काठमाडौं । जारी १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत क्रिकेटको काश्य पदकको लागि अहिले नेपाल र माल्दिभ्सबीच खेल भइरहेको छ । माल्दिभ्सले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको माल्दिभ्सले २० ओभरमा ९ विकेट गुमाउदै ९४ रन बनाएको हो ।
माल्दिभ्सका लागि मोहमद रिशवानले १७ रन बनाए भने मोहमद महाफूजले १६ रन बनाए भने उमर एडमले ११ रन बनाए । त्यस्तै अहमद हसनले ६, अजयान फरहतले २, इब्राहिम रिजवाले ३, अमील मोउरुफले १३ र लीम शाफिकले १९ रन बनाएका थिए ।
नेपालका लागि ललित राजबंशीले सर्वाधिक ३ विकेट लिएका थिए । ललितले ४ ओभरमा केवल ६ रन दिएर ३ विकेट लिएका थिए ।
त्यस्तै सुशान भारीले २ विकेट लिए भने पारस खड्काले एक विकेट लिएका थिए । माल्दिभ्सका तीन खेलाडी रनआउट भएका थिए ।
जारी सागमा यो खेल जितेमा नेपालले काश्य पदक जित्ने छ । त्यस्तै स्वर्ण पदकका लागि आजै बंगलादेश र श्रीलंकाबीच फाइनल खेल हुदै छ ।