• २०८१ बैशाख ८ शनिबार

डर भनेको के हो ? कसरी भगाउने ?

kharibot

डर भनेको कुनै भयङ्कर वस्तु देखेर वा खराबीको आशङ्काले मनमा उत्पन्न हुने भाव; भय; र त्रास हो । खास दुखाई र खतराको संबेदनसिल अनुभवको भाव हो । डरको समानार्थी शब्द त्रास वा भय भन्ने हुन्छ । चिन्ताको अनुभूति हो-डर ।

डर प्रेमको उल्टो रुप हो । प्रेम घटदै जादा डर बढ्दै जान्छ । नकारात्मक सोचले डर पैदा हुन्छ । त्यस्तै प्रेम तलमाथी हुन्छ कि भन्ने शंसयले  डर पैदा गर्छ । भयानक दुर्घटना, अकल्पनीय अवस्था, प्राकृतिक बिपत्ति र भविष्यको चिन्ताले डर उत्पन्न हुन्छ । अबिश्वास र अस्थिरताले पनि डर पैदा गर्छ । डरले समय सन्दर्भसँगै आएको घटना, परिघटना, परिवर्तन र परिवर्तित सोचलाई मस्तिष्कले अवरोध गर्छ र अगाडी बढ्न दिदैन् ।

डरको थुप्रै प्रकार र प्रकृति हुन्छ । ब्याग्रताको भय, मृत्यु भय, असफलताको डर, अस्विकृतिको भय, उचाइको भय, पानीमा डुब्ने भय, मनको भय, जीवनको शून्यता, असुरक्षा, भविष्य, बर्तमान र भूतको डर आदि ।

डरले मस्तिष्क र शरीरमा नकारात्मक प्रभाव पार्दछ । खाना नरुच्ने, टोलाउने, टाउको दुख्ने, शरीर काम्ने, मुटु हल्लिने, बर्बराउने, हतास हुने आदि डरले गर्दा हुन्छ । डराएको मनले तीललाई पहाड र पहाडलाई तील बनाउन सक्छ । त्यही भएर शायद नेपोलियन हिलले, `मानिसको मानसिक अवस्था देखि बाहेक त्रास अरु केही चिज होइन´ भनेका हुन् । त्यो त्रासदेखि डराउनु आवश्यक छैन् मेरी क्युरी भन्छिन,"जीवनमा डराउनु पर्ने कुरा केही पनि छैन् । यो मात्र बुझ्नु पर्ने कुरा हो । यो समय धेरै बुझ्नुपर्ने समय हो । ताकी हामी डर कम गर्न सक्छौँ ।" डर लाग्यो भने कन्फुसियसले भनेजस्तै गर,"यदि तिमीले आफ्नै हृदय भित्र हेर्‍यौ भने त्यहाँ केही पनि गलत देख्दैनौँ । केका लागि चिन्ता गर्ने ? केका लागि डराउने ? यदि मस्तिष्क डरले ग्रस्त छ भने लुकानले भनेजस्तै गर,"ठूलो त्रासलाई सहासले शान्त गर्ने सकिन्छ ।" डर भगाउनका लागि बास्तबमा हामीले राल्फ इमर्शनको भनाई, "जे कुरामा डर लाग्छ त्यही गर, मृत्युको डर त निश्चित छदैछ नी" लाई उपयोग गर्नैपर्छ ।

प्लेटो भन्छ्न्,"अन्धकारसँग डराउने बालकलाई सजिलै क्षमा दिन सकिन्छ तर वास्तविक जीवनको त्रास त्यो हो जो उज्यालोसँग डराउँछ ।" हो, भनिन्छ नी `लड्न आटेको गाईलाई राम राम भन्न सकिन्छ तर काँध त हाल्न सकिँदैन ।´ फेरि नेल्सन मण्डेलाले भनेको पनि स्मरण होस्,"साहस भनेको डरको अनुपस्थिती होइन् तर डर माथिको विजय हो । जसले डरको महशुस गर्दैन् त्यो मानिस बहादुर होइन् तर त्यो मान्छे हो जसले डरलाई जित्छ ।"

डर सबैको मनमा उत्पन्न भएकै हुन्छ । कसैले स्वाभाविक लिन्छन् कसैले अस्वाभाविक लिन्छन् । कसैको डर क्षणिक हुन्छ, कसैको दीर्घकालीन, कसैले तत्कालै हटाउछ्ँन, कसैले हटाउन सक्दैनन् । कसैको डर सिमा भित्र हुन्छ भने कसैको सिमा पार हुन्छ । कसै कसैको डर जसरी आउँछ त्यसरी नै जान्छ । डर नै उत्पन्न नहुने त मान्छे हुन्न या सिद्ध पुरुष नै हुन्छ, शायद ।

डर त्यतिकै हानिकारक छ र फाइदाजनक पनि । किस्टोपर पाओलिनी भन्छ्न, "डर बिना साहस हुदैन् ।" हो, आखिर साहसको श्रोत डर नै हो । माहात्मा गान्धी भन्छ्न्,"डरको पनि उपयोग हुन्छ तर डरछेरुवाको हुदैन् । यसवाट बुझ्नुपर्छ कि त्यसलाई कसरी लिन्छ त्यसको परिणाम त्यस्तै हुन्छ ।"

हेलेन केलरले त्यतिकै भनेकी छैनन्,"दीर्घकालको लागि खतरावाट भाग्नु सुरक्षित होइन् जति धेरै पटक मानिसमा सहास उत्पन्न हुन्छ त्यतिनै धेरै त्रास पैदा हुन्छ ।" यो बुझ्दा यस्तो लाग्छ डर र सहास प्रत्यक्ष सम्बन्ध छ।फ्राङ्लिन रुजबेल्ट भन्छ्न्,"हामीले डराउनु पर्ने एउटा मात्र कुरा छ त्यो हो डर ।" मलाई पनि लाग्छ त्यो डर हटाउनु छ भने कन्फुसियसले भनेजस्तै काम गरेर डरलाई भगाउनु पर्छ । डर के ले ल्यायो त्यही काम गर्दा डर भाग्छ । तर त्यो काम कसरी गर्ने यसमा दुई तरिका छ्न् एक- दिमागलाई डर फ्री बनाउने र काम गर्ने ।

अर्को-जे देखि डर छ त्यही काम गर्ने डर भाग्छ । हेनरी फोर्ड भन्छ्न्," जुन काम डरले गर्न सकिँदैन त्यो काम नै गर्न सक्ने रुपमा प्राप्त गर्नु हो ।"

विलियम कङ्ग्रीव भन्छ्न्,"अनिश्चितताबाट डर उत्पन्न हुन्छ, हाम्रो मुल्य होस या नहोस भन्नेमा जब हामी निश्चिन्त हुन्छौँ, प्रायः डरबाट प्रभावित हुन सक्दैनौँ । त्यसैले मेरो भन्ने केन्द्र त्यागेर निश्चित हुनुको विकल्प छैन् । डेल कार्नेगी भन्छ्न्,"डरमाथी बिजय प्राप्त गर्न चाहान्छौँ भने घरमा बसेर यसबारेमा नसोच । बाहिर जाऊँ र ब्यस्त होऊ ।" हुनपनि कार्यलाई पूजा तथा आराधना मानेर प्रायः ब्यस्त हुनुको बिकल्प छैन् ।

डर स्वाभाविक संवेगात्मक प्रतिक्रिया पनि हो । यो उत्पन्न हुन्छ । हुनु पनि पर्छ । तर स्वभाविक छ कि अस्वभाविक भन्ने कुरा प्रधान हो । यो मनसंग सम्बन्धित छ । मनले घटाउन वा बढाउन सक्छ । नेपोलियन हिलले भनेजस्तै मानिसको मानसिक अवस्थाभन्दा बाहेक त्रास अरु केही पनि होइन् । ज्ञानले मात्र त्रास कहाँ हट्छ र ?  नत्र २०७२ सालको बैशाख १२ को भुकम्पपछि २९ गते भुकम्प कै बारेमा प्रशिक्षण दिइरहेका प्रशिक्षक पाचौं तलावाट आफै नभाग्नु पर्न हो तर त्यस्तो भएन । त्यहाँ डर हावी भयो । भन्न जति सजिलो त गर्न कहाँ हुनु ।

बुबा भन्नुहुन्थ्यो-एक बर्ष अगाडि घर छाउँदा खरसँगै मुठामा मरेको सर्पलाई एक बर्षपछि पुनः घर छाँउदा देखेर यसले पहिला पक्कै टोकेको थियो भन्ने डर र चिन्ताले शरीर दुब्लाउदै गएर मरेपछि चेक गर्दा सर्पको बीष शरीर भरी फैलिएको थियो रे ।

त्यस्तै जेलमा थुनिएको एउटा कैदिलाई भोलि ठिक १२ बजे विष खुवाएर मारिदैछ भनेपछी रातभरि बेचैन भएको कैदिलाई ठिक त्यही समय १ गिलास पानी लगेर दिइयो त्यो पियो र मर्‍यो । परिक्षणमा शरीरभरि विष फैलिएको पाइयो । यसले बनको बाघले खाओस कि नखाओस मनको बाघले खान्छ भन्ने चरितार्थ गर्छ । यसरी डरका यस्ता खतरनाक परीणामहरु हुन्छन् भन्ने पुष्टि भएको थियो ।

जबसम्म डर हुन्छ व्यक्ति संभवत: गम्भीर हुनसक्दैन् । रमाउन सक्दैन् । आनन्दको अर्थ के हो थाहा पाउदैन् । हो, डर जीवन कै एक हिस्सा हो तर दैनिक जीवनलाई असहज र प्रभावित नै पारेको छ भने सामना गरि भगाउनुको वा उपचार गर्नुको कुनै विकल्प छैन् ।

डरबाट बच्न रुमीले भनेजस्तै गरौँ- `शान्तिसँग बस्छु भन्ने सोचेर डरको दुविधाबाट बाहिर निस्कौ´ कि त हरम्यान मेल्भिलले भनेको `त्रासको जन्मदाता अनविज्ञतालाई तोडनुपर्छ´ कि डर एउटा शक्तिशाली पशु हो त्यसमाथि चडेर हामी नियन्त्रण गर्न सक्छौँ भन्ने यकिन गरौँ कि प्रेमले खुशी, द्देष, इर्श्या र सबैभन्दा सजिलै डरको ढोका खोल्दछ भनेर खोलौ कि जोयस मेयरले भने बमोजिम `प्रतिकुल परिस्थितिका बारेमा चीललाई कुनै भय हुदैन हामी पनि चील जस्तै हुनुपर्छ र विजेताको जस्तो निडर भाव हुनुपर्छ भनेर लागौँ ।`

बास्तवमा पर्याप्त मात्रामा भोजन, निन्द्रा र नियमित व्यायाम जस्ता स्वहेरचाहका उपाय तथा आरामदायी अभ्यासहरू अपनाउँदा पनि मानिसको तर्क गर्ने र समस्यासँग सामना गर्ने क्षमता र धैर्य बढ्ने गर्छ । जसले डरलाई घटाउँछ । त्यस्तै गहिरो श्वास प्रश्वास गर्ने, मुस्कुराइरहने, ध्यान केन्द्रित गर्ने अभ्यास र अन्य आरामदायी अभ्यासहरू डर भगाउन लाभदायी हुन सक्छन् ।

डर भगाउन डरलाई बुझ्ने, डराएको मानिसलाई ढासस दिने, मनको कुरा मिल्ने र गोप्य कायम राख्ने साथीलाई भन्ने, हरदम ब्यस्त रहने,  सामाजिक तथा मनोरञ्जनात्मक काममा सरिक हुने गर्नुपर्छ ।

यति गर्दा पनि डर हटेन भने तपाइँ हामीले डरको गाम्भिर्यतालाई हेर्दै मनोसामाजिक स्याहारकर्ता, मनोविमर्शकर्ता, मनोविज्ञ वा मनोचिकित्सक जस्ता विशेषज्ञहरूको सहयोग लिनु आवश्यक हुन सक्छ ।

डरबाट बच्न डरलाई प्रतिरोध नगरी स्विकार्दै तर्कसंगत विश्लेषण गर्दै उपयोग गर्नुपर्छ । परिवर्तनको कारक नै डरको कारण भएकाले स्वीकार गर्नुपर्छ- जे हुन्छ । गीता वचन,"जे भो राम्रै भो, जे हुन्छ राम्रै हुन्छ । जे हुनेछ राम्रै हुनेछ ।" लाई स्वीकार गरौँ र पटक पटक दोहोर्‍याऊ । भनिन्छ, डर भगाउन, जे कुरासँग अधिक डर छ, त्यही गर्नुपर्छ । आखिर मृत्यु त अवश्यम्भावी छ्दै छ । किन डराउने ? शारीरिक र मानसिक डरको प्रकृति र संरचनालाई गहिरो गरि संवेदनशीलता र बुद्धिले हेर्ने या अवलोकन गर्नुपर्छ । गम्भीर रुपले सोच्ने र तुलना गर्ने कुरालाई त्याग गर्नुपर्छ । बरु त्यो समय काम गर्नुपर्छ ।

चिन्ताले आजसम्म कुनै काम गर्न सकेको छैन् । चिन्ता र असफलताको त्याग गर्दा साच्चिकै डर समाप्त हुन्छ ।

शान्त रहनु र सुन्नु केवल सुन्नु पर्छ चाहे जे होस सम्झौता, सहमति वा असहमति कुरै छैन् । डर केही न केही चीजको सम्बन्धमा मात्र अस्तित्वमा हुने हुँदा सम्बन्धलाई बुझ्नु जरुरी हुन्छ । भूत, वर्तमान र भविष्यको परिवर्तित  समयसँग सम्बन्धित भएर आउने हुँदा त्यसलाई स्वीकार गर्नु र विवेकपूर्ण हिसावले समाधान निकाल्नुको विकल्प छैन् । ` म` केन्द्रको सम्बन्ध लाई ध्वस्त गरेर केन्द्रबिना नै डरलाई मनै देखि हेर्ने हो भने पक्कै पनि डर सिमलको भुवा जस्तै उडेर जान्छ र मन चङ्गा हुन्छ । 

तर के मानिसले म केन्द्र ध्वस्त गर्न सक्छ ?  म भन्छु-- "म को केन्द्र समाप्त नपारेसम्म डरले छोड्दैन ।" तपाईं चाहिँ के भन्नुहुन्छ ?  के भनिन्छ, भन्दा के गरिन्छ ले बढ्ता महत्त्व लिन्छ । पढिदिनु भएकोमा धन्यवाद ।। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै