• २०८१ बैशाख ८ शनिबार

कास्की-२ मा १६ जनाको मनोनयन, मुख्य प्रतिस्पर्धा नेकपा र काँग्रेसकै

kharibot

काठमाडौं । आगामी मङ्सिर १४ गते प्रतिनिधिसभाका लागि उपनिर्वाचन हुन लागेको एक मात्र क्षेत्र कास्की– २ मा  मनोनयन दर्ता सम्पन्न भएको छ । 

सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका साथै सरकारमै रहेको समाजवादी पार्टी तथा साना दलहरू साझा, विवेकशील, राप्रपा लगायतका दलले मनोनयन दर्ता गराएका छन् ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

नेकपाका तर्फबाट रवीन्द्रपत्नी विद्या भट्टराईले उम्मेदवारी मनोनयन दर्ता गराएकी छन् । उनको उम्मेदवारीलाई कृष्णबहादुर थापाले प्रस्ताव र प्रभा कोइरालाले समर्थन गरेका छन् ।

त्यस्तै काँग्रेसबाट खेमराज पौडेलले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कास्की २ मा दुई स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी परेको छ ।

दलगत रूपमा नेकपा र कांग्रेसका अलावा समाजवादी पार्टी, राप्रपा, साझा पार्टी, विवेकशील नेपाली पार्टी, देशभक्त समाज लगायतले पनि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

अघिल्लो चुनावको नतिजालाई आधार मान्ने हो भने कास्की - २ मा नेकपा र काँग्रेस नै मुख्य प्रतिस्पर्धी हुन् ।

सामाजिक संजाल र मिडियामा साझा पार्टी र विवेकशीलका उम्मेदवारको चर्चा रहेपनि मतदाताले उनीहरुलाई कसरी लिन्छन त्यो हेर्न बाँकी नै छ । 

साझाले काँग्रेस परित्याग गरी साझा प्रवेश गर्नुभएकी रजनी केसीलाई उम्मेदवार बनाएको छ । सामाजिक अभियन्तासमेत रहेकी रजनी केसी सुरक्षित मातृत्व सञ्जाल महासङ्घ, नेपाल परिवार नियोजन सङ्घ लगयतको नेतृत्व सम्हाल्नुका साथै पोखरा विश्वविद्यालयको उपप्रशासक पदबाट राजनीमा दिएर राजनीतिमा सक्रियता बढाउँदै उम्मेदवार बनकी हुन् । केही समयअघि मात्रै साझा पार्टी प्रवेशसँगै केन्द्रीय सदस्य बनेकी केसीलाई यही कात्तिक ६ गते पार्टीको नेतृत्वले प्रतिनिधिसभा सदस्यका रुपमा केसीलाई उम्मेदवारका रुपमा प्रस्तुत गरेको हो ।

विवेकशील नेपाली दल पार्टीले अधिकारकर्मी जमुना शर्मालाई आफ्नो पार्टी उम्मेदवारका रुपमा प्रस्तुत गरेको छ । शर्मा लामो समयदेखि मनोसामाजिक परामर्शदाता रुपमा कार्यरत हुनाका साथै विभिन्न सामाजिक सङ्घसंस्थामा समेत आबद्ध रहेकी छन् ।

वाम गठबन्धनका तर्फबाट तत्कालीन एमाले उम्मेदवार रवीन्द्र अधिकारीले २७ हजार २ सय ७ मत प्राप्त गर्दा काँग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै