• २०८१ बैशाख ८ शनिबार

उपनिर्वाचनमा हारपछि साझाले 'भुइँयात्रा' अभियान चलाउने

kharibot

काठमाडौँ । उपनिर्वाचनमा लज्जास्पद हारपछि साझा पार्टीले 'साझा भुइँयात्रा' अभियान चलाउने भएको छ । पार्टीका प्रवक्ता सूर्यराज आचार्यले एक विज्ञप्ति जारी गर्दै उपनिर्वाचनको नतिजालाई आफ्ना कमी-कमजोरीको समीक्षा गर्नुपर्ने सन्देशका साथै मुलुकको राजनीतिक धरातलको थप परीक्षणका रूपमा लिएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, 'साझा पार्टीले उपनिर्वाचनको नतिजालाई आफ्ना कमी-कमजोरीको समीक्षा गर्नु पर्ने सन्देशका साथै मुलुकको राजनीतिक धरातलको थप परीक्षणका रूपमा लिएको छ। हिमालको टाकुरामा पुग्न उकालो मात्र होइन कहिलेकाहीँ ओरालो ओर्लिनु र अनेक अवरोधहरू पार गर्नु पर्ने हुन्छ। नेपाल रूपान्तरणको राजनीतिक यात्रामा हामी रणनीतिक दृढता र पार्टी निर्माणको परिष्कृत मार्गचित्रका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ ।'

साझाले पार्टीको सङ्गठन सञ्जाल बन्ने क्रममा नै रहेको र संगठनको अभावमा पार्टीको बारेका आधारभूत जानकारी जनता माझ राम्रोसंग सम्प्रेषण हुन सकेको उल्लेख गरेको छ ।

साझाले भनेको छ, ' पुराना दलको परम्परागत राजनीतिक अभ्यास पछिल्लो चरणमा मूलतः सत्ता-शक्ति, राज्य दोहन र भ्रष्टाचारमा निर्भर छ । विधिको शासन भत्काइएको छ । जनताले राज्यबाट पाउने आधारभूत सेवाका लागि दलका कार्यकर्ताको निगाह आवश्यक बनेको छ । गाउँ-टोलमा ठुला दलसँगको आबद्धता बिना सामाजिक जीवन बहिष्कृत हुने जोखिम छ ।'

साझाले यस निर्वाचनमा ‘मत’ नबदले पनि ‘मन’ बदलेर हामीप्रति आशा र भरोसा राख्ने ठुलो जमातले हाम्रो गतिविधिलाई नजिकबाट नियालिरहेको हामीले महसुस गरेका बताएको छ । साथै आफ्ना गल्ती-कमजोरीबाट पाठ सिक्दै आउँदा दिनहरूमा मतदाताको मन सँगसँगै मत पनि जितेर नेपाल रूपान्तरणको यात्रामा अघि बढ्न हामी कटिबद्ध रहेको उल्लेख गरेको छौँ ।

साझाले छिटै ‘साझा भुईंयात्रा’ को देशव्यापी राजनीतिक जागरण र नागरिक संवादको अभियानमा लागि पर्ने बताएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै