• २०८१ बैशाख ८ शनिबार

महरा डिल्लीबजार कारागारमा रहने 

kharibot

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले जबर्जस्ती करणी गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ ।

जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलाशले आइतबारदेखि शुरु भएको थुनछेक बहसपछि आज पूर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो । 

अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार निर्वमान सभामुख महरालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको र उनलाई डिल्लीबजार कारागारमा राखिने छ । 

महराका तर्फबाट ३२ जना अधिवक्ताले बहसका लागि नाम लेखाएका छन् । आइतबार बहस नसकिएपछि हेर्दाहेर्दैमा आजका लागि तय गरिएको थियो । 

निर्वतमान सभामुख महराको अदालती बयान शुक्रबार भएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध करणीसम्बन्धी कसुरमा बिहीबार मुद्दा दर्ता गरिएको थियो । 

महराविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को दर्ता दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता गरिएको हो । उक्त उपदफामा कसूर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसुरका लागि तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ ।      

संसद् सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोगमा गत असोज १९ गते जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । अभियोगको थप अनुसन्धानका लागि थुनामा पठाइएको हो । निर्वतमान सभामुख महरा कसुरदार हो वा होइन थप अनुसन्धानपछि मात्र अदातलले फैसला गर्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै