• २०८१ बैशाख ७ शुक्रबार

सफलताको सुत्र

kharibot

सफलता शब्दमा `अ´ उपसर्ग लागेर "असफलता" को ब्युत्पती हुन्छ । यहाँ  `अ´ ले विपरीतता, भिन्नता, अभाब जस्ता अर्थ बोक्छ। यो देवनागरी लिपीको स्वर बर्णको पहिलो अक्षर हो। बिष्णुलाई बुझाउने  ध्वनि हो । त्यसैले यो भन्न सकिन्छ कि असफलता कामको शुरुवात मात्र हो। असफलतामा बिष्णुरुप पनि लुकेको हुन्छ।

मानिस असफल आफ्नै कारणले हुन्छ तर त्यसलाई स्वीकार गर्न गाह्रो मान्छ । अनि बाह्य परिस्थितिलाई दोषारोपण गर्छ । तर बास्तबमा त्यसो होइन् दोषी आफ्नै मनस्थिति हो भनेर बुझ्नुपर्छ । आफै हो भनेर महशुस गर्नुपर्छ र सफलताको लागि कठोर मेहनत गर्नुपर्छ । हुनसक्छ कुनै प्रेरक बक्ता, पुस्तक, भिडियो, अडियो वा कुनै कुराले प्रेरणा दिन सक्छ । तर वास्तविक सफलताको लागि आफै भित्रैदेखी प्रेरित हुनुपर्छ । आफै लाग्नुपर्छ । आफै जाग्नुपर्छ । कहिले अनुकूल परिस्थिति आउँछ भनेर पर्खने होइन आफूले चाहेको सफलता हासिल गर्न डटेर मेहनत गरि सकभर परिस्थितिलाई आफ्नो अनुकूलताको बनाउनु पर्छ। वास्तवमा भनिएकै छ-- परिस्थिति लाख प्रतिकुल होस तर मनस्थिति सधैँ अनुकुल हुनुपर्छ । आफ्नो भाग्यको निर्माण आफैले गर्नुपर्छ ।

सफल हुन चाहानेले आफै जुरमुराएर उठ्नु पर्छ । मधौरुले माड नखादासम्म उपचार लाग्दैन् । तिर्खा लाग्दैमा खोला आउदैन् । खोला भेटिएन भनेर खोज्न छाड्नु हुदैन्।पानी नपिइ त्यतिकै तिर्खा मेटिइदैन् । कसैले तपाईलाई नदिसम्म लगेपनी पौडन तपाईं स्वयंले खुट्टा चाल्नै पर्छ । आफ्नो बाटो आफै खन्दै जानै पर्छ । आफ्नो आफै पथ प्रदर्शक बन्नुपर्छ । असफलताबाट अलिकति पनि हार मान्नु हुदैन् । जीना शोबाल्टर ले भन्नुभएको छ- लड्नु असफलता होइन् अपितु हार मान्नु असफलता हो । किन हार मान्छौ तिमी बिऊ हौ बिऊ । परमहंस योगानन्दले भन्नू भएको छ-"सफलताको बिऊ छर्नको लागि असफलताको मौसम सबैभन्दा उत्त्म हुन्छ ।" जब असफल होइन्छ हो त्यहीबाट सफलता शुरु हुन्छ । भनिन्छ-- जुनसुकै बादलमा पनि चाँदीको घेरा हुन्छ । हरेक दुर्भाग्यबाट सौभाग्य प्राप्त हुन्छ । रिचार्ड व्रान्सनले भन्नुभएको छ - "असफलताबाट नअतालिऔँ, त्यसबाट सिक र फेरि शुरु गर।"  थियोडर रुजबेल्ट भन्नुहुन्छ--"जसले कुनै गल्ती गर्दैन् उसले उन्नति नै गर्दैन् । "तर महत्त्वपूर्ण कुरा के छ भने एकपटक गरेको गल्ती पुनः दोहोर्‍याउनु चाँहि हुदैन् ।

अनुकूल समयमा त हामी धेरै सजिलै थुप्रै कुरा सिकिहाल्छौँ । तर प्रतिकूल अवस्थामा हामी तनावमा रहन सक्छौँ । असफल भएकाले रुन्छौँ । निरास हुन्छौ । दु:ख लाग्छ । हावा बिपरित बगेको महशुस हुनसक्छ।  त्यस्तो बेला पनि हामी धेरै कुराको अनुभव गर्न सक्छौँ । त्यसबाट गतिलो पाठ सिक्न सक्छौँ यस्तै स्पष्ट लक्ष्य र मूल्य छ भने- एकपटक थोमस एल्वा एडिसनका दुई साथीहरूले उनलाई भनेका रहेछ्न्-- "महाशय हामीले अहिलेसम्म सात सय ओटा प्रयोग गरिसक्यौँ,तर पनि हरेक पटक हामी असफल भइरहेका छौँ ।" एडिसनले मन्द मुस्कानका साथ प्रतिउत्तरमा भनेछन् ----" मित्रहरु हामीहरु असफल भएका होइनौँ । हामी यश बिषयमा अन्य कसैले भन्दा सात सय  अधिक जानकारी प्राप्त गरेका हौँ । यस कार्यलाई नगर्ने सात सय ओटा सूत्रहरु हामीले प्राप्त गरौँ । हामी उपलब्धिको सबैभन्दा धेरै नजिक छौँ । यश प्रकारको असफलतालाई मूल्ययुक्त शिक्षा  भन्न सक्यौँ भने धेरै उचित हुनेछ ।"
बास्तवमा कार्यमा स्पष्ट लक्ष्य र निरन्तर समर्पित भइरहने र हार नमान्ने स्वभावले गर्दा नै एडिसन बिश्व बिख्यात बैज्ञानिक बने ।

भनिन्छ, आवश्यकता नै आविष्कारको जननी हो । रात हुनु नै दिनको सबैभन्दा बलियो प्रमाण हो । जाडो हुनु नै गर्मीको प्रमाण हो।जीवन हुनु नै मृत्युको गतिलो प्रमाण हो । दु:ख हुनु नै सुखको बलियो प्रमाण हो । मृत्यु नै जन्मको संकेत हो । गरिव हुनु नै धनी हुने प्रवल सम्भावना हो । अज्ञानता नै ज्ञानको लागि सिढी हो । नराम्रो लेखन नै राम्रो लेखनको शुरुआत हो । दुर्भाग्य नै सुभाग्य हुने जोग हो । असफलता नै सफलताको कडी हो । तर मानिसको जीवनमा भने यो सब आफसे आफ हुदैन् के हुने, के नहुने, भन्ने कुरा आफूले अंगालेको विचार, गरेका अभ्यास र मेहनत, लिएको सहास र धैर्यता, दिइएको निरन्तरता र दृढ आत्मविश्वासमा भर पर्छ ।

ईश्वरले हरेक मानिसलाई कुनै न कुनै खुशीले सुसज्जित गरेकै हुन्छ । तर थियोडर रुजबेल्टले "आफू जहाँ छौ त्यही रहेर पनि आफुसँग जे छ त्यसैबाट भएपनी कुनै न कुनै काम गर जुन तिमी गर्न सक्छौं "भन्नुभएको जस्तो चाहिँ तपाईले गर्नै पर्छ ।

सफलता प्राप्तिको लागि तपाईंसँग सकारात्मक सोच,बिचार, आचार र ब्यवहार हुनैपर्छ । तपाईंले यी चार कुराहरु आफैसँग गर्नुहोस्-- म सबैभन्दा असल छु, यो काम गर्न सक्छु, सफल हुन्छु र आजको दिन मेरो हो । अरु पाचँ कुरा याद राख्नुहोस-तपाईं राम्रो देख्नुहोस्, राम्रो सुन्नुहोस्, राम्रो बोल्नुहोस्, राम्रो सोच्नुहोस् र राम्रो अनुभूति गर्नुहोस सफल हुनुहुनेछ । यति मात्र होइन् परिस्थितिको सुक्ष्म अवलोकन गरेर शान्त र विवेकशिल भएर सामना गर्नुहोस र आफ्नो आन्तरिक अवस्था बलियो बनाउदै सबैखालका संकेतहरु बुझेर सकिने जति उपलब्धि लिइहाल्नुहोस ।

अमेरिकी लेखिका जेनिफर ली भन्नुहुन्छ-- "तपाईं आत्मसंशय बिहिन भएर मात्र केही गर्न सक्नुहुन्छ किनभने तपाईले आफैलाई जोगाइ राख्नु पर्दैन्।तपाईं असफल हुन सक्नुहुन्छ र आलोचना खप्न पनि। तपाई त्यो आलोचनाबाट तर्सनु जरुरी छैन् जसबाट तपाईं सिक्न र हुर्कन बिर्सनु भएको छ।" तपाइसँग  "म कहिल्यै हार्दिन कि जित्छु कि सिक्छु भन्ने मण्डेलाको जस्तो इरादा हुनुपर्छ।" या आइन्सटाइनले भने जस्त "एउटा मान्छे जसले कहिल्यै गल्ती गर्दैन् केही नयाँ गर्न कोशिश गर्छ।" 

या औड्रे हेपबुर्नले भन्नुभएको जस्तै "केही असम्भव( Impossible) छैन् यहाँ प्रयोग भएको शब्द आफै भन्छ यो सम्भब छ( I ´m possible)।" या अब्दुल कलामले भन्नुभएको स्विकार गरौँ-- यदि तिमी असफल भए भनेर नछोड किनकी फेल(FAIL) भनेको सिकाइको पहिलो पहल ( First Attempt in Learning) हो। अन्त्य भनेको अन्त्य होइन । बास्तवमा अन्त्य ( END) भनेको प्रयाश कहिल्यै खेर जादैन(Effort Never Dies) भन्ने हुन्छ । यदि होइन भन्ने उत्तरको रुपमा पायौँ भने सम्झ होइन(NO) भनेको अर्को अवसर (Next Oppertunity) हो । त्यसैले हामी हर हालतमा असल कर्म प्रती सकारात्मक हुनै पर्छ । असफलतालाई सफलतामा बदल्न लागि पर्नै पर्छ ।

भर्खरै भारतको इसरोले  पठाएको चन्द्रयान--2 (बिक्रम ल्याडर) चन्द्र धरातलको दक्षिणी धुर्व( मिति ७ सेप्टेम्बर २०१९ का राति १.३० देखि २.३० को बीचमा तय भएको) छुनै लाग्दा उक्त यानको भारतिय अन्तरीक्ष केन्द्र इसरोको सम्पर्क विच्छेद भएपछी इसरो प्रमुख के शिवन लगाएत बैज्ञानिकहरुको आँखा रसाए रोए प्रधानमन्त्री नरेन्द्र मोदिले ढाँढस दिदै भने -- "बिज्ञानमा असफलता भन्ने हुदैन, केवल प्रयोग र प्रयास मात्र हुन्छ । हामीले यसबाट पाठ सिक्नुपर्छ।"  उनले यसो पनि भने-- "जीवनमा उतार चढाव आइरहन्छ । सम्पर्क विच्छेद हुँदा मैले हेरिरहेको थिएँ। तर यो कुनै सानो उपलब्धि होइन । मुलुकले तपाईँहरूमाथि गर्व गर्छ । तपाईँहरूको मेहनतले धेरै कुरा सिकाएको पनि छ।मेरो तर्फबाट तपाईँहरू सबैलाई बधाइ छ ।

विज्ञानले देशको र मानवजातिको ठूलो सेवा गरेको छ । यो चरणबाट हामीले धेरै कुरा सिकिरहेका छौं । हाम्रो यात्रा अगाडि पनि जारी रहनेछ । म पूर्ण रुपमा तपाईँहरूको साथमा छु । "असफलताको त्यो घडीमा पनि मोदिले कत्रो धैर्यता र साहस देखाए । उनको कुराबाट स्पष्ट हुन्छ कि हामी सफल हुन धैर्य, संयमता र साहस चाँहिन्छ । कहिलेकाही त्यो साहस असफलताको लागि पनि चाहिन्छ । जसले अन्ततः सफल बनाउँछ। यसबाट के भन्न सकिन्छ भने भारत आफ्नो अन्तरीक्ष अभियानमा सफल हुन्छ यसमा शंका छैन् ।

आत्मविश्वास, आत्मसंयम र आत्मनियन्त्रण नै सफल जीवनका शुत्रहरु हुन् । खप्तड बाबा भन्नुहुन्छ-- "सफलता प्राप्त गर्नको लागि दुई कुराको आवश्यकता हुन्छ-- पूर्ण विश्वास र नियमपूर्वक अभ्यास।" स्वामी विवेकानन्द भन्नुहुन्छ-- "ससानो काममा पनि मन मस्तिष्क र आत्मा लगाऊ यो नै सफलताको शुत्र हो।"

सफल हुन अब्दुल कलाम यस्तो सुझाव दिनुहुन्छ- "सफलताका कथाहरु नपढ तिनीहरूमा एउटा मात्र सन्देश हुन्छ । असफलताका कथाहरु पढ तिमीले सफल हुने शुत्र फेला पर्छौँ।" जीसस क्राइष्ट्ले भन्नुभएको छ--  " जो धैर्यर्वान छ र मेहनत देखि डराउदैन् सफलता उसको दास हुन्छ।"

गौतम बुद्ध भन्नुहुन्छ --"असफलता भनेको त्यो हो, जब तिमीले त्यो कुरा थाहा भएर पनि त्यसमा काम गर्दैनौ ।" असफलताको मुल कारण नै यहि हो। सफल हुनको लागि असफलतालाई बुझेर काम गर्नु पर्छ ।

बास्तबमा असफलताबाटै सफलताको जन्म भएको हुन्छ । एकपटक असफल भएर हामी त्यसबाट केही अनुभव प्राप्त गर्छौ । त्यही अनुभव हाम्रो लागि सफलताको मापदण्ड बन्छ । ब्रेने ब्राउनले त झन "असफलता हुदैन भने आविष्कार र सिर्जनात्मकता पनि हराउँछ" भन्नु भएको छ । पेलेले हरेक कुरा तिमीले गर्ने अभ्यासमा भर पर्छ" भन्नू भएको छ । हुनपनी आजसम्म असफल नभइ कोहि पनि सफल भएका छैनन । शुरुमा सामन्य देखिएका मानिसहरु नै पछि सफल भएका छ्न । पटक पटक असफल हुदा पनि हार नखाने स्वभावले नै उनिहरुलाई सफल बनाएको हुन्छ ।

यी दृष्टान्तहरु हेरौँ-------

•तीन सय भन्दा बढी प्रयोग गरि क्युरी दम्पतीले निरन्तर प्रयोग गरि रेडियम पतालगाएर प्रसिद्व बैज्ञानिक बने ।
•पाचौं बिजनेसमा असफल हेनरी फोर्डको दृढ आत्मविश्वासले गर्दा अन्ततः सफल व्यापारी बने।
•खलासीको काम गर्दा गर्दै रजनीकान्त सुपर स्टार बने ।
•तीस बर्षको उमेरमा भागेर ईन्डिया गएका काले राइले त्यसपछि  क ख  सिकि वेदको प्रसिद्ध ब्याख्याता भए।
•ड्राइभरको काम गर्दा गर्दै एल्विस प्रिस्ले विख्यात गायक बने ।
•कलेजको पढाइ बिचैमा छोडेर सानो पर्सनल कम्प्युटरबाट बिज्नेस शुरु गरेका  स्टिभ जब्स् कम्प्युटरमा क्रान्ति गर्दै  एप्पलका मालिक बने ।
•वेटरको काम गर्दा गर्दै लियोनेल मेस्सी धनी फुटवल प्लेयर बने ।
•सानैमा चोरी गर्दै हिड्ने विकाशानन्द धार्मिक गुरू बने ।
•करीव एक हजार पटक बिजुलीको चिम बनाउन असफल रहेका थोमस एडिसनको हार नमान्ने स्वभावले अन्ततः बनाउन सफल भै तेर्‍हसय भन्दा बढि आविष्कार गरि आविष्कारका पनि आविष्कारक वैज्ञानिक बने ।
•भिख माग्ने चार्ली च्याप्लिन नामी हास्य कलाकार बने ।
•चिया बेच्ने मोदी भारतका प्रधानमन्त्री बने ।
•दुई सय रूपिया बोकि निस्केका पुष्कर शाहले विश्व घुमे ।
•कलेज छोडेका विल गेट्सको कुशल ब्यबस्थापन र समयको सहि सदुपयोगले विश्वकै धनी व्यक्ति बने ।
•कलेजकै औसत विद्यार्थी मार्क जुकरबर्ग फेसवुकका मालिक बने ।
•सात पटक एसएलसी फेल रविन्द्रनाथ टैगोर विश्वकवी बने ।
•लहै लहैमा गित गाउदा गाउदै अमृत गुरूङ नामी गायक बने ।
•लम्बु भनेर होच्याइएका अमिताभ बच्चन महानायक बने ।
•मुम्बइ हेर्छु भनी ट्याक्सी चढेर आएका शाहरूख खान किङ खान बने ।
•घरेलु नोकर म्याक्सिम गोर्की महान लेखक बने ।
•पेट्रोल पम्पमा काम गर्ने धिरूभाई अम्बानी भारतकै धनाढ्य बने ।
•खुट्टाले लेखेरै भएपनी दर्‍हो इच्छाशक्तिका कारण झमक घिमिरेले मदन पुरस्कार जितिन ।
•दृष्टिबिहिन हुदाँहुदै होमरले इलियड र ओडेसी जस्ता महाकाव्य लेखे ।
•कान नसुन्ने र आँखा नदेख्ने हेलेन केलर स्व संघर्षले महान प्रतिमुर्ति बनिन।
•सामान्य परिवारमा जन्मेकी मदर टेरेसा दया र सेवाकी प्रतिमुर्ति मानिन्छिन्।
•बोल्न हिड्न र खान समेत नसक्ने स्टिफन हकिङले जीवन र मृत्युु सँग संघर्ष गर्दै व्ल्याक होलको रहस्य खोले ।
•मेडिकल साइन्सको पढाई हापेका अल्छी र चरम स्वप्नदर्शी डार्विनले क्रम बिकासको सिद्धान्त दिए।
•जीवनभर सहकर्मीबाट असम्भव योजना सुनाएको भनेर दुश्कारिएका रोबर्ट गोडार्डको डिजाइनका रकेटहरु नै अहिले अन्तरीक्षमा उडान भर्छ्न्।
•सुरुमा खासै क्षमतावान नभएका न्यूटनको धर्यवान बानीले महान बैज्ञानिक बने।
•कलेजमा मनोबिज्ञानमा सी ग्रेड ल्याएका रोबर्ट स्टर्नवर्गले बौद्धिकता बारे नयाँ सिद्धान्त दिए।
•मार्शलले अर्थशास्त्रमा कमजोर मानेका किन्सले रोजगारिको प्रसिद्ध किन्सियन थ्यौरी दिए।
•गरिबीले थिचिएका मोजर्ट संसारकै नामी संगीतकार बने ।
•साइकल पसल खोलेका राइट दाजुभाइले निरन्तरको कठोर परिश्रम र प्रगोगले अन्ततः हावाईजहाजको सफल परिक्षण गर्दै आबिष्कार गरे।
•तिन पटक SLC फेल हिरवंश आचार्य संघर्षले नामी कलाकार बने ।
•तेह्र बर्षमै स्कुल छोडेर पुस्तक पसलमा कामगर्ने माइकल फराडे अथक खोजका कारण विद्युतको निर्माण गर्ने महान वैज्ञानिक बने ।
•कलेज छोडेर हिडेका लियो टोल्सटोय टप टेन साहित्यकार बने ।
•स्कूलको मुख नदेखेका जोन डी रकेफेलर विश्वकै धनी बने ।
•झण्डै दुइ सय डलर गोजीमा हालेर अमेरिका छिरेका ब्रुस ली मेहनत र अभ्यासले मार्सल आर्टका गुरू बने ।
•थर्ड डिभिजनमा SLC पास गरेका महात्मा गान्धी त्याग र तपश्याले विश्व नेता बने ।
•तिन डलर बोकेर विजनेसमा छिरेका एड्रयु कारनेगीको इमान्दारी ,परिश्रम र एकाग्रताले अन्ततः  धनाढ्य बन्न सके ।
•सामान्य परिवारमा जन्मेर असामान्य दु:ख झेलेका नेल्सन मण्डेलाको काममा रमाउन सक्ने बानीले नोबेल पुरस्कार जित्नुको साथै दक्षिण अफ्रिकाको पहिलो राष्ट्रपति बने।
•पत्रिका बेच्ने हकर अब्दुल कलाम त्याग र संघर्षले मिसायल मेन तथा भारतको राष्ट्रपति बने।
•हल्लिदै हिड्ने एडोल्फ हिट्लर जर्मनीको शासक बने ।
•दाउरेको छोरा अब्राहम लिंकन  राष्ट्रपतिको चुनाव हारेर,दुईवटा बिजनेस डुबेर र चिन्ता ग्रस्त बनेर पनि असफलतालाई झेल्दै हौसला र प्रवल इच्छाशक्तिले अमेरिकाको सोर्हौँ राष्ट्रपति  बने ।
•कक्षा छ मा फेल भएका र राजनितिमा पटक पटक असफल भएका विन्स्टन चर्चिल बेलायतका प्रधानमन्त्री बने ।
•सानोमा मन्दबुद्धीको भनिएका अल्बर्ट आइन्स्टाइनको हिम्मत नहार्ने स्वभावले संसारकै जिनियस वैज्ञानिक बने ।

भने ...

प्रयाश गर्ने हो भने,  तपाईं हामी चाँही कसो केही बन्न नसकिएला र ?  जति भन्न सजिलो छ गर्न चाहिँ छैन् तर यी हस्तीहरुले जस्तै जीवन भर लागि पर्ने, संघर्ष गर्ने, मेहनत र लगन गर्ने, धैर्य गर्ने, निरन्तर अभ्यास गर्ने, दृढ आत्मविश्वासका साथ कामप्रति प्रेम गर्ने र गल्तीबाट सिक्दै जाने हो भने सफलता निश्चित हात लाग्छ । शुरुमा असफलता नै हात लागेका यी महान ब्यक्तिहरुले त्यसबाटै सिकेर सफल भए । यसकारण असफलता नै सफलताको सिँढी हो भन्न सकिन्छ ।

(लेखक पाण्डे सुनपकुवा माबि उर्लाबारी ०२ मोरङका शिक्षक हुन्) 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै