• २०८१ बैशाख १३ बिहीबार

डा. केसीलाई अनशनस्थलबाट स्थानान्तरण गर्न सुरक्षाकर्मी परिचालन

kharibot

डडेल्धुरा । विगत ८ दिनदेखि डडेल्धुरामा अनशनरत डा. गोविन्द केसीलाई अनशनस्थलबाट स्थानान्तरण गराउन सुरक्षाकर्मी परिचालन गरिएको छ ।

डडेल्धुरा अस्पतालले विज्ञप्ती जारी गर्दै डाक्टरको केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको जानकारी दिएपछि उनलाई अनसनस्थल छोड्न ब्यापक सुरक्षाकर्मी परिचालन गरिएको हो । 

सोमबार बिहानैदेखि अस्पतालमा पुगेर केसीलाई अनशन छोडाउन र काठमाडौं लैजानका लागि सुरक्षाकर्मी दबाब दिईएपनि डा. केसीले डडेल्धुरा नछोड्ने अडान लिएका छन् । 

केसीका समर्थकले पनि उनलाई स्थानान्तरण नगर्न आग्रह गर्दै आएका छन् । अहिले डडेल्धुरा बजार क्षेत्रमा पनि प्रदर्शन भईरहेको छ । बजार क्षेत्रमा डा. केसीको समर्थनमा बजार क्षेत्रमा प्रदर्शन भईरहेको छ भने बजार पनि बन्द गरिएको छ । स्थानीयले टायर बालेर प्रदर्शन गरिरहेका हुन् । 

चिकित्सकका अनुसार केसीको स्वास्थ्यअवस्था नाजुक भएको छ।  डडेलधुरा अस्पतालले केसीको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको भनी सुरक्षित स्थानमा पठाउन आग्रह गरिसकेको छ । स्वास्थ्य अवस्था बिग्रदै गएपछि आइतबार साँझ विज्ञप्ति सार्वजनिक गर्दै अस्पतालले सुविधा सम्पन्न ठाउँमा लान सुझाव दिएको छ । 

अस्पतालमा विज्ञप्तिमा केसीको ब्लड प्रेसर घटेको, मुटुको चाल वृद्धि भएको, रगतमा अक्सिजनको मात्रा घटेको र मिर्गौलामा समस्या देखिएको उल्लेख गरिएको छ । 

‘अनसनरत डा. केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन जटिल बन्दै गएको कारण उहाँको स्वास्थ्य अवस्था चिकित्सकीय हैसियतले अस्पतालको क्षमता भन्दा बाहिर गएको बखत डडेलधुरा अस्पतालबाट कुनै पनि किसिमको जटिलता व्यवस्थापन गर्न नसकिने ब्यहोरा यसै विज्ञप्तिबाट जनकारी गरिन्छ’, अस्पतालको विज्ञप्तिमा भनिएको छ । 

स्वास्थ्य अवस्था खराब बन्दै जाँदा केसीको उपचारका लागि आवश्यक पर्ने आईसीयू सेवा, दक्ष जनशक्ति अस्पतालमा नभएको विज्ञप्तिमा उल्लेख छ ।

डा. केसी कात्तिक १८ गतेदेखि डडेलधुरामा १७ औं अनसन बनेका हुन् । डा. केसीले भने आइतबार नै पत्रकारसँग कुरा गर्दै आफू अन्तिम समयसम्म पनि डडेलधुरामै बस्ने बताएका छन् ।

‘सरकार पक्षका मानिसले अहिलेसम्म आफ्नो आन्दोलनलाई चासो दिएका छैनन्’, डा. केसीले भने, ‘सरकारले जनताका मागलाई लत्याउने प्रयास गरिरहेको छ, अब पनि सुनुवाइ नभए कडा आन्दोलनमा जान्छु ।’  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै