• २०८१ बैशाख ८ शनिबार

मलेशिया रोजगारका लागि मेडिकलको नाममा लिएको रकम फिर्ता गर्न निर्देशन

kharibot

काठमाडौँ । वैदेशिक रोजगार विभागले मलेशिया रोजगारीका नाममा पूर्वस्वीकृतिलगायतका प्रक्रिया पूरा नगरी ‘मेडिकल एक्जामिनेसन’ तथा ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’का नाममा कामदारसँग रकम असुल नगर्न निर्देशन दिएको छ । 

वैदेशिक रोजगारीसँग सम्बन्धित प्रक्रिया पूरा नगरी विभिन्न बहानामा शुल्क लिनु अनुचित भएको ठहर गर्दै विभागले कुनै पनि व्यक्ति तथा संस्थालाई अनुचित कार्य नगर्न÷नगराउन सूचित गराएको छ । 

विभागले ‘मेडिकल एक्जामिनेसन’ तथा ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’का नाममा कामदारसँग लिएको रकम ससम्मान फिर्ता गर्नसमेत निर्देशन दिएको छ । पूर्वस्वीकृति लिई विज्ञापन गरी छनोट प्रक्रिया पूरा नगरेका कामदारलाई स्वास्थ्य परीक्षण तथा ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’लगायत प्रक्रियामा सहभागी गराउनु अनुचित भएको विभागले जनाएको छ । 

विभागले पूर्वस्वीकृति बमोजिम विज्ञापन भई छनोट नहुँदासम्म कुनै ‘मेडिकल एक्जामिनेसन’ तथा ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’का लगायत प्रक्रियामा सहभागी नहुन आग्रह गरेको छ । 

वैदेशिक रोजगारीका लागि कामदार पठाउन भन्दै अहिलेसम्म श्रम कार्यालय ताहाचलबाट करिब एक हजार ८०० कामदारको मात्र पूर्वस्वीकृति लिएको विभागले जनाएको छ । विभागबाट पूर्वस्वीकृति नलिई कामदार भर्नासम्बन्धी कुनै पनि गतिविधि गर्न पाइँदैन । तर पछिल्लो समय पूर्वस्वीकृति नलिई मलेशिया रोजगारीको नाममा झण्डै एक लाखभन्दा बढी कामदारबाट अवैधरूपमा ‘मेडिकल एक्जामिनेसन’ तथा ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’ भन्दै रकम असुल भइरहेको पाइएको विभागले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै