• २०८१ बैशाख ७ शुक्रबार

रुप ज्योति र उनकी छोरीलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति

kharibot

काठमाडौं । पक्राउ परेका उद्योगी रुप ज्योति र उनकी छोरी सुरुची ज्योतिलाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । 

बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका बाबु रुप र छोरी सुरुचीलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिएका छन् । 

अदालतले थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान सुरु गरेको छ । प्रहरीले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति मागे पनि अदालतले तीन दिनको म्याद दिएको हो । 

ज्योति उद्योगपति तथा पूर्वअर्थराज्यमन्त्री  हुन् । बालुवाटारका वीरेन्द्रमान श्रेष्ठलगायतलाई ज्योतिले बाँसबारीस्थित हाउजिङको फ्ल्याट एक करोड २६ लाख रुपैयाँमा पास गरिदिन्छु भनेर पैसा बुझेका थिए । सोही ठगी काण्डमा संलग्न भएको आरोपमा छोरीलाई पनि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।  

श्रेष्ठको उजुरीका आधारमा ज्योतिलाई पक्राउ गर्न प्रहरीले २०७५ मंसिरमा पक्राउ पूर्जी जारी गरेको थियो । तर, ज्योतिले सर्वोच्च अदालत गई निषेधाज्ञा जारी गराएका थिए । सर्वोच्चले आफ्नै अन्तरिम आदेशको विपक्षमा गत मंगलबार फैसला सुनाएपछि ज्योति पक्राउ परेका हुन् । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै