• २०८१ बैशाख ४ मंगलबार

दोलखाको रोल्वालिङमा 'डेभिड लामा बिवाक' निर्माण 

kharibot

काठमाडौँ । दोलखाको रोल्वालिङमा 'डेभिड लामा बिवाक' निर्माणको अन्तिम चरणमा पुगेको छ ।

कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाको जन्मथलो समेत रहेको रोल्वालिङ गाउँपालिकाबाट हिमाली क्षेत्र पार गर्दै पासाङ्ग ल्हामु गाउँपालिका जोडिने ‘टासी लाप्चा पास’ मा नेपालमै पहिलो बिवाक निर्माण गरिएको हो ।

आरोही फुर्वा कै सक्रियतामा जोसेफ आइनवालर, स्टेफन केक, राल्फ ओक्टमातजस्ता आफ्ना अस्ट्रिया तथा इटालीका साथीहरु एवम् देशकै सबैभन्दा पूरानो बैंक, नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा टासी लाप्चामा उच्चकोटीको प्राविधिक रुपमा सबल, बसोबास गर्न मिल्ने, स्टील र फलामद्वारा निर्मित गृह (बिवाक) को निर्माण गरेका हुन् ।

जर्मन भाषामा बिवाक भनेको क्याम्प हो । पर्यटन क्षेत्रमा ट्रेकिङ वा पर्वतारोहण पूर्व बिवाकिङ भन्ने शब्द निकै प्रचलित थियो । त्यतिबेला खुल्ला आकाशमुनि हावा तथा पानी प्रतिरोधात्मक झोलाभित्र रात बिताउनुलाई बिवाकिङ भनिन्थ्यो । पछि विज्ञान तथा प्रविधिसँगै स्ल्पिङ्ग ब्याग, सानो टेन्ट, ठूलो टेन्ट हुँदै कोठा जत्रा टेन्टहरुको विकास भए । यसर्थमा बिवाक भनेको आश्रय स्थल हो । जसरी हामी घरको कोठामा आश्रय लिन्छौं, ठिक त्यसरी नै उच्च हिमाली भेगमा यात्रा गर्दा उपलब्ध आश्रय स्थल बिवाक हो ।

विशेषतः जर्मनी, अस्ट्रिया, फ्रान्स, इटालीजस्ता युरोपेली मुलुकहरुमा बिवाकको प्रयोग र खपत बढी भएको पाइन्छ भने इटाली–फ्रान्समा अवस्थित हिमाल, माउण्ट ब्लाङ्क (४,८०७ मि.) मा रहेको बिवाक युरोपको सबैभन्दा उच्च स्थानमा स्थापित बिवाक हो ।

नेपालको हकमा भने यस किसिमको बिवाक गृहको स्थापना इतिहासमै पहिलोपटक गरिएको हो । प्राविधिक रुपमा सबल तथा खण्ड खण्ड जडान गरी गरिने यस बिवाक उच्च हुरी, तीव्र हिमपात, चट्टान–पहिरो तथा अन्य प्राकृतिक प्रतिकुलतामा पनि सुरक्षित रहने छ ।

करिब २.५ टनको सामग्री जडान गरेपछि पूर्णता पाएको यस बिवाकलाई त्यस उच्च क्षेत्र जाबो, टासी लाप्चा (५,२०० मि.) सम्म लैजाने कार्य भने हाम्रा लागि चुनौती साबित भएको थियो ।

यस बिवाकको स्थापनाले नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनमा अनुकरणीय भूमिका खेल्नेछ । आवातजावत गर्ने सम्पूर्ण पदयात्रीका लागि यस गृहको प्रयोगले सुरक्षा र उचित बसोबासका लागि सहयोग मिल्नेछ । हिमाली क्षेत्रमा प्रयोग गरिने सामग्री भण्डारण, त्यसको समयोचित समुचित प्रयोग, त्यस क्षेत्रका मानिसहरुको रोजगारी र आम्दानी वृद्धि र टासी लाप्चालाई सगरमाथा क्षेत्र जाने वैकल्पिक पदमार्गका रुपमा प्रवद्र्धन गर्न यस बिवाकको स्थापनाले प्रमुख भूमिका निर्वाह गर्नेछ ।

बिवाक निर्माणबारे जानकारी दिन काठमाडौँमा आयोजना गरिएको कार्यक्रममा दोलखाका सांसद पार्वत गुरुङले बिवाक निर्माणमा सहयोग गर्नेहरुलाई सम्मान गरेपछि ।


उच्च जोखिमयुक्त टासी लाप्चा क्षेत्रमा बिवाकको स्थापनाले कैयौं पदयात्रीको अनाहकमा मृत्यु हुनबाट जोगाउन सकिने साथै यस कार्यले त्यस क्षेत्रका मानिस, पदयात्रीलाई मात्र नभई सिंगो नेपालको पर्यटन क्षेत्रको विकास तथा प्रवद्र्धनमा नै फलदायी सावित हुने देखिएको छ ।

सर्वप्रथम अस्ट्रिया देशबाटै बिवाकको अवधारणा बुझेका फुर्वा तेन्जिङ शेर्पाले चिनजानको व्यक्तिहरुसँग सहकार्य गरी यस बिवाकलाई नेपालसम्म ठूलो रकम र नगन्य प्रयत्नले आयात गरी दोलखा जिल्लास्थित ना गाउँ (४,१८० मि.), रोल्वालिङमा ढुवानी गरेका थिए ।

तत्पश्चात् स्थानिय वडा अध्यक्ष, स्थानिय क्लब तथा व्यक्तित्वहरुसँगको छलफल तथा सल्लाहपछि गौरीशंकर गाउँपालिका र गौरीशंकर संरक्षण क्षेत्र परियोजनाबाट स्वीकृती लिई काम अघि बढाएको बताउछन् । 

वि विल राईज फाउण्डेशनका सदस्य समेत रहेका फुर्वा भन्छन्, 'ठूलो र बोक्नका लागि गाह्रो यसका भागहरु ना गाउँबाट त्यस उच्च क्षेत्र जाबो, टासी लाप्चा (५,२०० मि.) सम्म मानव प्रयत्न र शक्ति प्रयोग गरी थल मार्ग हुँदै पैदल लैजान करिब असम्भव नै थियो । ठूलो जनशक्ति प्रयोग गरिएतापनि यसका भागहरु बोकेर लैजाँदा कठिनाइका साथै मानव ज्यान नै जोखिममा पर्ने हुँदा सबैभन्दा उपयुक्त र एक मात्र ढुवानीको साधन नै हेलिकप्टरको प्रयोग गरी गएको नोभेम्बर ११ तारिख, सोमबार बिवाक निर्माण कार्य सम्पन्न गरेका हौं । यस कार्यको सफलताका निम्ति आवश्यक सर–सल्लाह, सद्भाव राखी सहकार्य गर्नुभएका स्थानिय व्यक्तित्व, निकाय, नेपाल बैंक तथा सिम्रिक एयर परिवार र क्याप्टेन सिद्धार्थ गुरुङप्रति आभार प्रकट गर्न चाहन्छौं ।'

वि विल राईज फाउण्डेशनले आफ्ना सक्रिय सदस्य फुर्वा तेन्जिङ शेर्पा र उनका केही विदेशी साथीहरु हिमाली पर्यटन क्षेत्रमा केही पृथक कार्य गर्न प्रयत्नरत रहेकोमा खुशी व्यक्त गर्दै यस अभियानमा पूर्ण साथ रहेको जनाएको छ । 

फाउन्डेसन नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन अथक प्रयास गरिरहेको छ । प्रत्येक वर्ष हङकङ तथा बेलायतमा आयोजना गरिने ΄हाइक फर नेपाल’ र गत वर्षदेखि सम्पन्न हुँदै आएको ΄मेरो गाउँ, मेरो ठाउँ’ लघु वृत्तचित्र प्रतियोगिता नेपालको पर्यटन प्रवद्र्धनका निम्ति गरिएका केही प्रयासहरु भएका छन् ।

दोलखा जिल्ला, ना गाउँ, छोरोल्पा, जाभो, टासी लाप्चा, थेङ्गबो, थामे हुँदै नाम्चे बजार पुगेर टुङ्गिने यो यात्रामा विशेषतः छोरोल्पा, जाभो र टासी लाप्चा गरी ३ स्थानमा क्याम्प निर्माण गर्नुपर्ने हुन्छ । हिउँको पत्रमाथि निर्मित क्याम्पमा दिनरात बिताई आफ्नो यात्रा अघि बढाउनु पर्ने हुँदा यस क्षेत्र बहुसंख्य हिसाबले जोखिमपूर्ण रहेको छ । 

हालसम्म धेरै पदयात्री, भरिया, पथ प्रदर्शक र केही पर्यटकहरुले यस क्षेत्रमा कहिले न्यून तापक्रम, कहिले भारी हिउँ वर्षा, हावाको उच्च वेग, सानो तथा ठूला चट्टानको निरन्तर खसाइ, मार्ग पत्ता लगाउन कठिनाइ र हाई एल्टिच्यूड जस्ता विविध कारणहरुले गर्दा मृत्युवरण गरिसकेका छन् भने सयौं यसै कारणबाट घाइते भएका छन् । करिब १४ दिन लाग्ने यस पदयात्रामा संलग्न रहने हरकोही माथि उल्लेखित जोखिमहरुबाट टाढा रहन सक्दैन । 

साथै अस्ट्रिया र युरोपमा मात्र होइन संसारले गर्व गरेको नाम आरोही डेभिड लामा : एडभान्चरर अफ द इयर २०१३- नेशनल जियोग्राफी जसले सन् २०१८ मा नेपालको लुनाग–री पहिलोपटक आरोहण गरेका थिए । उनका बाबु रिन्जी शेर्पा सोलुखुम्बुका पथप्रदर्शक थिए भने आमा क्लाउडिया अस्ट्रियाका नागरिक हुन् । मात्र २९ वर्षमा हिमपहिरो ज्यान गुमाएका उनै डेभिड लामालाई नेपाल र अस्ट्रियाबीचको मित्रवत् सम्बन्धको प्रतिक मानी उक्त बिवाकको नाम डेभिड लामा बिवाक नामाकरण निधो गरिएको फुर्वाले जानकारी दिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै