• २०८१ बैशाख ७ शुक्रबार

राष्ट्रपति हमिद र प्रचण्डबीच भेटवार्ता 

kharibot

काठमाडौँ । चार दिने नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज शिष्टाचार भेट गरेका छन् । 

भेटमा दुई देशबीच आपसी सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

सो क्रममा राष्ट्रपति हमिदले बदलिँदो परिस्थितिमा कसरी सहयोग र सहकार्य गर्न सकिन्छ भन्ने विषयमा मिलेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । 

नेपाल र बङ्गलादेश विकास र राजनीतिक स्थिरताको मार्गमा अगाडि बढिरहेको प्रसङ्ग जोड्दै राष्ट्रपति हमिदले चुनौती सामना गर्न साझारूपमा लाग्नुपर्नेमा जोड दिए ।

नेपालको परिवर्तन र शान्ति प्रक्रियामा अध्यक्ष प्रचण्डले निर्वाह गरेको भूमिकाको उनले खुलेर प्रशंसा गरेका थिए । नेपालले बङ्गलादेशको स्वतन्त्रता सङ्ग्राममा निर्वाह गरेको भूमिकाको समेत उनले सराहना व्यक्त गरेको रिजालले सञ्चारकर्मीलाई जानकारी दिए । 

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको चारदिने औपचारिक सद्भावना भ्रमणका लागि उनी मङ्गलबार आएका हुन् । उनले मङ्गलबार नै भक्तपुरको दरबार स्क्वायरको स्थलगत अवलोकन भ्रमण गरेका थिए । 

उनले आजै नेपाली समकक्षी राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग भेटवार्ता गर्दै छन् ।

बिहीबार उनले पर्यटकीय क्षेत्र पोखराको भ्रमण गर्दै छन् । उनी भ्रमण सम्पन्न गरी कात्तिक २९ गते स्वदेश फर्किने छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै