• २०८१ बैशाख १२ बुधबार

चेपाङ बस्तीमा सुविधासम्पन्न विद्यालय भवन

kharibot

चुरियामाई । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका अन्तर्गत वडा नं ६, ७ र ८ मा पाँचवटा पक्की विद्यालय भवन निर्माण भएको छ।

पाँचमध्ये चार वटा भूकम्परहित व्यवस्थित भवनहरु सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ।

नेपाल सरकार, राक्सिराङ गाउँपालिका र जिल्ला शिक्षा समन्वय एकाइसहितको समन्वयमा जर्मनस्थित लिसा हिमालय इभी र दीगो विकासका लागि एकता नेपाल नामक गैरसरकारी संस्थाले विद्यालयका पक्की भवनहरु निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको हो।

वडा नं ७ को दामराङमा निर्मित दामराङ आधारभूत विद्यालय भवन एक समारोहका बीच लिसा हिमालय इभी जर्मनीका अध्यक्ष डानिला झारिङ, नेपाल प्रतिनिधि स्टेफन र दीगो विकासका लागि एकता नेपालका तर्फबाट अध्यक्ष अच्युतप्रसाद पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष कुलबहादुर चेपाङलाई हस्तान्तरण गरिएको छ।

सुरक्षित विद्यालय भवन निर्माण भएको भन्दै गाउँपालिका अध्यक्ष राजकुमार मल्लले गैरसरकारी क्षेत्रबाट स्थानीय सरकारलाई शिक्षा क्षेत्रमा गरेको सहयोग अमूल्य रहेको बताए। उनले अबका दिनमा चेपाङ बालबालिकालाई पक्की भवनमा पठनपाठन गराउन पाइने र प्राकृतिक प्रकोपको असरसमेत कम हुने बताए।

दामराङ आधारभूत विद्यालयमा आठ वटा कक्षाकोठासहितको भवनमा दुई वटा व्यवस्थित शौचालय निर्माण गरिएको छ। त्यसैगरी शिशु स्याहार कक्षा पनि स्थापना गरी व्यवस्थित गएिको छ भने हरेक कक्षाकोठामा ‘फर्निचर’, ‘ह्वाइटबोर्ड’ लगायतका सुविधाहरु राखिएका छन्।

भवन निर्माणका लागि रु दुई करोड ५७ लाख ९९ हजार खर्च भएको समारोहमा जानकारी गराइएको थियो।

दामराङसहित लिसा हिमालय इभी र दीगो विकासका लागि एकता नेपालले वडा नं ६ को प्रजा कल्याण प्राथमिक विद्यालय, वडा नं ८ को जनज्योति आधारभूत विद्यालय, वडा नं ६ को जनसेवा प्राथमिक विद्यालयलाई भूकम्परहित पक्की भवन निर्माण गरिदिएको छ । टिकेढुङ्गा प्राथमिक विद्यालयको भवन निर्माणाधीन अवस्थामा रहेको लिसा हिमालय इभीका परियोजना संयोजक अन्जनप्रसाद पौडेलले जानकारी दिए।

विद्यालय भवन निर्माण कार्य लिसा हिमालय जर्मनीका अध्यक्ष झारिङ र नेपाल प्रतिनिधि स्टेफनको प्रत्यक्ष निगरानीमा निर्माण भएको हो । स्टेफन इञ्जिनीयर समेत हुन्। परियोजना संयोजक पौडेल भन्छन्, “विद्यालय भवनको आवश्यकता, निर्माण कार्यको तौरतरिकालगायत सबै विषयहरु उहाँहरुकै निगरानी र सल्लाहबमोजिम पारदर्शी ढङ्गले गरिएको छ।” झारिङ र स्टेफन केही वर्षदेखि अधिकांश समय गाउँपालिका केन्द्रित रहँदै आइरहेको पौडेलले जानकारी दिए।

तीनवटा वडामा शिक्षा तथा स्वास्थ्य सहयोग कार्यक्रमअन्तर्गत संस्थाले चेपाङ, तामाङ र दलित समुदायका सबै छात्राहरुलाई पोशाक तथा शैक्षिक सामग्री तथा सबै विद्यालयहरुमा दिवा खाजा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै