• २०८१ बैशाख ७ शुक्रबार

नयाँ दिल्लीमा बढ्दो प्रदुषणले थप समस्या, यातायातका साधनमा जोर विजोर प्रणाली लागू

kharibot

फाइल तस्विर । 

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा बढ्दो वायु प्रदुषणका कारण यहाँको जनजीवन थप अप्ठेरोमा पर्न थालेका समाचारहरु आएका छन् । 

आइतबारजस्तै आज सोमबार पनि वातावरण प्रदुषणको मात्रा झन् बढेकोले विद्यालय बन्द गरिएका छन् भने सडकमा पर्याप्त मात्रामा सवारी साधनहरु पनि सञ्चालनमा आएका छैनन् । जसका कारण यस वरपरको बस्तीमा समेत समस्या देखिन थालेको छ । निर्माण कार्यहरु ठप्प छन् भने अरु दैनिक आवश्यकताका वस्तुहरुको परिपूर्तिका लागि समेत अप्ठेरो परिरहेको समाचारहरु आएका छन् ।

हरेक चिसो मौसमको शुरुमा जस्तै यस वर्ष पनि नयाँ दिल्लीको आकासको मौसममा खराबी देखिन आएको हो । नयाँ दिल्लीको बायु प्रदुषित भएकोले केही दिनदेखि विद्यालयहरु बन्द गरिएको बताइएको छ । 

नयाँ दिल्लीको आकासमा देखिने तुवाँलोका कारण बालबालिकाको फोक्सोमा असर पार्ने भन्दै विद्यालयहरु बन्द गरिएको हो । त्यसैगरी सर्वसाधारण नागरिकहरु पनि अत्यावश्यकताका आधारमा मात्र सडक बजारमा निस्किएका छन् ।

यस मौसममा नयाँ दिल्लीको आकासमा यहाँका सवारीसाधनहरुको धुवाँ र धुलो, औद्योगिक उत्पादनका कारण उत्पन्न प्रदुषण, कृषिजन्य उद्योगहरुबाट निस्किएको प्रदुषित मात्राका कारण यस्तो समस्या उत्पन्न भएको बताइएको छ ।

यो प्रदुषणको मात्रा गएको तीन वर्षयताकै सबैभन्दा खतरनाक अवस्थामा देखिएको बताइएको छ । नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवालले यस प्रदुषणका कारण परिस्थिति अत्यन्तै खतरनाक भएको भन्दै यसको मापनका आधारहरु निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

आइतबार मुख्यमन्त्री केजरिवालले आफ्नो ट्वीटर अकाउन्टमा भिडियो सन्देश दिँदै भनेका छन् – परिस्थिति एकदमै खतरनाक छ, यहाँका बालबालिका मात्र नभएर सबै सर्वसाधारण नागरिकले पनि निकै अप्ठेरो महसुश गरिरहेका छन्, सबैले सहजै सास फेर्न सकिरहेका छैनन् ।

यहाँको प्रदुषण धेरै बढेपछि हालैमात्र सरकारले जनस्वास्थ्य संकटकाल नै लगाएको घोषणा गरेको थियो । यसका साथै दिल्लीका मुख्यमन्त्री केजरिवालको सरकारले दिल्लीका सबै विद्यालयहरु ५ नोभेम्बर सम्मका लागि बन्द गरिएको घोषणा गरेका थिए ।

दुई हप्तामात्र अघि वायु प्रदुषणको मात्रा बढ्न लागेको भनेर दिल्लीका विद्यालयहरुमा प्रदुषणबाट बच्न मास्क बाँडिएको थियो । तर मास्कले पनि थेग्न नसक्ने भएपछि यहाँका विद्यालयहरु नै बन्द गराइएको हो ।

केही दिनअघि सकिएको दीपावलीपछि दिल्लीको हावाको गुणस्तर अत्यन्त खराब भएको र श्वासप्रश्वास मा नै समस्या हुन थालेको छ । चिसो र श्वासप्रश्वासका विरामीले अस्पतालमा भीड हुन थालेको छ ।

दिल्लीको हावामा प्रदुषित हावाका कणको स्तर विश्व स्वास्थ्य संगठनले बनाएको मानकभन्दा २० गुणा बढीसम्म भेटिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । विश्व स्वास्थ्य संगठनले बनाएको मानक भन्दा नयाँ दिल्लीको आकासमा बढी मात्रामा प्रदुषण हुन लागेको धेरै वर्ष भइसकेको छ ।

यहाँका मौसमविद्हरुले त यहाँ सास फेर्न गाह्रो भएको भन्दै दिल्ली ग्यास च्याम्बर बनेको बताएका छन् । प्रदुषण अत्यन्त बढेका कारण त्यहाँको जनजीवन निकै कष्टकर बन्दै गएको बताइएको छ ।

भारतीय राजधानी नयाँ दिल्ली संसारको सबैभन्दा प्रदूषित सहरमध्येको एक सहर नामले पहिलेदेखि नै चिनिँदै आएको थियो । उदासीन जनमानस साथै अदूरदर्शी सरकारका कारण भारतीय राजधानीका बासिन्दाको आयु वर्षेनी कम हुदै गएको हालै मात्र गरिएका अध्ययनहरुले देखाएका छन् ।

नयाँ दिल्लीमा आगामी वर्षको शुरुआतमै राज्य सभाको निर्वाचन आएको छ । तर त्यस समयका लागि चुनावी एजेण्डा नै नयाँ दिल्लीको प्रदुषणको विषय उठ्न सक्ने बताइएको छ । 

अहिले पनि नयाँ दिल्लीमा औद्योगिकरणको मात्रा निकै बढेको भन्दै यस प्रदुषणका लागि राजनीतिक दलहरु र सरकारले नै एक अर्कालाई दोषणारोपण गरिरहेका छन् । 

हावार्ड विश्वविद्यालयका पर्यावरणीय अर्थशास्त्रीहरुले संयुक्तरुपमा गरेको उक्त अध्ययन अनुसार देशका यस्ता सम्पूर्ण क्षेत्रमा प्रदुषण कम गर्दै वायुको गुणस्तर कायम गर्नसके यहाँका करोडौं बासिन्दाको औसत आयु ३ दशमलव २ वर्षले बढ्ने जनाइएको छ ।

यस विषयलाई गम्भीररूपमा लिन र आवश्यक सुधारका लागि काम गर्न सोमबार केही वातावरण विद्हरुको समूहले प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेका बताइएको छ । 

यहाँ आगलागीका कारण बढी मात्रामा प्रदूषण देखिएको बताइएको छ । तर पनि यसको कारण आगलागी मात्र पनि नभएको अधिकारीहरुको भनाई छ । 
सवारीसाधन र उद्योगबाट निस्कने धुँवा यसको प्रमुख कारण हो । त्यसैगरी फोहोरमैला जलाउँदा निस्कने धुँवाले पनि नयाँ दिल्लीको आकासको हावा बढी मात्रामा जोखिमपूर्ण बनाएको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले जनाएको छ ।

नयाँ दिल्लीको जनसंख्या चार करोड ५० लाख रहेको छ । भारतीय राजधानी सहर नयाँ दिल्लीको प्रदूषण नियन्त्रण गर्न यहाँको सरकारलाई निकै सकस परिरहेको छ । 

नयाँ दिल्ली सरकारले तिहारमा पटाका पड्काउन प्रतिबन्ध गरेको थियो । गत वर्षका प्रतिवेदनहरुमा पटाका पड्काउँदा दिल्लीको आकासको हावा प्रदुषित भएको बताएका थिए । तर पनि यस वर्ष पटाका पड्काउन नदिए पनि कुनै प्रभाव नपरेको बताइएको छ ।

भारत सरकारले राष्ट्रिय राजधानी नयाँ दिल्लीमा सोमबार बिहान ८ बजे बाट यातायातका साधनमा जोर विजोर प्रणाली लागू गरेको छ ।

यातायातका साधनबाट निस्किने धुवाँ र अत्यधिक यातायातको चाप र आवागमनका कारण उडेको धुलोका कारण भारतको राजधानी दिल्लीमा वायु प्रदुषण भएको भन्दै राज्य सरकारको यो निर्णय आएको हो ।  सोमबारबाट जोर नम्बरका सवारी साधन मात्र चलाउन राज्य सरकारले अनुरोध गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै