• २०८१ बैशाख ८ शनिबार

काली पूर्वको भूभाग नेपालकै हो : सभापति देउवा

kharibot

कावासोती । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काली पूर्वको भूभाग नेपाली भूमि भएको बताएका छन् । नेपाल पे्रस युनियन नवलपुर शाखाले आयोजना गरेको सूर्यभक्त–पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहमा उनले काली पूर्वको कालापानीसहितको भूभाग नेपालको भएको बताए । 

महाकाली सन्धिमा समेत स्पष्ट रुपमा महाकाली नदी सीमा नदी र पानी आधाआधा भनी स्पष्ट किटान गरिएको बताउँदै उनले यसको पूर्वको भूभाग नेपालको भएको बताए । भारतले काली नदी र नेपालले महाकाली भन्ने गरिएको नदी नै सीमा नदी भएको हुँदा यस पूर्वको भाग नेपालको भएको उनले बताए । 

सभापति देउवाले अंग्रेजले छापेको नक्सामा काली नदी र तिब्बती नक्सामा कुटियाङ्दी नदी भन्ने गरेको नदीनै महाकाली नदी भएको बताउँदै यसैलाई सीमा नदी मानेको हुँदा यस पूर्वको भाग नेपालको भएको बताए । 

सभापति देउवाले भारतले नक्सा छापेर कालीपानी आफ्नो भनेकोमा यसको विरोध सरकारले कडा रुपमा गर्नुपर्ने बताए । उनले आफूहरु सबैले यस विषयमा अगाडि बढ्नुस् भनेर सरकारलाई भनेको भए पनि सरकारले अग्रसरता नदेखाएको आरोप लगाए । प्रेस स्वतन्त्रता नभएसम्म प्रजातन्त्र टिक्न नसक्ने बताउँदै उनले भने, “यसकारण पे्रस स्वतन्त्रता हुनुपर्छ ।” उनले प्रेसमाथि हुने हमला भनेको प्रजातन्त्र माथिको हमला भएकोसमेत बताए ।  

कार्यक्रममा सुर्यभक्त–पतनादेवी स्मृती राष्ट्रिय पुरस्कारबाट पत्रकार किशोर नेपाललाई सम्मानसमेत गरिएको थियो । प्रेस युनियन नवलपुरले १५ वर्षअघि स्थापना गरेको पुरस्कारले यस वर्ष नेपाललाई प्रदान गरिएको हो । सभापति देउवाले सो पुरस्कार हस्तान्तरण गरेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै