• २०८१ बैशाख ११ मंगलबार

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक बढे

kharibot

चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या बढेको छ। गत वर्षको चार महिनाको तुलनामा यस वर्ष पर्यटक आगमन वृद्धि भएको हो।

निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार गत वर्षको यसै अवधिको भन्दा यस वर्ष २६.८५ प्रतिशतले पर्यटक बढेका हुन्। तथ्याङ्क अनुसार गत वर्षको साउनदेखि कात्तिकसम्म ५४ हजार ६२३ पर्यटकले निकुञ्ज घुमेका थिए । यस वर्ष यो सङ्ख्या १४ हजार ६६९ ले बढेर ६९ हजार २९२ पुगेको छ।

वृद्धि भएको पर्यटकमध्ये नेपालीको सङ्ख्या बढी छ। गत वर्ष यस अवधिमा नौ हजार ८५५, सार्क मुलुकका पाँच हजार ३३१ र विदेशी ३९ हजार ४३७ जना रहेका थिए। यस वर्ष नेपालीको सङ्ख्या २४ हजार ४३५, सार्क मुलुकका छ हजार ५२७ र विदेशी ३८ हजार ३३० रहेका छन् जसमध्ये नेपालीको सङ्ख्या गत वर्षभन्दा १४ हजार ५८० ले वृद्धि भएको छ।

विदेशीको सङ्ख्या एक हजार १०७ घटेको छ भने सार्क मुलुकका पर्यटक एक हजार १९६ ले बढेको छ। नेपालीको सङ्ख्या बढे पनि विदेशी पर्यटक भने बढ्न सकेको छैन। गत आर्थिक वर्षमा एक लाख ७८ हजार १०९ पर्यटकले निकुञ्ज घुमेका थिए।

यसअघि भूकम्प र नाकाबन्दीपछि पर्यटकको सङ्ख्यामा निकै गिरावट आएको घिमिरेले बताए।

आव २०७१/०७२ मा एक लाख ७८ हजार २५७ पर्यटकले निकुञ्ज घुमेका थिए। निकुञ्जको इतिहासमा हालसम्मकै त्यो उच्च सङ्ख्या हो।

यस वर्षको चार महिनालाई हेर्दा र भ्रमण वर्ष मनाउन लागिएकाले चालू वर्षमा हालसम्मकै उच्च पर्यटक आउने अपेक्षा गरिएको छ।

चितवनमा मुख्यरुपमा निकुञ्जभित्र दुर्लभ वन्यजन्तु बाघ, गैँडाजस्ता जनावर हेर्न, राप्ती नदीमा डुङ्गा सयर र थारू संस्कृति हेर्न पर्यटक आउने गर्दछन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै