काठमाडौँ । वेस्टइन्डिजले अफगानिस्तानविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ ।
भारतको लखनउमा शुरु भएको सिरिजको पहिलो खेलमा वेस्टइन्डिजले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको छ ।
अफगानिस्तानले दिएको १९५ रनको लक्ष्य पछाएको वेस्टइन्डिजले ४६.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
वेस्टइन्डिजको जितमा रोस्टन चेजले सर्वाधिक ९४ रन बनाए भने साइ होपले ७७ रन बनाएका थिए । त्यस्तै एवीन लुइसले ७, शिमरोन हेटमेयरले ३ र निकोलस पुरनले अविजित ८ रन बनाएका थिए ।
अफगानिस्तानका बलर मुजीब उर रहमानले २ विकेट लिए भने नवीन उल हकले एक विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ४५.२ ओभरमा अल आउट हुदै १९४ रन बनाएको थियो ।
अफगानिस्तानका लागि रहमत शाहले सर्वाधिक ६१ रन बनाए भने इकराम अलिखीले ५८ रन बनाए । त्यस्तै अशगर अफगानले ३५ रन बनाए भने गुलबदीन नैबले १७ रन बनाए ।
वेस्टइन्डिजका बलर जासन होल्डर, रोस्टन चेज र रोमारियो शेफार्डले २-२ विकेट लिएका थिए । त्यस्तै हेडन वाल्श र शेल्डन कोट्रेलले एक एक विकेट लिएका थिए ।
यो जितपछि तीन खेलको सिरिजमा वेस्टइन्डिज १-० ले अगाडी भएको छ । सिरिजको अर्को खेल आगामी शनिबार भारतको लखनउमा हुदै छ ।