• २०८१ बैशाख ७ शुक्रबार

भ्रमण वर्षको भारतमा प्रवर्धन

kharibot

काठमाडौँ । नेपाल भ्रमण वर्ष सन् २०२० अभियानको भारतमा प्रवद्र्धन गरिएको छ । भ्रमण वर्ष सचिवालय र प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले ‘भ्रमण वर्ष २०२० तथा नाइस (नेपाल इण्डिया चाइना एक्स्पो)’ कार्यक्रमसम्बन्धी व्यवसायी तथा सरोकारवालाबीच प्रवद्र्धनात्मक कार्यक्रम गरेको हो ।

यही मङ्सिर १९ गते (डिसेम्बर ५ तारिख) मा नयाँ दिल्लीमा आयोजना गरिएको उक्त कार्यक्रममा भारतका करीब ६० प्रमुख ट्राभल व्यवसायी तथा सरोकारवालाबीच प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न गरेको पाटाले आज विज्ञप्तिमार्फत जनाएको छ । नेपाल भ्रमण वर्ष कार्यक्रमसँगै पाटाले आगामी सन् २०२० को फेब्रुअरी २२ देखि २६ सम्म आयोजना गर्ने त्रिदेशीय पर्यटन मेलाको तयारी तथा प्रवद्र्धनात्मक कार्यक्रममा अन्तरदेशीय सहकार्यलगायत विषयमा छलफल भएको जनाइएको छ ।

कार्यक्रममा पाटा नेपालका अध्यक्ष सुनिल शाक्यले भ्रमण वर्ष र नाइस कार्यक्रमलाई सफल पार्न सहकार्य तथा समन्वयका साथ प्रवद्र्धनात्मक कामलाई अघि बढाइनुपर्नेमा जोड दिनुभयो । उहाँले यही मङ्सिर ६ गते पाटा इण्डिया च्याप्टरद्वारा आयोजित ‘टुरिज्म पावरहाउस’ कार्यक्रममा समेत भ्रमण वर्ष २०२० तथा नाइससम्बन्धी करीब ४०० भारतीय पर्यटन सरोकारवालासमक्ष प्रस्तुति दिएका थिए ।

नेपाल भ्रमण वर्षका प्रबन्धक रोहिणी खनालले भ्रमण वर्ष लक्षित कार्यक्रमको उद्देश्य, महत्व र प्राथमिकताबारे प्रस्तुति दिँदै उपस्थित सबैमा भ्रमण वर्षमा सहभागी हुन तथा आआफ्नो कार्यक्षेत्र र नेटवर्कमार्फत भ्रमण वर्षको प्रवद्र्धनमा सहयोग गर्न आह्वान गरे । पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशसिंह बुडालले भ्रमण वर्षका सन्दर्भमा पाटा नेपालद्वारा आयोजना गरिने कार्यक्रम विषेश गरी नाइस कार्यक्रमको संरचना, तयारी र नेपाल भारत तथा चीन छिमेकी मुलुकको दिगो पर्यटन विकासका लागि यस कार्यक्रमले खेल्ने महत्वपूर्ण भूमिकाबारे प्रस्तुति दिएका थिए ।

कार्यक्रममा पाटा अन्तरराष्ट्रियका सिइओ डा मारियो हार्डीले पाटाले विश्वकै दिगो विकास प्रवद्र्धनका लागि सहकार्य तथा समन्वयमा जोड दिइरहेको परिवेशमा नेपालद्वारा आयोजना गरिने नाइस कार्यक्रम अत्यन्त सराहनीय भएको बताए । पाटा इण्डियाका कार्यकारी निर्देशक रुनिप साँघाले पाटा इण्डिया च्याप्टरले रणनीतिक साझेदारका रुपमा नाइस कार्यक्रमका लागि सक्दो सहकार्य तथा सहयोग गर्ने बताए । 

भारतमा साहसिक पर्यटनमा चिर परिचित व्यक्तित्व तथा नाइस एम्बेसडर अजित बजाजले नाइस कार्यक्रमले हिमालय पर्यटन क्षेत्रका प्रमुख संरक्षक राष्ट्र (नेपाल, भारत र चीन)लाई पर्यटन क्षेत्रमा एकबद्ध गरी यो क्षेत्रकै दिगो पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै