• २०८१ बैशाख ७ शुक्रबार

५० हजार ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण गर्न बाँकी

kharibot

काठमाडौँ । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालयमा झण्डै ५० हजार कार्ड वितरण गर्न बाँकी रहेको छ। धेरै चालकले अनुमतिपत्र नपाएको गुनासो गरिरहँदा छापिसकेको चालक अनुमतिपत्र भने लिन सेवाग्राही कार्यालय पुगेका छैनन्। 

छापिसकेका कार्ड लिन सेवाग्राही नआउँदा कार्यालयलाई व्यवस्थापन गर्न कठीन भएको प्रमुख डम्मरबहादुर चन्दले बताए। उनका अनुसार दैनिक सेवाग्राही कार्ड लिन आउँदा तीनै कार्ड पल्टाएर खोज्नुपर्नै अवस्था छ। दुई वर्ष वा त्योभन्दा पहिले छापिएका कार्डसमेत कार्यालयमा त्यसै थन्किएको छ। उनले भने, “हामीले विभिन्न माध्यमबाट जानकारी गराउँदा पनि सेवाग्राही लिन आइरहेका छैनन्।”

कार्यालयमा एकाथरी सेवाग्राही कार्ड नछापिएको भन्दै गुनासो गर्न आइपुग्ने गरेका छन्। उनीहरु दैनिक ‘मेरो कार्ड छापियो कि छैन’ भन्दै आउने गरेका छन् भने कार्ड छापिसकेका सेवाग्राही लिन नआउँदा व्यवस्थापन गर्न कठिन हुने गरेको चन्दको भनाइ छ। देशभरमा झण्डै साढे सात लाख चालक अनुमतिपत्र छाप्न बाँकी रहेको यातायात व्यवस्था विभागले जनाएको छ। 

त्यसमध्ये सबैभन्दा बढी सङ्ख्यामा चालक अनुमतिपत्र वितरण गर्न बाँकी यही कार्यालयको रहेको छ। कार्यालयले विभागले छापिसकेको कार्ड दैनिक ल्याएर सकेसम्म चाँडो वितरण गर्दै आएको कार्यालयले जनाएको छ। उनले भने, “उताबाट छाप्नै बाँकी कार्ड किन नछापेको भन्दै सेवाग्राही हामीसँग रिसाउने गरेका छन्।”

संविधानका अनुसार यातायातको व्यवस्थानको जिम्मेवारी प्रदेश सरकारको हो। प्रदेश सरकार आफैँले ‘प्रिन्टर’ खरीद गरेर छपाइ गर्न शुरु नगरेकाले अहिलेसम्म विभागले नै देशभरका प्रदेश कार्यालयको चालक अनुमतिपत्र छाप्दै आएको छ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै