• २०८१ बैशाख ४ मंगलबार

नेपाली युवा क्रिकेट टिमको भारतमा लगातार दोस्रो हार 

kharibot

फाइल तस्बीर

काठमाडौँ । भारतको भ्रमणमा रहेको नेपाली अन्डर १९ क्रिकेट टिम भारतको अन्डर १९ ए टिमसँग पनि पराजित भएको छ ।

आज सम्पन्न खेलमा भारतको अन्डर १९ ए टिमले नेपाललाई १०७ रनले पराजित गरेको छ ।

भारतले दिएको २४८ रन पछाएको नेपाली टिमले ५० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो । 

नेपालका लागि विशाल विक्रम केसीले सर्वाधिक ७१ रन बनाएका थिए । त्यस्तै शीर मल्लले २१ रनको योगदान दिए भने आकास चन्दले अविजित १९ रन बनाएका थिए ।

अन्य नेपाली ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान रीत गौतम ५, लेकोश बम, कुशल मल्ल र हरिबहादुर चौहान शुन्यमा आउट भएका थिए । त्यस्तै खडक बहादुर बोहोरा ३, अरुण ऐरी ७ र प्रतिष जिसी ६ रन बनाएर आउट भएका थिए ।
भारतीय बलर नितिश कुमार रेड्डी र समीर रिजवीले २-२ विकेट लिएका थिए ।

यस अघि भारतीय अन्डर १९ ए टिमले पहिला ब्याटिंग गर्दै नेपाली युवा टिमलाई २४८ रनको लक्ष्य दिएको थियो । भारतीय अन्डर १९ ए टिमले ४८.२ ओभरमा २४७ रन बनाएर अल आउट भएको थियो ।

भारतका ब्याट्सम्यान धुर्व चन्द जुरेलले सर्वाधिक ७४ रन बनाएका थिए । त्यस्तै साइ भारद्वाज सुदर्शनले ३४, भुपेन्द्र जैसवालले ३३, नितिश कुमार रेड्डीले ३०, कृतज्ञकुमार सिंहले २६ रन बनाएका थिए ।

नेपाल बलर शीर मल्लले सर्वाधिक ३ विकेट लिएका थिए । त्यस्तै आकास चन्दले २ विकेट लिए भने प्रतिस जिसी र हरिबहादुर चौहानले एक एक विकेट लिएका थिए । भारतका तीन ब्याट्सम्यान रनआउट भएका थिए ।   

यो हारसँगै नेपाली युवा टिम लगातार दोस्रो खेलमा हार बेहोरेको छ । यस अघि खेलेको पहिलो खेलमा भारतीय अन्डर १९ सी टिमसँग १० विकेटले पराजित भएको थियो ।

नेपाली टिमले अब अर्को खेल आगामी शुक्रबार भारतको अन्डर १९ बि टिमसँग खेल्ने छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै