• २०८१ बैशाख ४ मंगलबार

अल्बानिया भूकम्पमा मृतकको संख्या ४० पुग्यो, जीवित उद्धारको सम्भावना क्षीण 

kharibot

फाइल तस्बीर

डुरेस, अल्बानिया । अल्बानियामा दुई दिन पहिले गएको भूकम्प र त्यसपछिका पराकम्पनका कारण घर तथा भवनहरू भत्किएर भग्नाबशेषमा पुरिएका व्यक्तिहरूलाई जीवितै उद्धार गर्नसकिने सम्भावना क्षीण भएको अधिकारीहरूले बताएका छन् ।

स्थानीय समय अनुसार मङ्गलबार बिहानै ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि एकभन्दा साना ठूला पराकम्पनहरू गएका छन् । अल्बानिया सरकारले बुधबार तिराना र डुरेसमा आपतकालीन स्थितिको घोषणा गरेको छ । यी दुई क्षेत्र भूकम्पका कारण सर्वाधिक प्रभावित भएका छन् । 

अल्बानियाको राजधानी तिरानाबाट ३३ किलोमिटर पश्चिममा रहेको बन्दरगाह शहर डुरेसमा भूकम्पका कारण सबैभन्दा बढी भौतिक तथा मानवीय क्षति भएको बताइएको छ । बुधबार राति भग्नाबशेषबाट छ मृत शरीर निकालिएसँगै मृत्यु हुनेको सङ्ख्या ४० पुगेको सरकारले जनाएको छ ।

सरकारले भग्नाबशेषमा गरिएको उद्धारबाट कसैलाई जीवित पाउनसक्ने विश्वास क्षीण भएको छ । यद्यपि डुरेसमा उद्धार खोजी जारी राखिएको छ तर देशका अन्य भागमा भने भूकम्पपछि वेपत्ता भएका भनिएका सबैलाई जीवित तथा मृत अवस्थामा भेटिसकिएको भन्दै उद्धारको काम रोकिएको छ ।

अल्बानिया भूकम्पका कारण ६५० जनाभन्दा बढी घाइते भएका छन् भने घर तथा आवास भत्किएका कारण करिब दुई हजार १०० नागरिकले दुई दिनदेखि पालमुनि रात विताउन बाध्य भएका बताइएको छ ।

अधिकारीहरूका अनुसार शक्तिशाली भूकम्पपछि पनि पाँच म्याग्निच्युडका पराकम्पन आउँदा थप घरहरू भत्किने क्रम जारी हुँदा उद्धार प्रयासमा समेत जटिलता उत्पन्न भएको छ । 

बाल्कन मुलुकमा गएको भूकम्पमा छिमेकी यूरोपेली मुलुकहरूबाट खोजी तथा घरबारबिहीनलाई राहत तथा सहयोग पु¥याउने काम भएको छ । भूकम्पपछि तत्काल उक्त क्षेत्रमा उद्धारकर्मी, उद्धारका लागि विशेष सामग्री, तालिमप्राप्त कुकुर तथा आपतकालीन सामग्रीहरू आपूर्ति गरिएको थियो ।

अल्बानियाका अधिकारीले क्षति भएका घर तथा भवनहरूमा प्राविधिक (इन्जिनियर)ले परीक्षण नगरेसम्म प्रवेश नगर्न आग्रह गरेका छन् । 

अल्बानियाका रक्षामन्त्री ओल्टा झाखाले बुधबार अपराह्न पत्रकार सम्मेलन गरी यस शक्तिशाली भूकम्पबाट मृत्यु भएका व्यक्तिको नाम पढेर सुनाएका थिए । उनले भूकम्पका कारण ६५७ जना घाइते भएका र ५० जनाभन्दा बढीलाई उद्धार गरिएको र उद्धार कार्य जारी रहेको पनि जानकारी दिए ।

रक्षामन्त्री झाखाले निकै क्षतिग्रस्तको निरीक्षण गर्न प्राविधिक खटाइने बताउँदै केही दिन शान्त रहन अपिल गरे । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै