काठमाडौँ । नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आज शिष्टाचार भेट गरेका छन् ।
भेटमा दुई देशबीच आपसी हित, आर्थिक साझेदारी र विकासका विषयमा समेत छलफल भएको भेटवार्तामा सहभागी काङ्ग्रेस नेता डा नारायण खड्काले जानकारी दिए ।
भेटमा सभापति देउवाले व्यापार, ‘कनेक्टिभिटी’, जलविद्युत् आयोजना निर्माण र नेपालबाट विद्युत् खरीद गर्ने विषयलाई प्राथमिकतामा राखेर कुराकानी गरेका थिए । प्रत्युत्तरमा राष्ट्रपति हमिदले नेपालमा लगानी गर्न इच्छा व्यक्त गर्नाका साथै विद्युत् खरीद गर्न पनि बङ्गलादेश तयार रहेको बताएको डा खड्काले जानकारी दिए ।
उनका अनुसार राष्ट्रपति हमिदले उच्चस्तरीय भ्रमण कम भएको प्रसङ्ग जोड्दै भ्रमण बढाउनुपर्नेमा पनि जोड दिएका थिए । बङ्गलादेशको स्वतन्त्रता क्रान्तिमा नेपालले सहयोग गरेकामा उनले खुशी व्यक्त गर्दै योगदान पुर्याउने १३ नेपालीलाई सम्मान गरिएको जानकारी गराएका थिए । राष्ट्रपति हमिद राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको चारदिने औपचारिक सद्भावना भ्रमणका क्रममा नेपालमा रहेका छन् ।
यसअघि राष्ट्रपति हमिदले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरिसकेका छन् ।
भक्तपुर दरबार स्क्वायरको मंगलबार अवलोकन भ्रमण गरेका हमिदले बिहीबार कास्कीको पोखराको भ्रमण गर्ने कार्यतालिका छ । मङ्गलबार चार दिने भ्रमणका लागि आएका राष्ट्रपति हमिद भ्रमण सम्पन्न गरी यही कात्तिक २९ गते स्वदेश फर्किदै छन् ।