• २०८१ बैशाख ८ शनिबार

डडेल्धुरामा मलेरिया रोगको प्रकोप बढ्दै

kharibot

अमरगढी । डडेल्धुराको भित्रि मधेश जोगबुडा क्षेत्र परशुराम नगरपालिकाका दुई वटा वडामा मलेरिया रोगका बिरामी भेटिएका छन्।

परशुराम नगरपालिका– ६ र ७ का स्थानीयवासी बिरामी भई स्वास्थ्य संस्थामा जचाउन पुगेकाको रगत परीक्षण गर्दा औलो भेटिएको पुष्टि भएको साँदनी स्वास्थ्यचौकिका प्रमुख जयबहादुर धामीले बताए।

करीब दुई साता अघि सो स्वास्थ्यचौकीमा पुगेका बिरामीमा मलेरियाका लक्षण देखापरेको उनले बताए। दुई सातादेखि फैलिएको मलेरियाको सङ्क्रमणबाट हालसम्म १० जना बिरामी सङ्क्रमित भई निःशुल्क औषधि सेवन गरिरहेका छन्।

दुई साताअघि पहिलो पटक वडा नं– ६ को रामपुर गाउँका एकजना स्थानीयवासी सङ्क्रमित भएका थिए। मलेरिया रोगको प्रकोप वडा तहमा दिनानुदिन बढ्दै गएकाले यसबारे जोगबुडा अस्पताल र जिल्लास्थित स्वास्थ्य कार्यालयमा समेत खबर गरिसकेको स्वास्थ्यचौकी प्रमुख धामीले बताए।

पछिल्लो समयमा स्वास्थ्यकर्मीको टोलीले सङ्क्रमण रहेको सम्भावित रामपुर, भोरकुण्डा, थालिगडा, ठूलागडा लगायतका क्षेत्रमा खोजी गरिरहेका छन्। साथै हाल स्थानीयवासीलाई जनचेतनाका सन्देश दिइरहेको पनि स्वास्थ्य प्रमुख धामीको भनाइ छ।

सामान्यतया औलो रोग परजीवी भएको लामखुट्टेले टोकेको १०–१५ दिनभित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्नी दुख्ने, असजिलो महशुुस हुने जस्ता सामान्य लक्षण देखा पर्दछन्। निरन्तर वा दिन बिराएर ज्वरो आउने, शरीरका महत्वपूर्ण भित्री अङ्ग फियो, कलेजो सुनिने, शरीरमा रगतको मात्रा कमी हुने तथा परजीवीको प्रकृति अनुसार विभिन्न लक्षण तथा समस्या देखिने गर्दछन्।

पोथी एनोफेलेस जातिको लामखुट्टेले टोकेपछि सर्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्न स्थानीयवासीलाई स्वास्थ्यकर्मीको सुझाव छ। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै