• २०८१ बैशाख ८ शनिबार

डिस्कोमा भेटिएपछि विमलसहित चार खेलाडीलाई एन्फाको कारवाही 

kharibot

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप २०२२ को छनोटमा कुवेत विरुद्ध प्रतिस्पर्धा गर्ने नेपाली टिमका ४ खेलाडीलाई अनुशासनको कारवाही गरेको छ । 

एन्फाले फरवार्ड विमल घर्तीमगर, मिडफिल्डर अन्जन विष्ट, सन्तोष तामाङ र डिफेन्डर दीनेश राजवंशीलाई अनुशासनको कारवाही गर्दै भुटानमा हुने कुवेतविरुद्धको खेल खेल्ने टिमबाट हटाएको छ । 

चारै जना खेलाडीहरु मादकपदार्थ सेवन गरेको र गएराति २ बजेसम्म ठमेलका विभिन्न क्लब/डिस्कोमा पाइएकाले कारबाही गरिएको एन्फाका प्रवक्ता किरण राईले खरीबोटलाई बताए ।

प्रवक्ता राईले तत्कालका लागि कुवेतविरुद्धको खेलबाट हटाइएको र अन्य कारवाहीको लागि अनुशासन समितिले निर्णय गर्ने बताए ।

नेपाली टिम शनिबार ३ बजे भुटान प्रस्थान गर्दैछ भने कारबाहीमा परेपछि ती चार खेलाडीले भुटानको यात्रा गर्न नपाउने भएका छन् । उनीहरुको स्थानमा एन्फाले वैकल्पिक खेलाडीलाई भुटान पठाउने जनाएको छ ।

नेपालले विश्वकप छनोटमा कुवेत विरुद्ध थिम्पुमा मंगलबार प्रतिस्पर्धा गर्दैछ । दशरथ रंगशालाको पुन:निर्माण सम्पन्न नभएपछि नेपालले मंसिर ३ गते कुवेतविरुद्ध भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा खेल्दैछ । 

नेपालले विश्वकप छनोट अन्तर्गत अहिलेसम्म सबै चार अवे खेल खेलिसकेको छ । अहिलेसम्म नेपालको ४ खेलबाट ३ अंक रहेको छ ।

समूह बी मा रहेको नेपाल समूहको चौंथो स्थानमा छ । यसअघि कुवेतसँग भएको खेलमा नेपाल ७–० ले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा नेपालले चाइनिज ताइपेलाई २-० गोल अन्तरले पराजित गरेको थियो भने तेस्रो खेलमा अष्ट्रेलियासँग ५–० ले पराजित भएको थियो । नेपाल पछिल्लो अवे खेलमा जोर्डनसँग ३–० ले पराजित भएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै