• २०८१ बैशाख १३ बिहीबार

इमर्जिङ कपको चिरफार : पारस र सन्दीप बिना निराशाजनक प्रदर्शन

kharibot

काठमाडौं । नेपाली टोली बंगलादेशमा जारी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ ।

लिग चरणको आफ्नो अन्तिम खेलमा सोमबार आयोजक बंगलादेशसँग आठ विकेटले पराजित भएपछि नेपाली टोली प्रतियोगिताबाट बाहिरिएको हो । समूहगत चरणको तीनमध्ये नेपालले एक खेलमा जित हात पार्‍यो भने दुई खेलमा पराजय भोग्यो ।

नेपालले शनिबार भएको खेलमा हङकङलाई ४० रनले हराएको थियो । सो खेलमा नेपालका शरद भेषावकरले ८९ रन बनाएका थिए । आफ्नो पहिलो खेलमा नेपाली टोली भारतसँग सात विकेटले पराजित भएको थियो । समूह ‘बी’ मा दुई अंकसहित नेपाल तेस्रो भयो भने तिनै खेलमा पराजित भएर हङकङ चौथो स्थानमा रह्यो ।

जारी प्रतियोगितामा नेपालको ब्याटिङले सबैलाई निराशा बनायो । सबै भन्दा बढी निराश कप्तान ज्ञानेन्द्र मल्लको प्रदर्शन रहन पुग्यो । तीन खेलमा दुई खेलमा शुन्यमा आउट भएका ज्ञानेन्द्र बंगलादेशविरुद्ध २२ रन बनाएर आउट भए । 

त्यस्तै धेरै जसो उपल्लो क्रमका ब्याट्सम्यानले नेपाललाई निराश नै बनाए । हङकङविरुद्ध शरद भेस्वाकरको ८९ रन बाहेको उपल्लो क्रमका ब्याट्सम्यानले निराश नै बनाए । कप्तान ज्ञानेन्द्रसहित आरिफ सेख, कुशल भुर्तेल, शरद भेस्वाकर विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी सबैको प्रदर्शन खाराब देखियो । लामो समयपछि पुर्व कप्तान पारस खड्का बिना खेलेको नेपाली टिममा पारसको कमि त प्रष्टसँग खलेको देखियो ।

ब्याटिंगमा सिनियर खेलाडीले जिम्मेवारी लिएर खेलेको देखिएन । टिम नेतृत्वको अवसर पाएका ज्ञानेन्द्रले यो अवसरको सदुपयोग गर्न सकेनन् । यसले उनको नेतृत्व क्षमतामाथि र खेलाडीको रुपमा समेत टिममा प्रश्न उठेको छ । लामो समयदेखि ज्ञानेन्द्रले ठुलो स्कोर बनाउन सकेका छैनन् । पछिल्ला १० इनिंगको कुरा गर्ने हो भने ज्ञानेन्द्रले बंगलादेशविरुद्ध २२, हङकङ र भारतविरुद्ध शुन्य, एमसिसिविरुद्ध शुन्य, ६ र १०, त्यस्तै टी-२० खेलमा सिंगापुरविरुद्ध ३९, कुवेतविरुद्ध १९ र मलेसियाविरुद्ध ५१ रन छ । त्यस्तै कतारविरुद्ध २३ रन बनाएका छन् । यसबाट नेपाली क्रिकेटमा एउटा खेलाडीलाई कहिलेसम्म अवसर दिने भन्ने प्रश्न उठेको छ ।

त्यस्तै शरद भेस्वाकरको प्रदर्शन समेत खास देखिएको छैन । हङकङविरुद्धको ८९ रन उनको पछिल्ला १० इनिंगमा सर्वाधिक रन हो । पार्टटाइम बलिङसमेत गर्ने शरदले आफ्नो क्षमता अनुसार प्रदर्शन गर्न नसक्दा टिमलाई पटक पटक नोक्सानी बेहोर्नु परेको छ । पछिल्ला १० इनिंगमा शरदले १, ८९, ४४, ४, १५, २४, ७, ३८, ३, ७ र ४० रन बनाएका छन् ।

अर्को चिन्ताजनक अवस्था दिपेन्द्र सिंह ऐरीको प्रदर्शन रहेको छ । उत्कृष्ट क्षमता भएका दिपेन्द्रको खराब फर्मले पनि नेपाली टिमको प्रदर्शनलाई निकै असर गरेको छ । दिपेन्द्रले इमर्जिङ कपमा ६, ३७ र २४ रन बनाए । पछिल्ला १० इनिंगमा दिपेन्द्रको प्रदर्शन निराशाजनक नै रहेको छ । उनले ६, ३७, २४, १, ०, २३, ११, १९, ८, ६, ४ रहेको छ । यो मध्यक्रमको ब्याट्सम्यानको निकै खराब प्रदर्शन हो ।

त्यस्तै लगातार अवसर पाएर खराब प्रदर्शन गरिरहेका अर्का ब्याट्सम्यान हुन् आरिफ सेख । शेखले इमर्जिङ कपमा पनि निराश नै बनाए । उनले बंगलादेशविरुद्ध ११ रन बनाए भने हङकङविरुद्ध ४२ र भारतविरुद्ध २ रन मात्र बनाए । यस अघिको आरिफको प्रदर्शन हेर्ने हो भने एमसीसीविरुद्ध ४, १०, १९ र २३ रन बनाए । त्यसअघि खेलेका टी-२० खेलमा ओमानविरुद्ध २०, आयरल्याण्डविरुद्ध २६, नेदरल्याण्डसविरुद्ध २ र हङकङविरुद्ध २१ रन बनाए । मध्यक्रममा निकै आशा गरिएका आरिफको यो प्रदर्शन पनि नेपाली टिमको सफलतामा बाधक बनेको छ ।

प्रतियोगितामा बलिङतर्फ सन्दीप लामिछानेको कमि अवश्य खल्यो । सन्दीप बिनाको बलिङ युनिटले जित निकाल्ने तहको बलिङनै गर्न सकेन । करण केसी र सोमपाल कामीको नेपाली क्रिकेटमा योगदान यस प्रतियोगितापछि झन् बढेर गयो । उनीहरुले ब्याटिंगमा गर्ने अमुल्य सहयोगको टिमले फाइदा उठाउन सकेन । बलिङतर्फ करणले तीन खेलमा ५ विकेट लिए भने तीन खेलमा १८, ७ र २० रनको योगदान दिए । त्यस्तै सोमपालले दुई खेल खेल्दै विकेट विहिन भएपनि बंगलादेशविरुद्ध ३८ रन बनाएर सर्वाधिक रनकर्ता बने ।

यसरी समग्रमा नेपालको प्रदर्शन औसतभन्दा निकै कम नै देखियो । पारस खड्का र सन्दीप बिनाको टिम अपुरो नै देखियो । जेसुकै कारणले उनीहरुले टी-१० लिग रोजेका भएपनि राष्ट्रिय टिम खेल्दा फ्रेन्चाईजी लिग खेल्नुको असर राष्ट्रिय टिमको प्रदर्शनमा खुलेर नै देखियो । टिम व्यवस्थापन र क्यानले यो विषयको तालमेल मिलाउनै पर्ने देखिन्छ ।

अर्को पक्ष नेपाली राष्ट्रिय टिमलाई अहिले भारतीय कोच उमेश पटवालले प्रशिक्षण दिएका छन् । तर  उनको आगमनले नेपाली ब्याट्सम्यानको प्रदर्शनमा सुधार भएको जस्तो देखिदैन । विदेशी कोच आउदा टिमले फाइदा उठाउन नसकेकोको हो वा कोचको क्षमतानै यस्तै हो प्रश्न गर्ने बेला भएको छ । टी-२० विश्वकपको एशिया छनौटबाट बाहिरिनु, इमर्जिङ कपको निराशाजनक प्रदर्शन होस् या यस अघि ओमानमा खेलेको टी-२० सिरिजको प्रदर्शन होस् अब कोचमाथि प्रश्न उठ्नुपर्ने बेला भएको छ ।  

प्रतियोगिताको सेमिफाइनलमा बुधबार भारतले पाकिस्तान र बिहीबार बंगलादेशले अफगानिस्तानको सामना गर्नेछन् । फाइनल खेल शनिबार खेलिनेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै