चन्दा सहयोग जुटाएर सङ्ग्रहालय निर्माण शुरु

खरीबोट

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेको काफलडाँडा स्थित करबाकेलीमा सङ्ग्रहालय निर्माण शुरु भएको छ ।

परम्परागत सामग्रीको संरक्षण र ग्रामीण पर्यटन प्रवद्र्धनका लागि करबाकेली संरक्षण समितिले सङ्ग्रहालय निर्माण शुरु गरेको हो ।

म्याग्दी जिल्लामा बसोबास गर्ने सबै समुदायको पहिचान झल्कने दैनिक जीवन, रीतिरिवाज, संस्कृति र रहनसहनमा आधारित सामग्रीहरु सङ्कलन गरेर सङ्ग्रहालय बनाउन लागिएको निर्माण समितिका अध्यक्ष चामबहादुर पुनले बताए ।

“चन्दा सहयोग जुटाएर सङ्ग्रहालय बनाउन लागिएको हो”, अध्यक्ष पुनले भने, “परम्परागत सीप र सामानको प्रयोगबाट मौलिकता झल्कने किसिमको भवन बनाउने काम करीब आधा सकिएको छ, आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य छ ।” भवन निर्माणमा ४५ लाख र सामग्री खरीद गर्न १५ लाख लागत अनुमान गरिएको छ ।

उनका अनुसार हालसम्म करीब २२ लाख सहयोग जुटाएर भवन निर्माणमा खर्च भइसकेको छ । हाल प्रचलनमा रहेका र प्रयोग हुन छाडेका सबै किसिमका सामान, पोशाक, भाँडाकुँडा र दैनिक जीवनमा प्रयोग हुने सामग्री राखिने भएको छ ।

अन्नपूर्ण गाउँपालिकाले सङ्ग्रहालयलाई यस वर्ष ५ लाख विनियोजन गरेको वडाध्यक्ष खमबहादुर गर्बुजाले बताए ।

पुन समुदायको कुलदेवता करबाकेली बाबाको अवसान भएको करबाकेलीमा २ करोड भन्दा बढी सहयोग जुटाएर करबाकेलीको थान, पुजास्थल, पदमार्ग, सडक, सामुदायिक लज, सभाहल र खेलमैदान लगायतका पूर्वाधार निर्माण भइसकेको छ ।

स्थानीय प्रविधि र परम्परागत सीपको प्रयोग गरी मौलिक शैलीको करबाकेलीको थान बनाइएको छ । थानभित्र बहुमूल्य धातुले जलप लगाएको करबाकेली, उनका श्रीमती हिमला, फिमला, छोरा रामचन र कुलचनको मूर्ति छन् । मन्दिरको प्रवेशद्वारमा सुन गरुडको शालिक बनाइएको छ ।

करबाकेली सम्म पुग्ने करीब १ किलोमिटर पदमार्ग र प्रवेशद्वार पनि निर्माण गरेका छन् । करबाकेली परिसरमा करीब १ हजार जना क्षमताको सभाहल निर्माण भएको छ । घेराबारसहितको बास्केटबल र भलिबल खेल्न सकिने खेलमैदान बनाइएको छ ।

करबाकेली भ्रमणमा आउने पर्यटक तथा भक्तजनको सुविधाका लागि सामुदायिक होटल सञ्चालन गरिएको छ । ९ कोठा रहेको उक्त होटलमा १ दिनमा ५० भन्दा बढी पाहुना बास बस्न सक्ने सञ्चालक रवि गर्बुजाले बताए ।

समुद्री सहतदेखि २ हजार २ सय मिटरको उचाइमा अवस्थित करबाकेलीबाट गुर्जा, धवलागिरि, निलगिरि, माछापुच्छ्रे, अन्नपूर्ण, टुकुचेलगायत दश हिमशृङ्खलाका साथै म्याग्दी र पर्वतका ग्रामीण बस्ती र गुराँसको जङ्गल अवलोकन गर्न सकिन्छ ।

करबाकेलीलाई केन्द्रित गरेर समुदायकै पहलमा ‘करबाकेली इको ट्रेक’ सञ्चालन गरिएको छ । जङ्गल सफारी, पुन समुदायको संस्कृति र प्राकृतिक सुन्दरताको रस्वास्वादन गर्न पाइने पदमार्गका संयोजक यामबहादुर पुनले बताए ।

पोखराबाट घोडेपानी, पुनहिल, फूलबारी, काफलडाँडा, करबाकेली थान भएर बेनीबजारलाई जोड्ने पदमार्ग सञ्चालन गरिएको छ । बाँसखर्क, महभिर, काफलडाँडा, रिमा, फूलबारी, राम्चे, लोप्रे, कुवापानीलाई यो पदमार्गले समेटेको छ ।
 

सम्बन्धित समाचार

चन्दा सहयोग जुटाएर सङ्ग्रहालय निर्माण शुरु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेको काफलडाँडा स्थित करबाकेलीमा सङ्ग्रहालय निर्माण शुरु भएको छ । परम्परागत सामग्रीको संरक्षण र ग्रामीण पर्यटन प्रवद्र्धनका लागि करबाकेली संरक्षण समितिले सङ्ग्रहालय निर्माण शुरु गरेको हो

महाकवि देवकोटा सङ्ग्रहालय : कविकुञ्ज प्राप्तिमै एक वर्ष

काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको डिल्लीबजारस्थित जन्मघर ‘कविकुञ्ज’ लाई सङ्ग्रहालय बनाउन घोषणा भएको एक वर्षमा बल्ल जग्गाप्राप्ति र मुआब्जा सम्बन्धी विवाद टुङ्गिएको छ । सङ्ग्रहालय निर्माणको जिम्मेवारी पाएको नेपाल प्रज्ञा प्रतिष्ठानले

परम्परागत सामग्री जोगाउन सङ्ग्रहालय स्थापना

बागलुङ । आधुनिक प्रविधि आएपछि लोप हुन लागेका परम्परागत सामग्री जोगाउन सङ्ग्रहालय स्थापनाको काम अघि बढेको छ । काठेखोला गाउँपालिका–७ ले ‘रेश पुरातात्विक सङ्ग्रहालय’ बनाउन लागेको हो । सङ्ग्रहालयमा ऐतिहासिक र

कविकुञ्जलाई सङ्ग्रहालय बनाइँदै

काठमाडौँ । सरकारले मैतीदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरलाई सङ्ग्रहालय बनाउने भएको छ । इँटा र माटाको प्रयोगले निर्माण भएको कविकुञ्ज अहिले जीर्ण अवस्थामा पुगेको छ । विसं २०७२ मा आएको भूकम्पले


z