• २०८१ बैशाख ४ मंगलबार

धरान नगर प्रमुखका लागि स्वतन्त्रसहित प्रमुख दलको उम्मेदवारी दर्ता

kharibot

इनरुवा । सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख र वडा नं ७ का वडाध्यक्ष पदका लागि दलहरुले आज उम्मेदवारी दर्ता गराएका छन् ।

बाजागाजासहित आएका नेकपा तथा नेपाली काङ्ग्रेससहितका विभिन्न दलले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । 

यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि पञ्चेबाजासहित दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएको नेपाली काङ्ग्रेस भोक्राहा नरसिंह गाउँपालिकाका सभापति युवराज दाहालले बताए ।

धरान उपमहानगरपालिकाको प्रमुख पदका लागि नेकपाका तर्फबाट प्रकाश राई र काङ्ग्रेसका तर्फबाट तिलक राईले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । 

त्यसैगरी प्रमुख पदकै लागि चार स्वतन्त्र र साना दलले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय जनमुक्ति पार्टीबाट गोकर्ण राई, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अमर इजम, राप्रपा संयुक्तबाट कुमार बराइली र साझा पार्टीबाट राजनकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी अमृत राई, मनराज राई, जनार्दन कोइराला र हर्क साम्पाङले स्वतन्त्र रुपबाट उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन कार्यालयले नेपाली काङ्ग्रेसलाई ११ देखि १२ बजेसम्मको र नेकपालाई १२ बजेपछिको समय दिएको थियो । सोही समय सीमामा रहेर नेकपा र नेपाली काङ्ग्रेसका उम्मेदवारले उमेदवारी दर्ता गराएको स्थानीयवासीले बताएका छन् । अन्य दल र स्वतन्त्र उम्मेदवारको विषयमा समय दिएको थिएन । 

त्यसैगरी ७ नं वडाध्यक्षमा नेपाली काङ्ग्रेसका तर्फबाट सुवर्णमोहन पालिखे र नेकपाका तर्फबाट जीवन सुवेदीले उम्मेदवारी दर्ता गराएका छन् । गत निर्वाचनमा धरान उपमहानरपालिकामा प्रमुख पदमा नेकपाका तर्फबाट तारा सुब्बा विजयी भएका थिए । उनको बिरामीका कारण काठमाडौँमा उपचारका क्रममा निधन भएपछि प्रमुख पद खाली भएको थियो ।

वडा नं ७ मा नेकपाका तर्फबाट भुवनसिंह मोक्तान विजयी भएका थिए । उनको पनि बिरामी भएका कारण निधन भएपछि सो पद खाली भएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै