• २०८१ बैशाख ७ शुक्रबार

इमर्जिंग कपको पहिलो खेलमा नेपाल भारतसँग पराजित 

kharibot

काठमाडौँ । एसीसी इमर्जिंग टिम्स एसिया कप अन्तर्गत नेपाल भारतसँग ७ विकेटले पराजित भएको छ ।

आज सम्पन्न पहिलो खेलमा नेपालले दिएको १९४ रनको लक्ष्य पछाएको भारतले ४२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

भारतको जितमा सनवीर सिंहले ५६ रन बनाए भने बेलुर रवि सारथले ४९, अरमान जाफरले अविजित ५१ र आर्यन जुयालले २९ रन बनाएका थिए ।

नेपाली बलर ललित राजबंशी, करण केसी र सुशान भारीले एक एक विकेट लिएका थिए ।    

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ४४.५ ओभरमा अल आउट हुदै १९३ रन बनाएको थियो । 

नेपालका लागि पवन सराफले सर्वाधिक ५६ रन बनाए । अर्धशतकीय पारी खेल्ने क्रममा पवनले ७ चौका र २ छक्का प्रहार गरेका थिए ।

त्यस्तै शरद भेस्वाकरले ४४ रन बनाए भने यसै खेलमा अन्तर्राष्ट्रिय डेभ्यु गरेका कुशल भुर्तेलले २८ रन बनाएका थिए ।

त्यस्तै दिपेन्द्र सिंह ऐरीले २४ रन बनाए भने करण केसीले आक्रामक २० रन बनाएका थिए । नेपाली कप्तान ज्ञानेन्द्र मल्ल शुन्यमा आउट भए भने आरिफ सेखले २ रन मात्र बनाए । त्यस्तै विनोद भण्डारी ५ र सोमपाल कामी २ रन बनाएर आउट भए ।

भारतका बलर सौरभ दुबेले सर्वाधिक ४ विकेट लिएका थिए । त्यस्तै यश राथोड़ले ३ विकेट लिए भने पार्थ रेखाड़ेले २ र सिद्धार्थ देसाईले एक विकेट लिएका थिए ।

यसै समुह अन्तर्गत आजै भएको अर्को खेलमा बंगलादेशले अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको छ । 

नेपालले अब दोस्रो खेल आगामी शनिबार हङकङसँग खेल्ने छ भने तेस्रो खेल आगामी सोमबार घरेलु टिम बंगलादेशसँग खेल्ने छ ।  

प्रतियोगिताको पहिलो सेमिफाइनल नोभेम्बर २० र दोस्रो सेमिफाइनल नोभेम्बर २१ मा हुने छ भने फाइनल खेल नोभेम्बर २३ मा हुने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै