• २०८१ बैशाख ७ शुक्रबार

रोशनको पौरखले उज्यालो काठमाडौँ 

kharibot

काठमाडौँ । २०४४ सालमा आमा सुमन र बुवा शिवशंकर श्रीवास्तवको जेठा छोराको रुपमा रौतहटमा जन्मिएका हुन् रोशन श्रीवास्तव । सानामा उनी एकदमै चञ्चले र बदमास स्वभावका उनी बाल्यकाल भन्नेबित्तिकै स्कुल बंक गरेको र आफू बदमास भएको सम्झिन्छन् ।

 आफ्नो बाल्यकाल सम्झिँदै उनी आफूलाई मन पर्ने कुरा छिमेकी घरमा भए पनि चोरेर खान्थे । सानैदेखि रमाइला उनले फट्याइँका कारण बुबाको हातबाट पिटाइ समेत खान्थे । उनको पढाइ मध्यमस्तरको थियो । तर पनि उनी कहिल्यै फेल भने भएनन् । उनले एमएसम्मको अध्ययन गरेका छन् ।

जीवनमा धेरै संघर्ष गरेका उनको ठूलो परिवार बुवाको मास्टरी तलबमा भर पर्दथ्यो । त्यसकारण घरव्यवहार चलाउन समस्या थियो । दिदीको विवाहमा दाइजो दिँदा घरमा आर्थिक समस्या परेको र उनले कलेजमा फि बुझाउन नसक्दा परीक्षा हलबाटै गलहत्याइएको अनुभवले उनलाई जीवनमा केही गर्नुपर्छ भन्ने सोच्न बाध्य बनायो ।  
१४ वर्षयता विज्ञापन क्षेत्रमा काम गरिरहेका उनले नै सबैभन्दा पहिला ट्राफिक उभिने ठाउँ बनाएका हुन् ।

यसबाहेक उनले उपत्यकालाई झिलीमिली बनाइदिएका छन् । लगनशीलता र मिहिनेतको परिणामले गर्दा उनले सयभन्दा बढी युवालाई रोजगारी समेत दिएका छन् । रोशन श्रीवास्तवले काठमाडौँ महानगरपालिको उज्यालो अभियानसँगै भक्तपुर र ललितपुरमा समेत काम थालिसकेका छन् । आफ्नै लागतमा काम थालेका उनले हालसम्म ८० करोडभन्दा बढी लगानी गरिसकेका छन् । आफ्नो मिहिनेतले काठमाडौँ झिलीमिली भएको देख्दा जनता मात्र नभएर उनी आफू पनि दङ्ग परेको बताउँछन् । उनी सधैँजसो राति १०÷११ बजे सहर घुम्छन् । आफ्नो पौरख नियाल्छन् र मनमनै आनन्द लिन्छन् ।

उनले धेरै सफलता हात पारिसकेका छन् । यो कामलाई उनी काठमाडौँ उपत्यका मात्र नभएर अरु सहरमा समेत लान चाहन्छन् ।  उनी भन्छन्, ‘अहिलेसम्म सफल भएको छु ।’ पोखरा, बुटवल, भैरहवा समेत लाने सोचमा रहेका उनी जनताले साथ दिनेमा आशावादी छन् । उनले यति गर्नकै लागि सरकारको सहयोग लिएका छैनन् ।
नेपालकै स्रोत, साधन, नेपालकै माटो र नेपालमा केही गर्ने उद्देश्यसहित समृद्ध नेपाल बनाउने सोचका साथ लागिपरेका छन् उनी ।

अबको नेतृत्व युवाले गर्नुपर्छ

रोशन श्रीवास्तव युवा उद्यमी हुन् । उनलाई युवाले नै देश बनाउँछन् भन्ने लाग्छ । उनी भन्छन्, ‘अबको देश विकासको लागि युवाको ठूलो भूमिका हुन्छ, अब देश बनाउने जिम्मा युवाकै हो । युवाहरु बाध्यताले विदेश पलायन भएका छन्, त्यसलाई रोक्नुपर्छ ।’ योग्यता, क्षमता र दक्षताको आधारमा स्वदेशमा नै रोजगार पाउनुपर्छ भन्ने लाग्छ उनलाई । उनी  स्वदेशमा नै अवसर रहेको बताउँछन् ।

कान्तिपुरको अन्तर्वार्ताले धेरै बधाइ पाएँ

उनले गरेको उन्नतिबारे कसैले वास्ता गरेका थिएनन्, जब उनको अन्तर्वार्ता छापियो त्यसपछि घरमा बधाई दिनेको घुइँचो नै लाग्यो । उनलाई बधाई दिन घरमै सबै खादा र बोकेर आइपुगे । तर यो आफ्नो यो सबै सफलताको पछाडि उनी भने बाबुको नाम जोड्छन् । भन्छन्, ‘यो सफलताको पछाडि मेरो बुबाको ठूलो हात छ । बुबाको हरेस खानुहुन्न भन्ने हौसलाले नै यहाँसम्म आएँ ।’ पहिला फलानाको छोरो भन्ने उनलाई हेर्ने समाजको दृष्टिकोण बदलिएको छ । अहिले अरुले फलानाको बाबु भनेको सुन्न पाएका छन् उनले ।

सुख/दुःख

युवाउद्यमी श्रीवास्तवले जीवनमा धेरै संघर्ष गरेका छन् । उनको जीवनको सबैभन्दा खुसीको क्षण उनको भाइ एमबीबीएस पढ्नको लागि बंगलादेश जाँदाको हो । बाबुको छोरो डाक्टर बन्ने सपना उनले पूरा गर्न नसके पनि उनका भाइले पूरा गर्दै थिए ।

दुःखको क्षण सम्झिँदा उनलाई सानोमा फि तिर्न नसक्दाको क्षण सम्झिन्छन् । जतिबेला उनले पैसाकै कारण परीक्षा हलबाट निस्किनुपरेको थियो ।

केटाको मूल्य तोकिन्छ !
 

श्रीवास्तव तराईमा जन्मिएका हुन् । त्यसले गर्दा पनि उनले तराईकै संस्कार संस्कृति मनाउँदै आए । तराईमा दाइजोप्रथा भएकाले विवाहको समयमा केटाको मूल्य तोकिने भएकाले समस्या भएको उनको भनाइ छ । भन्छन्, ‘दाइजो प्रथा रोक्न धेरै कोसिस गरेँ तर सकिनँ ।’

अन्तर्जातीय विवाह दाइजोविना गर्छु
 

श्रीवास्तव अविवाहित हुन् । उनी तराईमा व्याप्त दाइजोप्रथाबाट दिक्क छन् । समाज परिवर्तन गर्नकै लागि पनि अन्तर्जातीय विवाह गर्न चाहेको बताउँछन् । भन्छन्, ‘समाज परिवर्तन गर्न आवश्यक छ, यसको लागि म दाइजोविनाको अन्तर्जातीय विवाह गर्न चाहन्छु ।

पुस्तक पढ्न रुचि

उनी धेरै व्यस्त छन् । व्यस्त भएकै कारण उनले धेरै पटक खाना खान पाएका छैनन् । तर पनि उनी आफू खाली भएको समयमा पुस्तक तथा पत्रपत्रिका पढ्ने समय निकाल्छन् । उनी समय निकालेर सबै पत्रिका पढ्छन् नै । त्यस्तै ऐतिहासिक पुस्तक पनि उनको रोजाइमा पर्छ । पुराना गीत संगीत पनि उनको रोजाइमा पर्छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै