• २०८१ बैशाख १३ बिहीबार

२९ बर्षमा १५ करोडको सम्पत्ति जोडेका मालपोतका सुब्बाविरुद्ध मुद्धा दायर

kharibot

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय सिमरामा कार्यरत नायब सुब्बा मदनप्रसाद गुप्तासहित नौ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

पदीय दुरूपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले गुप्ताका परिवारसहितलाई झन्डै पन्ध्र करोड बिगो माग्दै मंगलबार अदालतमा मुद्दा दायर गरेको हो ।

भ्रष्टाचार मुद्दामा गुप्ता, श्रीमती रिता देवी, छोरा विक्की गुपुता र रकी गुप्ताको नाममा उनले सम्पत्ति राखेको पाइएपछि उनीहरूलाई पनि प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ ।

त्यस्तै आफन्त कविता कुमारी, निरजकुमार गुप्ता राजेशकुमार गुप्ता, जुगुली प्रसाद र जगतनारायण यादवलाई पनि प्रतिवादी कायम गरिएको छ ।

अख्तियारका अनुसार २०४७ सालमा जागिर सुरू गरेका गुप्ता २०६४ सालमा नायब सुब्बा भएका थिए । अख्तियारले अनुसन्धानका क्रममा २०७६ सालसम्ममा अस्वभाविक आय आर्जन गरेको देखिएको जनाएको छ ।

अनुसन्धानको क्रममा संकलित तथ्य प्रमाणहरूबाट गुप्ताले आफू तथा आफ्नो परिवारका सदस्यलगायतको नाममा दर्ता कायम रहने गरी घर, जग्गा, सवारीसाधन, व्यवसायमा खर्च लगानी गरेको पाइएको अख्तियारले जनाएको छ ।

अनुसन्धान अनुसार गुप्ताले परिवारका सदस्यहरूका नाममा घर खरिद तथा निर्माणमा ४ चार करोड ८ लाख ७१ हजार रुपैयाँ खर्च गरेको देखिएको छ ।

परिवारका सदस्यका नाममा जग्गा खरिदमा ९० लाख १४ हजार एक सय, बैंक तथा वित्तीय संस्थाको कर्जा र कर्जा चुक्तामा तीन करोड २७ लाख ४५ हजार १२, पुँजीगत लगायतका कर शीर्षकमा ९ लाख ७० हजार २६०, सवारीसाधन खरिदमा २७ लाख ६२ हजार पाँच सय रुपैयाँ खर्च भएको देखिएको छ ।

पार्वती स्टेशनरी, गायत्री निशान अटो कर्प प्रा.लि., नेपाल रोडसाइड एसिस्टेन्स समेतका व्यवसायमा ७१ लाख रुपैयाँ लगानी, सापटी दिएको ४३ हजार ५, पारिवारिक लालनपालनलगायत अतिरिक्त खर्च, शैक्षिक खर्च, सुन चाँदी खरिद, विद्युतीय उपकरण, छोरा विक्की गुप्ताको विवाह लगायतमा ६१ लाख खर्च गरेको पाइएको छ । 

त्यस्तै परिवारका सदस्यबाहेक अन्य व्यक्ति कविता कुमारी, राजेशकुमार गुप्ता, इन्दिरादेवी काफ्ले लगायतका नाममा दर्ता कायम रहने गरी खरिद गरी राखेका घर र जग्गामा पाँच करोड २७ दाख ८९ हजार पाँच सय, निरजकुमार गुप्ताको नाममा सवारीसाधन जिप खरिदमा ४० लाख, राजेशकुमार गुप्ताको नाममा निशान ट्रेडर्स (पेट्रोल पम्प)मा लगानी ४० लाख लगानी गरेका छन् । गुप्ता आफ्नो र अन्यका नाममा सञ्चालित विभिन्न बैंक खाताहरूमा दुई करोड पचासी लाख २८ हजार ८९२ मौज्दात देखिएको छ ।

‘यसरी हेर्दा निजको तलब, पारिश्रमिक, बचत आय, घर जग्गा विक्री, विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा, छोरा राकीको आय, घरबहालसेमत गरी चार करोड ५४ लाख ७४ हजार २४६ रुपैयाँ वैध आर्जन भएको देखिन्छ,’ अख्तियारको अभियोगपत्रमा भनिएको छ ।
उनले पदमा रहँदा १४ करोड ८१ लाख ८९ हजार २३ रुपैयाँ बराबरको सम्पत्ति जोडेको र त्यसको स्रोत नखुलेको पाइएको अख्तियारले जनाएको छ ।

‘निजले राष्ट्रसेवक भएपश्चात के कस्तो स्रोतबाट सम्पत्ति आर्जन गरेको हो भन्ने कुराको स्रोत पुष्टि गर्न नसकेबाट गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी साबिक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ एवम् प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेको पुष्टि हुन आएकोले निज मदनप्रसाद गुप्ताउपर बिगो १४ करोड ८१ लाख ८९ हजार २३ कायम गरी बिगो बमोजिम जरिवाना र कैद सजायको माग गरिएको छ,’ अख्तियारको अभियोग पत्रमा उल्लेख छ ।

यस्तै, गैरकानुनी रूपमा आर्जन गरेको आफ्नो र परिवार तथा आफन्तका नाममा राखेको सम्पत्तिको बिगो १४ करोड ८१ लाख ८९ हजार २३ रुपैयाँ जफतसमेत गर्ने प्रयोजनको लागि गुप्ताका परिवार तथा आफन्तलाई मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै