काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को टिम दिल्ली क्यापिटल्स आफ्नो टिम बनाउन अन्य टिम भन्दा बढी आक्रामक देखिएको छ ।
आउदो सिजनका लागि दिल्लीले बलियो टिम बनाउने अभियान अन्तर्गत खेलाडी ट्रेडिङको अन्तिम दिन विहिबारसम्म टिममा केहि उत्कृष्ट खेलाडीलाई भित्र्याएको छ भने केहि खेलाडीलाई अन्य टिमलाई बेचेको छ ।
दिल्लीले केहि साता अघि मात्र किंग्स इलेभेन पंजावका कप्तानसमेत रहेका भारतीय स्पिनर आर आश्विनलाई किनेको छ । त्यस्तै दिल्लीले विहिबार मात्र भारतीय टेस्ट टिमका उपकप्तान समेत रहेका राजस्थान रोयल्सका कप्तान आजिख्य रहानेलाई पनि किनेको छ । त्यस्तै दिल्लीले तिब्रगतिका बलर ट्रेन्ट बोल्टलाई बेचेको छ । बोल्टलाई मुम्बई इण्डियन्सले किनेको छ ।
आश्विन र रहानेको आगमनले युवा खेलाडीको दबदबा रहेको दिल्लीको टिम युवा र अनुभवको समिश्रण बनेको क्रिकेट विश्लेषकहरुले विश्लेषण गरेका छन् ।
रहानेको आगमनले दिल्लीको मध्यक्रम बलियो हुने छ भने आश्विनलाई दिल्लीका अर्का स्पिनर अमित मिश्राको सट्टामा ल्याएको बुझिएको छ ।
दिल्लीले रहानेलाई भित्र्याउन लेग स्पिनरद्वय मंयक मरकान्डे र राहुल तेवतियालाई राजस्थान रोयल्सलाई दिएको छ भने आश्विनलाई भित्र्याउदा दिल्लीले अलराउन्डर जगदीश सुचितलाई पंजावलाई दिएको छ ।
यसरी हेर्दा दिल्लीमा रहेका नेपाली लेग स्पिनर सन्दीपलाई फाइदा हुने देखिएको छ । दिल्लीमा अब अमित मिश्रा र सन्दीप दुई लेग स्पिनर रहेका छन् । घरेलु क्रिकेटमा सक्रिय नभएका आमित मिश्र भारतको राष्ट्रिय टिममा लामो समयदेखि बाहिर नै रहेका छन् । त्यसैले पनि सन्दीपले अब आउदो सिजनमा दिल्लीबाट धेरै खेल खेल्न पाउने सम्भावना बढेको छ ।
सन्दीपले अहिलेसम्म खेलेका आइपिएलका दुई सिजनमा २०१८ मा केवल ३ खेल खेलेका थिए भने ५ विकेट लिएका थिए । त्यस्तै गत सिजनमा सन्दीपले ६ खेल खेल्दै ८ विकेट लिएका थिए ।