• २०८१ बैशाख ५ बुधबार

बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदन : कम्युनिष्ट आन्दोलन ‘कुहिरोको काग जस्तो’ 

kharibot

काठमाडौं । सत्तारुढ समाजवादी पार्टीको प्रथम संघीय परिषद् बैठक सुरु भएको छ ।

समाजवादीको संघीय बैठक आज बिहीबार १२ बजे प्रज्ञा भवनमा सुरु भएको हो । तत्कालीन नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच एकता भएर बनेको समाजवादी पार्टीको यो पहिलो संघीय परिषद बैठक हो ।

बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ‘समाजवादी पार्टी निर्माण र आगामी कार्यभार’ नामक राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

डा. भट्टराईले पेश गरेको २५ पृष्ठ लामो दस्तावेजमा समाजवादी पार्टी निर्माण गर्नुको उद्देश्य, समकालीन विश्व राजनीति र वैचारिक संकटबारे चर्चा गरिएको छ । त्यस्तै नेपालको राष्ट्रिय परिस्थितिको गहन विश्लेषण, उत्पीडित राष्ट्रियताको मुक्ति र संघीयताको महत्वबारे उल्लेख छ ।

सुशासन, समृद्धि, पहिचान र संघीयताबारे समेत दस्तावेजमा उल्लेख गरिएको छ । मुलुकलाई लोकतान्त्रीकरण र संघीयकरण नगरी विकास र सुशासन कायम गर्न नसकिने समाजवादी पार्टीको निष्कर्ष छ ।

‘अधुरो लोकतान्त्रीकरण र संघीयकरणको प्रक्रियालाई पूरा नगरिकन साँचो अर्थमा ‘विकास, सुशासन र समृद्धि’ को यात्रा प्रारम्भ हुन असंभव हुन्छ’, दस्तावेजमा भनिएको छ, ‘देशमा दिगो शान्ति र स्थायित्व हासिल नगरी विकास सुशासन र समृद्धि सम्भव भएको उदाहरण संसारमा कहीं पनि छैन ।’

त्यस्तै समाजवादी पार्टीले प्रमुख प्रतिपक्ष कांग्रेसलाई ‘वैचारिक दृष्टिकोणले उदार–लोकतान्त्रिक धारको नेतृत्व गर्ने दल’ भनेको छ । तर नेपालको कम्युनिष्ट आन्दोलन ‘कुहिरोको काग जस्तो’ बन्न पुगेको भनेर दस्तावेजमा लेखिएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र व्यापक वैचारिक अन्यौलता भएको भन्दै दस्तावेजमा लेखिएको छ- ‘पार्टीको स्थापनाकालीन मान्यता, सिद्धान्त र उद्देश्यहरु विश्वव्यापी रुपमा असफल भएपछि नेपालको कम्युनिष्ट आन्दोलन कुहिरोको कागजस्तो बन्न पुगेको छ । एकातिर उनीहरुले मार्क्सवाद–लेनिनवाद–माओवादप्रति शाब्दिक निष्ठा व्यक्त गर्न छोडेका छैनन् । अर्कोतिर यी विचारको सान्दर्भिकता र प्रयोगबारे उनीहरुमा व्यापक अन्यौल, अविश्वास, निरासा र हिनताभाष छ ।’

समाजवादी पार्टीले राष्ट्रिय जनता पार्टी (राजपा) सँग आफ्ना केही एजेण्डा मिल्ने समेत जनाएको छ । ‘राष्ट्रिय जनता पार्टी राष्ट्रिय पहिचान र अधिकारको पक्षधर लोकतान्त्रिक दल हो’, दस्तावेजमा भनिएको छ,  ‘यो दलसँग हाम्रा धेरै एजेण्डाहरु मिल्दछन्….. र पार्टीसँग एकताका निम्ति केही समयदेखि गम्भीर छलफल भइरहेको छ ।’

संघीय परिषदको बैठक आजै सम्पन्न हुदै छ भने शुक्रबार र शनिबार केन्द्रीय समितिको बैठक बस्ने जनाइएको छ ।

बैठकले पार्टीमा सरकारको सहभागिता लगायत समाजवादी पार्टी र राजपाबीच पार्टी एकताबारेमा निर्णय लिने बताइएको छ ।

डा. भट्टराईको राजनीतिक प्रतिवेदन  :


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै