• २०८१ बैशाख ८ शनिबार

छिमेकी देशले हाम्रो भूमिबाट आफ्ना सेना फिर्ता लैजाओस् – प्रधानमन्त्री ओली 

kharibot

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च पनि जमिन कसैलाई मिच्न नदिइने प्रष्ट पारेका छन् । काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको भेला उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले सरकार आफ्नो देशको सीमाना रक्षा गर्न सक्षम रहेको वताए । 

मुलुकको सीमाना रक्षा गर्ने र अतिक्रमित भूमि फिर्ता गर्ने विषयमा सबै एकजूट भएर एकताको सन्देश प्रवाह भएको पनि प्रधानमन्त्री ओलीले बताए । अतिक्रमित भूमि फिर्ता गर्ने विषयमा सरकारलाई जनताबाट प्राप्त बलियो समर्थनका लागि प्रधानमन्त्रीले धन्यवाद ज्ञापन गरेका छन् । 

‘दशकौं अघि अतिक्रमित भूमिको विषयलाई लिएर अहिले भर्खरै सीमा मिचिएको जस्तो गरेर प्रचार भइरहेको छ’ प्रधानमन्त्री ओलीले भने, ‘यो देशभक्त सरकार कसैलाई पनि हाम्रो एक इन्च पनि जमिन मिच्न दिंदैन, छिमेकी देशले हाम्रो भूमिबाट आफ्ना सेना फिर्ता लैजाओस् ।’ संसारसामु शान्तिप्रिय छवि भएको नेपालले आफूले पनि कसैको एक इन्च जमिन नमिच्ने र अरुलाई पनि आफ्नो जमिन मिच्न नदिने प्रधानमन्त्री ओलीको भनाई थियो । 

कतिपयले सरकारलाई नक्सा सच्याउन सुझाव दिएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले नक्सा सच्याउनु भन्दा भूमि फिर्ता लिने कुरा महत्वपूर्ण रहेको बताए । ‘कतिपयले नयाँ नक्सा छाप्न सुझाव दिनु भएको छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामी नक्सा सच्याउनु भन्दा अगाडि अतिक्रमित भूमि फिर्ता लिन चाहन्छौं ।’  

दशकौं अघि नेपाली भूमि अतिक्रमित हुँदा मौन रहने तर, अतिरिक्त देशभक्ती देखाउने नाममा उत्श्रृंखल गतिविधि गर्ने काम अनुचित रहेको प्रधानमन्त्री ओलीको भनाई थियो । ‘राष्ट्रियता, राष्ट्रिय अखण्डताको पक्षमा सरकारलाई सबैको साथ रहेको छ । सरकारलाई प्राप्त बलियो समर्थनका लागि म सबैलाई धन्यवाद दिन चाहन्छु’ प्रधानमन्त्री ओलीले भने, ‘तर, आफूलाई अतिरिक्त देशभक्त देखाउन गरिने उत्श्रृंखल गतिविधि अनुचित छन् । हामी कुटनीतिक संवादबाट समस्याको समाधान गर्नेछौं ।’

प्रधानमन्त्री ओलीले संक्रमणकाल अन्त्य गरी कानुनी पूर्वाधार समेत बनाउन समय खर्च गरे पनि सरकारले विकासको नयाँ जग बसालेको बताए । ‘कानुनी पूर्वाधार बनाउन हामीले धेरै समय लगाउनु परे पनि आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुर्याउन सफल भएका छौं, आयात घटाउँदै निर्यात बढाएर व्यापार घाटा कम गर्दै लगेका छौं’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘उत्पाद बृद्धि र पूर्वाधार विकासमा हामी तीब्र गतिका साथ अघि बढेका छौं ।’ 

प्रधानमन्त्री ओलीले वैचारिक पूर्वाग्रह र आफूले व्यक्तिगत रुपमा केही नपाएको गुनासो जस्ता दुई कारणले मात्रै सरकारको विरोध भएको प्रधानमन्त्री ओलीको विश्लेषण थियो । ‘सरकारले राम्रै गरे पनि कम्युनिस्ट सरकार छ कसरी राम्रो भयो भन्नू भन्ने हिसावले एकथरीले आइडियोलोजिकल विरोध गरिरहेका छन्’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अर्काेथरी सबै कुरा राम्रो हुँदै गए पनि मैले त केही पाइनँ नि भनेर पनि विरोध भइरहेको छ ।’ उनले तथ्यमा आधारित विरोधले मात्र कमजोरीहरु सुधार्न सहयोग पुग्ने बताए । 

प्रधानमन्त्री ओलीले समाजवाद र पूँजीवादका चारित्रिक विशेषताबारे जानकारी दिंदै सोचाईमा सकारात्मकता, सिर्जनात्मकता र काममा रचनात्मकता अपनाउन युवा संघका कार्यकर्तालाई निर्देशन दिए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै