• २०८१ बैशाख ७ शुक्रबार

नेपाल-बंगलादेशबीच मैत्री सम्बन्ध थप विस्तार हुने दुवै राष्ट्रपतिको विश्वास

kharibot

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका बङ्गलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच आज अपराह्न भेटवार्ता भएको छ ।

राष्ट्रपति कार्यालय, शीतल निवासमा भएको भेटवार्तामा नेपाल–बङ्गलादेश सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । भेटमा उनीहरूबीच विद्यमान पारस्परिक सम्बन्धका विविध पक्षबारे छलफल भएको थियो । 

विगतदेखि नै नेपाल र बङ्गलादशेबीच मैत्री सम्बन्ध रहिआएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले नेपाली जनता, नेपाल सरकार र आफ्नातर्फबाट नेपाल भ्रमण गरेकोमा उनलाई धन्यवाद दिएकी थिइन् । दुई देशबीच रहेको सम्बन्ध जनस्तरमा समेत विस्तार भएको छ भन्दै राष्ट्रपति भण्डारीले मैत्री सम्बन्ध थप विस्तार हुने बताईन । 

बङ्गलादेशका राष्ट्रपति हमिदले नेपाल भ्रमण गर्न पाएकामा प्रसन्नता प्रकट गर्दै आफ्नो देशको स्वतन्त्रता सङ्ग्राममा नेपालको तत्कालीन राजनीतिक नेतृत्वले गरेको नैतिक समर्थनको स्मरण गरेका थिए । बङ्गलादेशलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिने नेपाल सातौँ मुलुक भएको स्मरण गर्दै राष्ट्रपति हमिदले नेपालसँग आफ्नो देशको भावनात्मक सम्बन्ध रहेको बताए ।

नेपाल भ्रमण गर्ने निम्ता दिएकोमा राष्ट्रपति भण्डारीको प्रशंसा गर्दै उनका बङ्गलादेशी समकक्षीले उच्चस्तरीय भ्रमणले सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरे ।

सो अवसरमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठ, राष्ट्रपति कार्यालयका सचिव र  परराष्ट्र मन्त्रालयका अधिकारीको उपस्थिति थियो । यस्तै बङ्गलादेशका उच्च अधिकारीको समेत सो अवसरमा सहभागिता थियो ।  

यसअघि राष्ट्रपति हमिदको उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता भएको थियो ।

त्यस्तै आजै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग उनको शिष्टाचार भेटवार्ता भएको थियो ।

उनीहरुसँगको भेटमा व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, जलमार्ग, हवाइमार्ग, शिक्षा, यातायात तथा कृषि क्षेत्रमा सहयोग गर्ने सम्बन्धमा छलफल भएको थियो । 

जलवायु परिवर्तनसहित अन्तरराष्ट्रिय र क्षेत्रीय चासोका मामिलामा सहयोग सुदृढ तुल्याउनेबारेमा पनि विचार आदानप्रदान भएको थियो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै