• २०८१ बैशाख १४ शुक्रबार

मह, मौरी अवलोकन गर्न विदेशी नागरिक जाजरकोटमा

kharibot

फाइल तस्विर

जाजरकोट । जिल्लाको मह र मौरी अवलोकन गर्न विदेशी नागरिक नलगाड नगरपालिका–१ कल्पतमा पुगेका छन्। 

विभिन्न प्रजातिका रैथाने मौरीहरुको बाँस स्थान र महको गुणस्तरतालाई अवलोकन गर्न लण्डनका नागरिक रुडी रेप्का र लिडिया अनियला रेप्का नलगाड नगरपालिकाको कल्पतमा पुगेका हुन्। बेलायतमा सफल मौरी व्यवसाय सञ्चालन गरिरहेका रुडीको जोडीले पाली, कल्पत र चिउरीलगायत गाउँका स्थानीयवासीसँग अन्तक्र्रिया समेत गरेका छन्।

मौरीविज्ञ समेत रहेका रुडीले मौरीपालक किसानलाई दिनुपर्ने शिक्षा, मह र मौरीको निरीक्षण गर्ने प्रणालीको व्यवस्था तथा विकास, मह काढ्ने तरिका, महमा रहेको पानीको मात्रालाई व्यवस्थापन गर्ने तरिका, मह खरीदको अभिलेखीकरण व्यवस्थापन, मह प्रशोधन विधि र मह भण्डारणमा तापक्रमको व्यवस्थापनबारे किसानसँग अन्तक्र्रिया गरे। यसैगरी  महमा एचएमएफ बढ्ने अवस्था र त्यसको मात्रा मिलाउने तरिका, मूल्य निर्धारण, मह लेवलिङ र रानी मौरी उत्पादन गर्ने तरिकाका विषयमा पनि उनले किसानसँग अन्तक्र्रिया गरे। 

विगत ३५ वर्षदेखि सफल मौरी व्यवसाय सञ्चालन गरिरहेका रुडीले उत्पादन गरेको महले विश्व पुरस्कार जित्न सफल भएको बताइएको छ। मेलिफेरा प्रजातिको मौरीपालन उद्योग सञ्चालन गरिरहेका ७३ वर्षीय रुडीले कल्पतमा रैथाने सेराना, कठ्यौरी, पुतुका र भिरमौरीको वासस्थान र महको अवलोकन गरेका थिए। 

सेराना मौरीसँगै कठ्यौरी र पुतुका मौरीको उपयुक्त वासस्थान भएको पाली र कल्पतको पारस्थितिकीय प्रणाली सन्तुलित रहेको मौरीविज्ञ रुडीले बताए। सेराना, कठ्यौरी, पुतुका र भिर मौरीको अवलोकन गर्न विश्वका पर्यटक यहाँ आउन सक्ने उच्च सम्भावना रहेको पनि उनले बताए। 

मौरीमैत्री वातावरण बनाई राख्नुपर्ने उल्लेख गर्दै उनले भिर मौरीको संरक्षणमा जोड दिए। रैथाने प्रजातिभित्र पर्ने सेराना मौरीपालन गरिरहेका पालि र कल्पतका किसानले रानीमौरी उत्पादन गर्ने सीप सिक्ने इच्छा राखेमा अर्को पटक आफू नेपाल आएको समयमा कल्पतमै पुगेर तालीम दिन सकिने रुडीले बताए।

नगरपालिकाको आयोजनामा मौरीविज्ञ रुडी रेप्काले पाली कल्पतका अगुवा किसानलाई रानीमौरी उत्पादन सम्बन्धी तालीम दिने व्यवस्था मिलाउने नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताए।

अन्तरराष्ट्रिय बजारको मापदण्डलाई पूरा गर्नसकेमा महको बजारीकरणमा कुनै समस्या नहुने कीट विकास केन्द्रका प्रमुख हरिहर अधिकारीले बताए।

मौरीपालन व्यवसायले किसानको आधुनिक खेती प्रणालीमा बालीको उत्पादन र उत्पादकत्वमा वृद्धि ल्याउन सहयोग पुग्ने विज्ञले बताउँदै आएका छन्। मौरीको परागसेचनले बाली उत्पादन र उत्पादकत्वमा वृद्धि ल्याउने भएको हुँदा मौरी व्यवसायको महत्व किसानका लागि निकै माथि रहेको छ। 

आधुनिक मौरीपालन व्यवसायबाट मह लगायत मैन, शाही खुराक, कुट, खोटो, प्याकेज, मौरीगोला जस्ता उपजको उत्पादन, महको गुणस्तर, मूल्य शृङ्खला तथा बजार व्यवस्थापन, मौरीपालनका लागि संस्थागत विकास आदिजस्ता महत्व रहेका छन्।

मौरीपालन व्यवसायमा आफूले हासिल गरेका अनुभव, समस्या र चुनौतीका विषयमा स्थानीय किसानले आ–आफ्नो धारणा राखेका थिए। कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयको कृषि विभागअन्तर्गत रहेको कीट विकास केन्द्रका प्रमुख तथा सहसचिव हरिहर अधिकारी, नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावल लगायतका व्यक्तित्वको सहभागिता रहेको थियो।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै