खन इसारा गरे । प्रसंग के थियो म अझै प्रष्ट हुन सकिन ।

अब भने म आवाजतिर फर्किएँ । म भन्दा ठिक पछाडि साइकलबाट नउत्रीकनै बसेका रहेछन् एकजना गोरे मुलका पुरुष ।

साथिको किनमेल अझै सकिएको थिएन । म ती सज्जनको भेषभुषामा नजर डुलाउन थालेँ। यतिञ्जेल उनी साइकलबाट ओर्लिएर सडक किनारा उभिएका थिए र हेल्मेट खोलेर साइकलको सिट्मा राख्न भ्याइसकेका थिए । अलि उमेर ढल्किएको जस्तो देखिए, दारी फुलेको । हल्का चाउरी परेको गाला र खोपिल्टो भित्र पसेको कुइरे आँखा- शान्त अनि थोरै गम्भीर । घुँडाभन्दा अलि माथिसम्म मात्र आइपुग्ने कट्टु र चप्पलमा थिए उनी । आरामले पर्खदै थिए, सायद उनलाइ हतार थिएन ।

पसलेले हाम्रो किनमेल निम्ट्याएपछी ती गोरेतर्फ प्रश्न गरे, "कुन, कस्तो किताब?" नेपाली मै ।

"हजुर" प्रत्युत्तरमा उनी बोले । पहिलोपल्ट उनले बोलेको बुझेँ । भाषा पनि बुझेँ, नेपालीमै बोल्दै रहेछन् । थोरै अचम्मित भएँ ।

हामी स्टेसनरी पसललाइ पिठ्युँ पछाडी पारेर फर्किनेवालामा थियौँ । तर मेरो कान उनकै आवाजलाई कुरे जस्तै सम्पुर्ण ध्यान उतै एकाग्र गर्दै स्टेसनरी पसलबाट हिडिँसकेकै थिएन । अनि उही टुटेफुटेको लवजमा उनले सोधे, "लक्ष्मीप्रसाद देवकोटाको किताब छ ?" यो वाक्यले म भित्र अलिकती कम्पन ल्याएजस्तै महसुस भयो ।

आश्चर्यभाव, उत्साह, जिज्ञासा लगायत अनेक संवेगहरुसहित, बालुवामा छरिएर रहेका फलामका कणहरु चुम्बकमा टाँस्सिन आए जसरी, मेरो संपुर्ण ध्यान उनैतर्फ एकैपटक आकृष्ट भयो। मैले फरक्क फर्किएर उनलाई हेरेँ । उनको सोधाइले पसलेभाइ अल्मलिए । अनि उनले प्रष्ट्याउँदै महाकवी देवकोटाका केही कृतिहरुका नाम लिए । "पागल" भनेको मैले पनि बुझेँ, बाँकी सबै बुझिन । त्यो वार्तालापमा ती पसले भाइमा महाकविको लागि न कुनै सम्मानभाव देखे, न नेपाली साहित्यमा रुचि बोक्ने ती गोरेप्रती एक आम ग्राहक भन्दा बढी कुनै रुचि ।

अनेक प्रश्नहरु मनभित्र गुडुल्किएर आए । मलाइ बोलौँ, सोधौँ जस्तो भयो तर समयसीमामा बाँधिएको फगत एक परिक्षार्थी न थिएँ म, परिक्षाको समय गुज्रीन दिने छुट मलाइ कसरी पो हुनसक्थ्यो र ! पसले र ती गोरे बिच संवाद जारी नै थियो, म त्यहाँबाट हिँड्न समयले बाध्य बनाइसकेको थियो ।

आकाशे पुल तरेर कलेजभित्र नपुगेसम्म फर्कौं र कम्तिमा एक पटक बोलौं कि जस्तो थुप्रैपटक लाग्यो । त्यही बिच सोचेँ यो कस्तो दुर्भाग्य जहाँ कोहि एउटा विदेशी पाठक नेपाली कृतीको सोधखोज गर्दै छ तर किताब बेच्ने एउटा नेपाली युवा लक्ष्मिप्रसाद देवकोटाको किताबमा अल्मलिरहेको छ ।

म भित्र दुइओटा फरक अनुभुतिको द्वन्द्व चल्न थाल्यो, किताब नै किनबेच गरेर पेट पाल्ने एउटा नेपाली युवाको नेपाली साहित्य र स्रष्टाप्रतीको शुन्यतामा खिन्न हुने कि कुनै विदेशि पाठकको हाम्रो भाषा र साहित्यप्रतिको लगावबाट उत्साहित !
म पुल तरेर कलेज भित्र पुगिसकेको थिएँ । परिक्षाहलमा पस्नुभन्दा पहिला पुलपारी कलेजको पहिलो तल्लाबाट त्यही पसलतिर फर्केर हेरेँ, नेपाली कृतिका ती विदेशी पाठक अझैपनि त्यहीँ थिए ।

पहिलोपटक आँखै अगाडी कोहि विदेशी यति प्रीय लाग्दैथे । नलागुन पनि कसरी उनी मेरो भाषालाइ केही त प्रेम गर्थे जो नेपाली कृति र लक्ष्मीप्रसाद देवकोटाको नाम लिएर नेपाली भाषाको किताब खोज्दै थिए ।

मलाइ मेरो भाषा र हाम्रो साहित्य दुबैप्रती गर्व महशुस भयो । छोटो नै सहि तर यति धेरै संवेगहरु मिश्रित त्यो समय याद रहन र ती विदेशी प्रिय लाग्न अरु के नै बढी कारण चाहियो र !

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै