• २०८१ बैशाख १३ बिहीबार

संसदीय समितिद्वारा सहकारी संस्थाको अनुगमन, भुक्तानी लिएर काम अधुरै 

kharibot

सुर्खेत । कर्णाली प्रदेशसभा अन्तर्गतको सामाजिक विकास समितिले प्रदेश सरकारबाट अनुदान लिएका सहकारी सङ्घसंस्थाको स्थलगत अनुगमन गरेको छ ।

समितिका अध्यक्ष राजु नेपाली नेतृत्वको संसदीय टोलीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा गत आर्थिक वर्षमा अनुदान पाएका सुर्खेतका सहकारी संस्था तथा व्यक्तिगत फार्मको अनुगमन गरेको हो ।

समितिले बराहताल गाउँपालिका–८ झुल्केपानी स्थित हातेमालो कृषि तथा सहकारी संस्था, वीरेन्द्रनगर–११ स्थित केपी व्यावसायिक सेवा प्रालि, पञ्चपुरी नगरपालिका–६ भावरस्थित हाम्रो कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेडको स्थलगत अनुगमन गरेको थियो ।

मन्त्रालयले गत आर्थिक वर्ष २०७५/७६ का लागि अर्ग्यानिक मल तथा जैविक विषादी उत्पादन प्रयोजनका लागि हातेमालो कृषि तथा सहकारी संस्थालाई ४० लाख अनुदान उपलब्ध गराएको थियो ।

उक्त सहकारीले अर्ग्यानिक उत्पादन सम्बन्धी कुनै पनि संरचना निर्माण नगरेर बजेट दुरुपयोग गरेको पाइएको छ । यसबाट आफूहरुले कुनै लाभ नपाउने भन्दै अन्य सदस्यले संसदीय टोलीसमक्ष गुनासो पोखेका थिए ।

पञ्चपुरी नगरपालिका–६ भावरस्थित हाइटेक नर्सरी बनाउन ६६ लाख ९० हजार हाम्रो कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेडले अनुदान लिएको थियो । अनुगमनका क्रममा संसदीय समितिले ३ वटा टनेलमात्र निर्माण गरेको फेला पारेको थियो ।

मन्त्रालयले सहकारी संस्था मात्र होइन, व्यक्ति फार्मलाई समेत अनुदान उपलब्ध गराएको पाइएको छ । वीरेन्द्रनगर–११ स्थित केपी व्यावसायिक सेवा प्रालिले २० लाख भुक्तानी पाइसकेको छ । प्रालिका सञ्चालक कृष्ण ढकालले साउनदेखि गाईपालन शुरु गरेर जैविक मल, जैविक विषादीका साथै बायोग्यास बाट पशुका दाना उत्पादन गरिरहेको बताए ।

समितिका अध्यक्ष नेपालीले गत वर्ष अनुदान लिएका अन्य सहकारीको अनुगमन गरेपछि बैठक बसेर प्रतिवेदन तयार गरिने बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै