• २०८१ बैशाख ८ शनिबार

धौलागिरिमा अत्याधुनिक मौसम उपकरणसहित पर्यटन सूचना केन्द्र स्थापना 

kharibot

गलेश्वर । विश्वकै सातौँ अग्लो हिमाल धौलागिरिको फेदीमा अत्याधुनिक प्रविधि जडित मौसम उपकरण र पर्यटन सूचना केन्द्र स्थापना भएका छन्। 

धौलागिरि गाउँपालिका–१ गुर्जामा पूर्वसूचनाका लागि स्वचालित मौसम उपकरण जडान गर्ने तयारी भएको र धौलागिरि हिमालको आधार शिविरमा पर्यटक सूचना केन्द्र सञ्चालनका लागि भवन निर्माण भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिएका छन्।

प्रजिअ ढकालका अनुसार जल तथा मौसम विज्ञान विभागले सदरमुकाम बेनीबाट करीब २६ कोष टाढा तथा भौगोलिकरुपमा विकट रहेको गुर्जामा हावा, वर्षाका साथै अन्य मौसमी जानकारी लिने गरी उपकरण जडानको तयारी गरेको छ। “आवश्यक उपकरणसमेत जिल्लामा भित्रिएको छ”, उनले भने, “प्राविधिकसहितको टोली गुर्जामा नै पुगेर जडान गर्ने छ।” 

केन्द्रबाट उपकरण जडानसहितका विषयमा विभागको टोलीले प्रजिअ ढकाललाई समेत भेटेर आफ्नो योजनाबारेमा जानकारी गराएका थिए। जिल्लाको दुर्गम क्षेत्र भएकाले पनि हावाको गती र वर्षाको अवस्थाका बारेमा जानकारी लिन सहज हुने बताइएको छ। 

मौसमी सूचना सङ्कलन गर्ने र सो सूचना इन्टरनेटको सहायता तथा अन्य माध्यमबाट समेत जानकारी पाउन सकिने बताइएको छ। मौसमजन्य प्रकोपको समयमा व्यवस्थापन र उद्धार कार्यमा सहज हुने गरी जिल्ला विपद् व्यवस्थापन समितिमार्फत सहकार्य गर्ने बताइएको छ।

\जलवायुजन्य प्रकोप जस्तै बाढी, चिसो र तातो अवस्थाको तापक्रम र वर्षाको सूचनाले पूर्वतयारीमा समेत सहज हुने बताइएको छ। गत वर्ष गुर्जा हिमालमा विदेशी आरोहीसहितको ज्यान गएपछि उक्त क्षेत्रको मौषमी जानकारी बारेमा चासो लिने गरिएको छ। 

त्यसैगरी म्याग्दीस्थित संसारको सातौँ अग्लो धौलागिरि हिमालको आधार शिविरमा पर्यटक सूचना केन्द्र सञ्चालनका लागि भवन निर्माण भएको छ।
धौलागिरि गाउँपालिकाले पर्यटकको तथ्याङ्क र विवरण राख्न, आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन र सूचना उपलब्ध गराउने उद्देश्यले सूचना केन्द्र स्थापना गर्न लागेको हो।

गण्डकी प्रदेशको उद्योग, वन तथा पर्यटन मन्त्रालयको रु ३१ लाखको सहयोगमा तीन कोठे भवन निर्माण भएको गाउँपालिकाका प्राविधिक बालकृष्ण पौडेलले बताए। भवनमा रङरोगन र फर्निचर व्यवस्थापन गरेर आगामी यामदेखि सूचना केन्द्र सञ्चालन गर्ने तयारी गरेको धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिए। 

सूचना केन्द्रबाट हिमाल आरोहण तथा पदयात्रामा आउने पर्यटकको तथ्याङ्क राख्ने, सूचना प्रदान र प्राथमिक उपचार सेवा उपलब्ध गराइने उनले बताए।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै