• २०८१ बैशाख ८ शनिबार

टुँडिखेल जोगाउन 'अकुपाई टुँडिखेल' : शनिवार मानव साङलो बनाएर विरोध प्रदर्शन

kharibot

काठमाडौँ । राजधानीको फोक्सोको रुपमा चिनिने टुँडिखेल अतिक्रमण विरुद्धमा  सामाजिक अभियन्ताहरुले आउदो शनिवार टुँडिखेल वरपर मानव साङ्ग्लो बनाएर विरोध प्रदर्शन गर्दै छन् । 

बिहिवार खुलामंचमा एक कार्यक्रमको आयोजना गर्दै अकुपाई टुँडिखेल अभियान सफल पार्न आयोजकले सबैलाई अपिल गरेका छन् ।

विजयलाल श्रेष्ठको संयोजकत्वमा हुन लागेको अकुपाई टुँडिखेल अभियान बिहान ८ बजेबाट सुरु हुनेछ । यो अभियानको मुख्य उद्देश्य टुँडिखेलमा भइरहेको अतिक्रमण रोक्ने र यस क्षेत्रलाई खुला पार्कको रूपमा विकसित गर्नुरहेको अभियन्ता बताउँछन् ।

कार्तिक २३ गते शनिवार, विश्व स्वतन्त्रता दिवसको अवसर पारेर खुला मञ्चमा भेला भइ उक्त विरोध प्रदर्शन आयोजना गर्न लागिएको हो ।  भूमिगत जल भण्डारको पुनरभरणको श्रोतसमेत रहेकोले टुँडिखेल जोगाउनु पर्ने अभियन्ताको भनाइ छ । टुँडिखेल महाङ्काल, दुई माजु तथा रैथाने इस्ट देवता लगायत अन्य कयौं मुर्त तथा अमुर्त सांस्कृतिक सम्पदा भएको क्षेत्र हो । यसै ठाउँमा पाहं चर्हे जात्रा, घोडे जात्रा, गुरुमपलाई भात खुवाउने जस्ता थुप्रै जात्रा हुने गर्छ । 

ऐतिहासिक, राजनैतिक परिवर्तनको साक्षीको रुपमा रहेको खुला मञ्च भएको क्षेत्र अस्थायी बसपार्क भन्दै स्थायी बसपार्क बनेको र अनधिकृत पसल संचालनको कारण अतिक्रमणमा परेको छ । 

टुँडिखेलको दक्षिण भागमा धरहरा पुनर्निर्माणका लागि ल्याइएका सामान थुपारिएको छ । वरिपरिका भगनावशेष घरको माटो त्यहीँ ल्याएर थन्काइन्छ । रंगशालासँगैको भागमा पुलिस क्लब, सेनाका लागि पुस्तकालय, भव्य पार्टिप्यालेस छन् । हाल बीचको एक भागमात्र सर्वसाधारणका लागि खुला छ । 

दैविक प्रक्रोपको बेला आश्रय केन्द्रको रुपमा रहेको टुँडिखेल अहिले विभिन्न बहानामा ढलान गर्ने र खुला रुपमा सर्वसाधारणको पहुँच समेत नमिल्ने भएको छ ।   

सर्वसाधारणले खेलकुद तथा व्यायाम गर्ने ठाउँमा अनधिकृत पार्किङ्ग गरिने र भवन बानाउने सामान र कामदार बस्ने ठाउँ निर्माण भएको छ । 

नागरिक अभियान्ताले काठमाडौंमा रहेको एक मात्र विशाल मैदान टुँडिखेललाई बचाउन ‘अकुपाई टुँडिखेल’को अवधारणा ल्याएका छन् । जुन राजनीतिक परिवर्तनसँगै सेना र सरकारद्वारा अतिक्रमणमा पर्दै आएको छ ।

उनीहरुले भनेका छन्, "हामी नागरिकको टुँडीखेलमा सेना वा सरकार वा ठेकेदारका संरचना स्वीकार्य छैन, इच्छा शक्ति हुने हो भने, टुँडिखेललाई न्यूयोर्क सिटीको सेन्ट्रल पार्क जस्तो बनाउन सकिने  र  सहरको बिचमा हरियाली बनाउन सके वायु प्रदुषण घट्ने छ ।"

सन् १९६७ मा टुँडिखेलको ५२ प्रतिशत भाग खुला चौर- सर्वसाधारणको पहुँचमा थियो, १९९० मा उक्त भाग घटेर ३३ प्रतिशत पुगेको छ र २००० सम्म आइपुग्दा २५ प्रतिशत मात्र बाकी रहेको छ । २०१७ को नक्सामा खुला भाग जम्मा १४ प्रतिशत रेहको छ । सैनिक अभ्यासको लागि भेनर तय गरिएको भाग १९६७ मा ३३ प्रतिशत थियो तर अहिले ४० प्रतिशत पुगेको छ । सर्वसाधारणको पहुँचमा केवल चार प्रतिशात भू-भाग मात्र बाकी रहेको छ जुन अहिले पार्किङ्गले ओगटेको छ । 

'आकुपाई टुँडिखेल' अभियानले टुँडिखेलमा रहेका अस्थायी संरचना हटाउन नागरिक स्तरबाट दबाब दिने र  अस्थायी बसपार्क, पार्किङ् र व्यापारिक स्टल तत्काल हटाउन अभियान केन्द्रित रहने, आयोजक श्रेष्ठको भनाइ छ ।

 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै