काठमाडौ । जारी १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गतको क्रिकेट खेलमा अहिले नेपाल बंगलादेशको यू-२३ टिमसँग ४४ रनले पराजित भएको छ ।
बंगलादेशले दिएको १५६ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउदै १११ रन बनाएपछि नेपाल ४४ रनले हार बेहोरेको छ ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४३ रन बनाएको थिए भने दिपेन्द्र सिंह ऐरीले १६ रन बनाएका थिए ।
त्यस्तै पारस खड्काले ९, पवन सराफ र आरिफ सेखले शुन्य, रोहित पौडेलले ८, बिनोद भण्डारीले ३, करण केसीले एक, सुशान भारीले २, अविनाश बोहोराले १३ र ललित राजबंशीले ५ रन बनाएका थिए ।
बंगलादेशको यु-२३ का बलर सुमोन खान, तनवीर इस्लाम, सौम्य सरकार र महेदी हसनले २-२ विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको बंगलादेशको यू-२३ टिमले नेपाललाई १५६ रनको लक्ष्य दिएको थियो ।
बंगलादेशले २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको हो । बंगलादेशका लागि नजमुल होस्सैन शान्तोले सर्वाधिक ७५ रन बनाए भने अफिफ होसैनले २८ बलमा ५२ रन बनाएका थिए । त्यस्तै यासिर अलीले १४ रन बनाएर आउट भए भने मोहमद नैम र सौम्य सरकारले ६-६ रन बनाएका थिए । त्यस्तै असिफ हसन शुन्यमा आउट भएका थिए ।
नेपाली बलर पुर्व कप्तान पारस खड्काले उत्कृष्ट बलिङको प्रदर्शन गर्दै ३ विकेट लिएका थिए । पारसले आफ्नो ४ ओभरको स्पेल पुरा गर्दै ३ महत्वपूर्ण विकेट लिएका थिए । पारसले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिएका हुन् ।
त्यस्तै नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए भने अविनाश बोहोराले एक विकेट लिएका छन् ।
पारसले बंगलादेशका मोहमद नैमलाई ६, सौम्य सरकारलाई ६ र सैफ हसनलाई शुन्य रनमा आउट गरेका थिए ।
यो हारसँगै नेपाल पुरुष क्रिकेटमा स्वर्ण पदकको दौडबाट बाहिरिएको छ । नेपालले चार खेलमा २ जित र २ हार बेहोरेको छ भने नेपालको ४ अंक रहेको छ । नेपालले यस अघि खेलेका ३ खेलमा २ खेलमा जित र एक हार बेहोरेको छ ।
नेपाल अब काश्य पदकका लागि माल्दिभ्स र भुटान मध्ये एक टिमसँग आगामी सोमबार खेल्ने छ भने स्वर्ण पदकका लागि बंगलादेश र श्रीलंका खेल्ने छन् ।