• २०८१ बैशाख ७ शुक्रबार

काठमाडौँ थलीमा स्थानीयद्वारा प्रहरी चौकी घेराउ र सडक अवरुद्ध

kharibot

काठमाडौं । काठमाडौँ थलीका स्थानीयले प्रहरी चौकी घेराउ गरेका छन् । कागेश्वरी मनोहरा नगरपालिका सिंखडा गाउँका कार चालक रत्नबहादुर श्रेष्ठ (खुडे माइलो) लाई पक्राउको माग गर्दै स्थानीयले आइतबार बिहान थली प्रहरी चौकी घेराउ र सडक अवरुद्ध गरेका हुन् ।

स्थानीयले प्रहरी चौकी अगाडी टायर र मुढा बालेर श्रेष्ठ पक्राउको माग गरेका थिए । शनिबार साँझतिर मातेर कार चलाउँदै आएका श्रेष्ठले पार्किङमा राखेका सवारीलाई ठक्‍कर दिँदै हिंडेको स्थानीयको आरोप रहेको छ । मानवीय क्षति नभएपनि मातेर कार चलाउने श्रेष्ठलाई पक्राउ गर्न प्रहरीलाई खबर गर्दा पनि पक्राउ नगरेको स्थानीयको आरोप छ ।

तीव्र गतिमा कार आएको देखेपछि पैदल यात्रुको भागभाग भएको उनीहरुले बताएका छन् ।

स्थानीयका अनुसार शनिबार राती करिब १० बजेतिर श्रेष्ठ पक्षका १० /१२ जनाको समूहमा आएका युवाहरुले घरभित्र पसेर राजु सिम्खडा र उनकी श्रीमतीलाई कुटपिट गरेका थिए । 

श्रेष्ठले चलाएको कारले सडक छेउमा पार्किङ गरिराखेका मोटरसाइकल, स्कुटर र माइक्रो बसलाई ठक्‍कर दिएको स्थानीयले जानकारी दिएका छन् । कारले थली चोकमा बिजुलीको पोलमा समेत ठक्‍कर दिँदै गएको थियो ।

माइक्रोमा क्षति पुगेपछि माइक्रोचालक र केही स्थानीय श्रेष्ठको घर पुगेपछि विवाद भएको थियो । विवादले चर्को रुप लिएपछि थली प्रहरी चौकीबाट गएको प्रहरी टोलीले विवाद साम्मे पारेको थियो । 

शनिबार राती करिब ९ बजेतिर घटनाबारे बुझ्न श्रेष्ठको खोजी गर्दा उनी घरनजिकैको भीरबाट लडेको अवस्थामा करिब २० फुट तल झाडीमा भेटिएको थली प्रहरीले जानकारी दिएको छ ।

घाइते अवस्थामा भेटिएका श्रेष्ठलाई स्थानीय र प्रहरीको सहयोगमा उद्दार गरी राती अस्पताल पठाइएको थियो । राती करिब १ बजेतिर अस्पतालबाट डिस्चार्ज भएका श्रेष्ठ भने फरार छन् । 

यस घटनापछि आइतबार बिहान थली चोकमै स्थानीयले टायर बालेर प्रदर्शन गरेपछि करिब २ घन्टा सवारी आवगमन प्रभावित भएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै