• २०८१ बैशाख ७ शुक्रबार

तनहुँमा बालबालिका आक्रमण गर्ने चितुवा नियन्त्रणमा

kharibot

फाइल तस्बीर

दमौली । तनहुँको भानु नगरपालिका–१ जामुनेगैह्रास्थित जङ्गलमा राखिएको काठको खोरमा आज बिहान एउटा चितुवा परेको छ ।

भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिका आक्रमण गर्ने क्रम नरोकिएपछि चितुवा नियन्त्रणका लागि बनाइएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको हो ।

चितुवा नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषबाट विज्ञसहितको टोली खटिएको एक हप्तामै एउटा चितुवा खोरमा परेर नियन्त्रणमा आएको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए । “खोरमा परेर चितुवा नियन्त्रणमा आएको छ, नियन्त्रणमा आएको चितुवालाई कहाँ लैजाने भन्ने बारेमा छलफल भइरहेको छ”, उनले भने । 

उक्त नगरपालिकाका वडा नं १, २, ३ र ४ मा डेढ वर्षको अवधिमा चितुवाको आक्रमणबाट छ बालबालिकाले ज्यान गुमाएका छन् । गत असोज १६ र यही कात्तिक ११ गते पनि काठको खोरमा परेर चितुवा नियन्त्रणमा आएको थियो ।

काठको खोरमा परेर चितुवा नियन्त्रणमा आए पनि बालबालिकामाथि चितुवाको आक्रमण रोकिएको छैन । भानुका जङ्गलमा थुप्रै सङ्ख्यामा चितुवा रहेका अनुमान गरिएको छ ।

डिभिजन वन प्रमुख बरालका अनुसार चितुवा नियन्त्रणका लागि काठको खोर प्रभावकारी हुने देखिएपछि नौ खोर निर्माण गरी जङ्गलमा राखिएका छन् । चितुवा नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका छ विज्ञ टोली पनि परिचालित भएका छन् । कोषका विज्ञ डा नरेश सुवेदीले भानुका जङ्गलमा भएका चितुवा नियन्त्रणका लागि एशियाका विभिन्न देशमा प्रयोग गरिएका प्रविधि परिचालन गरिनेछ । 

पछिल्लो समय बैतडी, अर्घाखाँची र तनहुँमा चितुवा आक्रमणको बढी समस्या रहेको छ । सुवेदीका अनुसार बूढो र घाइते भएको खण्डमा चितुवा आक्रामक हुन्छ । जङ्गलमा आहाराको अभाव हुँदै गएपछि वैकल्पिक आहाराको खोजीमा चितुवाले मान्छेमाथि आक्रमण गर्ने गरेको अध्ययनबाट पुष्टि भएको सुवेदीको भनाइ छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै