• २०८१ बैशाख ७ शुक्रबार

​​​​​​​बुटवलमा मुटु अस्पताल बन्ने

kharibot

खस्यौली । बुटवल उपमहानगरपालिका–१३ बेलबासमा लुम्बिनी सामुदायिक मुटु अस्पताल निर्माण हुने भएको छ ।

लायन्स क्लब अफ बुटवल बेलबासले दिपावलीको अवसरमा देउसी भैलो खेलेर सङ्कलन गरेको करीब पाँच करोड र  १० करोड शेयर सदस्यबाट उठाएर सो अस्पताल बनाउन लागिएको हो ।

तिनाउ नदी पश्चिम क्षेत्रमा मुटु अस्पतालको आवश्यकता महशुस भएपछि त्यसको तयारी गरिएको क्लबका अध्यक्ष लक्ष्मण खड्काले जानकारी दिए । अस्पताल बनाउन खेलिएको देउँसी भैलोबाट ५ करोड सङ्कलन गरिएको उनले जानकारी दिए । 

अस्पताल बुटवल–१३ बेलबासको दश नम्बर टोलमा बन्ने बताइएको छ । बुटवलमा गौतमबुद्ध सामुदायिक मुटु अस्पताल पनि सञ्चालनमा छ । अस्पतालको सहआयोजक लायन्स क्लब अफ् बुटवल बेलबास सिर्जनशील रहेको छ । अस्पतालका लागि बुटवल उप–महानगरपालिका सँग जग्गा उपलब्ध गराउन अनुरोध गर्ने अध्यक्ष खड्काले बताए ।

२५ शैंयाको उक्त अस्पतालमा ‘आइसियु’ र ‘सिसियु’सहितका कक्ष हुनेछ । अस्पताल बनाउन आफूहरूले महाअभियान नै शुरू गरेको जनप्रतिनिधि तथा क्लबका सचिव वेदप्रसाद गैरेले बताए । क्लबका द्वितीय उपाध्यक्ष डिबी खत्रीले अस्पतालको कूल लगानी २० करोड हुने उल्लेख गरे ।

उनले १० करोड आफूहरुले सङ्कलन गर्ने र अस्पतालका उपकरण लायन्स क्लब अफ इन्टरनेशनलबाट ल्याउने सहमति भइसकेको जानकारी दिए ।

लायन्स क्लब अफ इन्टरनेशनलले ६ करोडका उपकरण दिने बताइएको छ । अस्पतालका लागि भन्दै देउसी भैलोमा बुटवल–१३ का डण्डपानी खनालले तीन लाख तीन हजार ३ सय ३३ दान दिएका छन् ।

त्यस्तै अर्का कृष्ण लम्सालले दुई लाख ५५ हजार ५ सय ५५ दिएका छन् । अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने अस्पताल निर्माणका अभियान्ता डण्डपानी खनालले बताए ।

क्लबले एक हजार संस्थापक सदस्य बनाएर १० करोड सङ्कलन गर्ने लक्ष्य लिएको छ ।  

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै