काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र परिवारसहित ठमेलस्थित क्लब एलओडीमा नाचगान गरेका भिडियो अहिले सामाजिक संजालमा चर्चाको विषय बनेको छ ।
पूर्वराजा ज्ञानेन्द्र ३० कात्तिक राति ठमेलस्थित नाइट क्लब लर्ड अफ ड्रिङ्कस (एलओडी) मा पुगेर परिवारसहित रमाइलो गरेपछि अहिले सो भिडिओ भाइरल बनेको छ ।
एलओडीले फेसबुकमार्फत सार्वजनिक गरेको तस्वीर र भिडियोमा पूर्वराजा ज्ञानेन्द्र र परिवारले क्लबमा रमाइलो गरेको देख्न सकिन्छ ।
क्लबमा ज्ञानेन्द्रकी बुहारी हिमानी शाह र छोरी प्रेरणा शाह पनि पुगेका थिए ।
'जंगी निशान हाम्रो' गीतमा राजा ज्ञानेन्द्र, हिमानीले दर्शकलाई अभिवादन गर्दा नाचेको देख्न सकिन्छ ।
भिडियो सार्वजनिक भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्रले नाइट क्लबमा नाचगान गरेको भिडिओ ट्वीट गर्दै त्यसलाई राप्रपाले परिकल्पना गरेको 'राजासहितको लोकतन्त्रको एक उपमा' भएको दाबी गरेका छन् ।
उनले भनेका छन्, 'राप्रपाले परिकल्पना गरेको राजा सहितको लोकतन्त्रको एक उपमा । जनताको राजा, नागरिक राजा । जनताको सुखमा रमाउने, दु:खमा चिन्तित रहने, जनताको साथमा रहने । संबिधानको परिधिभित्र रहने, राष्ट्रियता र राष्ट्रिय एकताको प्रतिक-राजसंस्था ।'