कास्की । शनिबार सम्पन्न उपनिर्वाचन अन्तर्गत एकमात्र प्रतिनिधिसभा सदस्यका लागि भएको कास्की–२ को मतगणना जारी रहेको छ ।
पछिल्लो मतगणना अनुसार कास्की-२ मा नेकपाकी उम्मेदवार विद्या भट्टराईले अग्रता बढाएकी छन् ।
प्राप्त मतपरिणाम अनुसार नेकपाकी उम्मेदवार विद्या भट्टराईले ८५३६ मतको अग्रता बनाएकी छन् । भट्टराईले अहिलेसम्म २० हजार ७९७ मत पाएकी छन् भने नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले १२ हजार २६१ मत प्राप्त गरेका छन् ।
त्यस्तै समाजवादी पार्टीका धर्मराज गुरुङले १५०३ मत प्राप्त गरेका छन् भने राप्रपाका रोम बहादुर भण्डारीले १००६ मत प्राप्त गरेका छन् । त्यस्तै साझा पार्टीका रजनी केसीले ६२६ मत पाएकी छन् ।
२०७४ सालको निर्वाचनमा नेकपाका रवीन्द्र अधिकारीले कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मत अन्तरले पराजित गरेका थिए । अधिकारीले २७ हजार २ सय ७ र चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए ।
अब तीन वडा (८, ७ र ४) का करिब १० हजार मत गणना गर्न बाँकी रहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।