• २०८१ बैशाख १४ शुक्रबार

महत्पूर्ण खेलाडी बिना नेपालले आज कुवेतको सामना गर्दै

kharibot

काठमाडौं । फिफा विश्वकप छनौटअन्तर्गत एसियाली राष्ट्रको छनोट खेलमा नेपालले आज मंगलबार कुबेतसँग प्रतिस्पर्धा गर्दैछ ।

भुटानको थिम्पुस्थित चान्ग्लिमिथांग स्टेडियममा खेलिने खेलमा नेपालको लक्ष्य कुबेतलाई रोक्नु रहेको छ ।

नेपाली टोलीका प्रशिक्षक योहान कालिनले टोलीका केही खेलाडीलाई बिर्सिएर राम्रो नतिजा ल्याउनेमा टोलीको ध्यान केन्द्रित भएको बताए । 

यसअघि कुबेतमा खेलिएको अवे खेलमा नेपाल कुबेतसँग ७–० गोलले पराजित भएको थियो ।

नेपालका लागि मंगलबार पुरानो गल्तीलाई सुधार गर्दै महत्वपूर्ण खेलाडी विमल घर्तीमगर, अञ्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङ बिना नै खेल्दै छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भुटान जानुअघि यी चार खेलाडीलाई टोलीबाट हटाएको थियो । यी खेलाडीले राति नाइट क्लबमा गएर मादक पदार्थ सेवन गरी झगडा गरेका कारण एन्फाले कारबाही गरेको हो ।

विश्वकप छनोटमा नेपाल समूह ‘बी’मा छ । समूहमा नेपालसहित कुबेत, जोर्डन, अस्ट्रेलिया र चाइनिज ताइपेई छन् ।

समूहमा अस्ट्रेलिया १२ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको कुबेतको सात अंक छ । समान अंक बनाएको जोर्डन तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको नेपालको तीन अंक छ। अंकविहीन चाइनेच ताइपेई अन्तिममा रहेको छ ।

नेपालले यसअघि चारवटै खेल सम्बन्धित देशमा खेलिसकेको छ । चार खेलमा नेपालले तीनवटा हार खेपेको छ । नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईलाई २–० गोलले हराएको थियो । उक्त खेलमा दुवै गोल गरेका अञ्जन विष्ट कुवेतविरुद्धको खेलमा कारवाहीमा परेका छन् ।

नेपाल तेस्रो खेलमा अस्ट्रेलियासँग ५–० गोलले पराजित भएको थियो । चौथो खेलमा नेपालले जोर्डनसँग ३–० गोलको हार बेहोरेको थियो । 

नेपालले अब चाइनिज ताइपेईसँग सन् २०२० को मार्च २६ मा, जोर्डनसँग सन् २०२० को जुन ४ मा र अस्ट्रेलियासँग सन् २०२० को मार्च ३१ मा दशरथ रंगशालामा खेल्नेछ ।

छनोट खेलका लागि एसियाली फुटबल महासंघ (एएफसी)ले एसियाका ४० देशलाई आठ समूहमा विभाजन गरेको छ । प्रत्येक समूहमा पाँच-पाँच टोली सहभागी छन् ।

होम एन्ड अवेका आधारमा खेलाइने खेलमा दोस्रो चरणको छनोटबाट आठवटै समूहका विजेता र चारवटा उत्कृष्ट उपविजेता गरी १२ टोली तेस्रो चरणका लागि छनोट हुनेछन् । तेस्रो चरणमा छनोट हुने टोलीले सन् २०२३ को एसियन कप पनि खेल्नेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै