काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका भारतीय आक्रामक ब्याट्सम्यान युवराज सिंहलाई आइपिएल टिम मुम्बई इण्डियन्सले रिलिज गरेको छ ।
गत बर्षको खेलाडी अक्सनमा मुम्बईले युवराजलाई एक करोडमा किनेको थियो ।
मुम्बई इण्डियन्सले आउदो सिजनका लागि युवराजसहित १२ खेलाडीलाई रिलिज गरेको छ । गत सिजनमा किंग्स इलेभेन पंजावले बाहिर राखेपछि अक्सनमा मुम्बईले किनेको थियो । तर मुम्बईबाट युवराजले उल्लेख्य प्रदर्शन भने गर्न सकेनन् । केवल चार खेल खेलेका युवराजले ९८ रन मात्र बनाएका थिए ।
मुम्बईले युवराजसहित एविन लुइस, एडम मिल्ने, जेसन बेहरेनडोर्फ़, बेन कटिंग, बेयुरन हेन्डिक, अल्जारी जोसेफ, पंकज जैसवाल, रसिख सलाम, बरिंदर शरणलाई रिलिज गरेको छ । त्यस्तै मुम्बईले मयंक मार्कन्डेलाई दिल्लीलाई बेचेकोमा मयंक दिल्लीबाट राजस्थान पुगेका छन् ।
१२ खेलाडी रिलिज गरेसँगै मुम्बईसँग अब ७ खेलाडी किन्न १३ करोड रकम बचेको बताइएको छ । मुम्बईसँग अब २ विदेशी खेलाडी लिने ठाउ बचेको छ । मिडिया रिपोर्टमा मुम्बईले आगामी डिसेम्बर १९ मा हुने अक्सनमा नयाँ खेलाडीलाई लिने बताइएको छ ।