• २०८१ बैशाख ७ शुक्रबार

भोटेकोशीमा अन्तरराष्ट्रिय स्तरको र्याफ्टिङ प्रतियोगिता हुने

kharibot

फाइल तस्बीर

काठमाडौँ । आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका लागि सिन्धुपाल्चोकको भोटेकोशी नदीमा अन्तर्राष्ट्रिय स्तरको ‘१८ औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज–२०१९’ प्रतियोगिता हुने भएको छ । 

नेपाल एसोसिएशन अफ र्याफ्टिङ एजेन्सिज (नारा)को आयोजनामा आगामी मङ्सिर १० देखि १२ गतेसम्म भोटेकोशी नदीमा ‘हिमालयन ह्वाइटवाटर च्यालेन्ज–२०१९’ अन्तर्गत र्याफ्टिङ र कायक प्रतियोगिता हुन लागेको हो । 

नाराका अध्यक्ष गङ्गाप्रसाद नेपालले हरेक वर्ष झैँ यस वर्ष पनि नाराले कायक र कर्पोरेट र्याफ्टिङ रेस प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए । यातायातको सहजता, भौगोलिक निकटता, खोलाको अवस्था तथा विभिन्न प्राविधिक कारणले यस वर्ष भोटेकोशीमा यस्तो प्रतियोगिता गर्न लागिएको अध्यक्ष नेपालले बताए । 

नाराले गत वर्ष लमजुङको मस्र्याङ्दी नदीमा कायक तथा ¥याफ्टिङ रेसको प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा सालोलम, बोटर क्रस र डाउन रिभर रेस गरी तीन विधामा कायक प्रतियोगिता तथा कर्पोरेट हाउसलाई सहभागिता गराएर एक विधामा समूहगत र्याफ्टिङ रेस प्रतियोगिता हुनेछ । 

कर्पोरेट र्याफ्टिङ रेस प्रतियोगितामा भाग लिने टोलीलाई रु ७५ हजार दर्ता शुल्क लाग्ने नाराले जनाएको छ । र्याफ्टिङ रेस प्रतियोगितामा प्रथम हुने समूहलाई रु एक लाख, दोस्रो हुनेलाई रु ५० हजार तथा तेस्रो हुनेलाई रु २५ हजार नगद प्रशंसापत्र र मेडल प्रदान गरिनेछ । 

यस्तै, कायकतर्फ दर्ताशुल्क विदेशी खेलाडीलाई रु पाँच हजार ५०० र स्वदेशी खेलाडीलाई रु तीन हजार लाग्नेछ । तीनै प्रकारका कायकमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद, मेडल र प्रमाणपत्र वितरण गरिने नाराका महासचिव शिशिर खनालले जानकारी दिए । 

प्रतियोगितामा स्वदेश तथा विदेशका झण्डै ४०० खेलाडीको सहभागिता रहनेछ । सरकारले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन लिएको उद्देश्यअनुरुप विदेशी पर्यटक नेपाल भित्र्याउन नेपालको साहसिक जलयात्रा व्यवसायलाई विश्वबजारमा प्रचारप्रसार र प्रवद्र्धन गर्नुपर्ने महासचिव खनालको भनाइ छ । 

सन् २००२ बाट कायक र र्याफ्टिङ प्रतियोगिता गराउँदै आएको नाराले पछिल्लो समय विदेशी खेलाडीलाई समेत आमन्त्रण गरेर प्रतियोगिता सञ्चालन गर्दै आएको छ । यस वर्ष विदेशी ३० भन्दा बढी खेलाडीको सहभागिता हुने विश्वास नाराले लिएको छ । 
प्रतियोगिता सम्पन्न गर्नका लागि झण्डै ७० लाख खर्च हुने नाराले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै