• २०८१ बैशाख ७ शुक्रबार

दिदीबहिनी नहुनेले रानीपोखरीमा भाइटीका लगाए

kharibot

फाइल तस्बीर

काठमाडौँ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन दिदीबहिनी तथा दाजुभाइ नहुनेहरुले काठमाडौँको रानीपोखरीमा पुगेर भाइटीका लगाएका छन् । 

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर आजकै दिन खुलाइने प्रचलन भए पनि २०७२ सालको भूकम्पले मन्दिर क्षतिग्रस्त भएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मन्दिरको पश्चिम ढोकाबाहिर मूर्ति राखेर पूजाआजा गर्ने र भाइटीका लगाउने व्यवस्था मिलाएको थियो ।

दिदीबहिनी तथा दाजुभाइ नहुनेहरुले आजको दिन रानीपोखरी पुगेर भाइटीका लगाउने प्रचलनअनुसार बिहान ७ बजेदेखि शुरु गरिएको भाइटीका बेलुका साढे ७ बजेसम्म लगाउन मिल्ने व्यवस्था गरिएको थियो । 

प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरेका हुन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीकालगाई मनाएका छन् । 

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवम सेलरोटी लगायतका खानेकुरा दिने परम्परा छ । त्यसैगरी दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवम सामाजिक परम्परा रहिआएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै