• २०८१ बैशाख १४ शुक्रबार

बागलुङ-२ का नेकपाका बागीले राजमोका उम्मेदवारलाई नै सहयोग गर्ने 

kharibot

बागलुङ । बागलुङ क्षेत्र नम्बर-२ का प्रदेशसभा सदस्य उपनिर्वाचनमा बागी उम्मेदवारी दिएका नेकपाका नेता शेरमान घर्तीले गठबन्धनको उम्मेदवारलाई नै सहयोग गर्ने भएका छन् ।

घर्तीले राष्ट्रिय जनमोर्चा (राजमो) का उम्मेदवारलाई सहयोग गर्ने घोषणा गरेका छन् । 

नेकपा र राजमोबीच गठबन्धन गर्ने सहमति विपरित उम्मेदवारी दिएर गाउँ पसेका घर्तीको उम्मेदवारी फिर्ता गराउन नेकपाको प्रयास सफल भएको छ । 

उम्मेदवारी फिर्ताको अन्तिम समयमा तिव्र दबावपछि मनोनयन फिर्ता लिन तयार भएका शेरमानलाई ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीको पहलमा हेलिकप्टरमार्फत सदरमुकाम ल्याइए पनि उम्मेदवारी फिर्ता गर्न समय सकिएका कारण प्रयास विफल भएको थियो । यद्यपि नेकपाले अन्तिम विकल्पको रुपमा घर्तीलाई पत्रकार सम्मेलन गरेर विज्ञप्तीमार्फत बागी उम्मेदवारी फिर्ता र राजमो उम्मेदवारलाई सघाउने उद्घोष गराउन सफल भएको जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट भने निर्धारित समयमा कुनै पनि उम्मेदवारले आधिकारीक रुपमा मनोनयन फिर्ता नगरेको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानले जानकारी दिए । 

आफूलाई उपेक्षा गरिएको गुनासो र विभिन्न एजेण्डासहित स्वतन्त्र रुपमा दर्ता गराएको उम्मेदवारी केन्द्र र जिल्ला तहका नेताहरुले पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेपछि फिर्ता लिएको घर्तिले बताए । 

‘स्वभाविक रुपमा मेरा पार्टीप्रति केही गुनासो र पश्चिम क्षेत्रलाई ‘फरक जिल्ला’को रुपमा स्थापित गर्ने लगायतका माग थियो,’ शेरमानले भने, ‘केन्द्रका नेताले मेरा मागलाई सक्दो पुरा गर्ने वचन दिनुभएको छ, त्यसैले उम्मेदवारी फिर्ता गरेको हुँ।’ 

बागी उम्मेदवारी फिर्ता लिएसँगै अब नेकपा राजमो बीचको वाम गठबन्धन र नेपाली कांग्रेसबीच मुख्य प्रतिस्पर्धा हुनेछ । यस क्षेत्रमा २०७४ को प्रदेश सभा निर्वाचनमा पनि साविकको नेकपा एमाले, राजमो र माओवादी केन्द्र वाम गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएका थिए । जसमा राजमोका उम्मेदवार टेकबहादुर घर्ती ११ हजार ८ सय ८४ मत प्राप्त गरेर विजय बनेका थिए । 

घर्तीका प्रत्यासी नेपाली कांग्रेसका जीत शेरचन जो अहिले पनि उम्मेदवार छन् । उनले ८ हजार ६ सय ६४ मत प्राप्त गरेका थिए। उक्त चुनावमा ३ हजार २ सय ६० मतको अन्तर थियो । २०७० सालको निर्वाचनमा भने जिल्लाका तिनै क्षेत्रमा कांग्रेसले जित हात पारेको थियो ।

उपनिर्वाचनमा अब आठ राजनीतिक दलसहित एक स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् ।

कांग्रेसबाट शेरचन, राजमोबाट खिमविक्रम शाही, समाजवादी पार्टीबाट अशोकुमार बिक, राप्रपा संयुक्तबाट निमबहादुर भण्डारी, राप्रपाबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, मंगोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर र स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारी छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै